जीवनशैली

पुलित्जर पुरस्कार जित्ने नाटक ‘नाइट मदर’ : डिप्रेसनबाट गुज्रिएकी छोरीले जब आमालाई आफू मर्दै गरेको घोषणा गर्छिन्...

अनिल यादव

डेढ महिनाअघि पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको सेल्फी भिडियो मानसपटलमा ताजै छ। गँहभरि आँसु पार्दै आफैंलाई मार्नुअघि पुडासैनीका अन्तिम अभिव्यक्ति अझै सम्झनामा छन्।

जीवनको अन्तिम घडीमा श्रीमतीलाई सम्झँदै उनले ‘तिम्रो जीन्दगी राम्रो होस्, मलाई माफ गर’ भनेको दृश्य सम्झँदा अहिले पनि भावुक बनाउँछ।

०००

‘म थाक्दिनँ, म हार्दिनँ’ शीर्षकमा केही दिनअघि पत्रकार शिक्षा रिसालले अन्नपूर्ण पोष्ट दैनिकको साप्ताहिक परिशिष्टांक ‘फुर्सद’मा लेखेको डिप्रेसनबाट गुज्रँदाको अनुभूति पनि यही चरणमा जोडिएर आउँछ।

म खुसी र दुःखीभन्दा अलि पर कतै छु भन्दै उनले लेखेकी थिइन्, ‘कहिलेकाहीँ उठ्नासाथ ममा ‘म अझै किन बाँचिरहेकी छु?’ भन्ने भावना आउँछ। किन बिहान भएको होला? सूर्य किन उदाएको होला? यो सूर्य किन सँधैंका लागि अस्ताउँदैन होला? यस्तै ‘डिनायल’पछि मेरो दिन सुरु हुन्छ।’

०००

केही दिनअघिमात्रै रिपोर्टिङका क्रममा भेट भएको थियो दुई कलाकार केदार घिमिरे र स्वेता खड्कासँग। दुवै अहिले आफ्नो जीन्दगी खुसीसाथ जिइरहेका छन्। यद्यपि यस्तो पनि समय थियो, जतिबेला दुवै चरम डिप्रेसनको शिकार बनेका थिए। चर्चाको चुलीमा पुगेकैबखत केदार डिप्रेसनका कारण करिब डेढ वर्ष कलाकारिताबाट टाढिए। केदारकै शब्दमा त्यतिबेला उनलाई मान्छे देख्ने बित्तिकै झर्को लाग्थ्यो, कसैसँग बोल्न मन लाग्थेन, रिसमात्रै उठ्थ्यो। गाडी देख्दा डरले हान्ला कि जस्तो हुन्थ्यो। कहिले भूइँचालो आएजस्तो लाग्थ्यो, कहिले अब बाँच्दिन होला भन्ने।

भेटका क्रममा उनले भावुक हुँदै सुनाएका थिए, ‘म डिप्रेसनबाट गुज्रिँदा सबैभन्दा बढी दुःख मेरी श्रीमतीले पाइन्। म बाइकमा पछाडि बसेको हुन्थें, उनी अगाडि कुदाइरहेकी हुन्थिन्। मेरो हर्कतले बीचमै बाइक रोक्थिन्। चस्मा खोल्थिन्, अनि आँखाबाट झरिरहेको आँसु पुछ्थिन्। यो दृश्य मलाई अहिले पनि झल्झली याद आउँछ।’

अभिनेत्री स्वेता खड्का पनि केही वर्षअघि अभिनेता श्रीमान् श्रीकृष्ण श्रेष्ठको निधनपछि निराशाको चरम विन्दूमा पुगेकी थिइन्। उनमा जीवन जीउनुको अर्थ हराइसकेको थियो। डिप्रेसनबाट बाहिर ल्याउन उनलाई नेपालमा नभएपछि अष्ट्रेलिया पुर्‍याइएको थियो। तर, त्यहाँको उपचारले पनि काम नगरेपछि फेरि अमेरिका पुर्‍याइयो। त्यहाँ चार महिनाको संघर्ष र उपचारपछि उनी यो अवस्थाबाट बाहिर आएकी थिइनँ।

‘त्यतिबेला त बाँच्ने आशा मरिसकेको थियो। त्यसैले त आज बाँचिरहेको जीवन मलाई नयाँ जीवनजस्तै लाग्छ,’ हालसालकै भेटमा स्वेताले भनेकी थिइन्।

००० 

माथि उल्लेखित पात्र र घटनाहरुसँग ठोक्किएको स्मृति ताजा अवस्थामा रहेकै बेला अघिल्लो साता काठमाडौंस्थित टेकुमा रहेको कौशी थिएटर पुगियो, नाटक ‘नाइट मदर’ हेर्न।

सन् १९८१ मा अमेरिकी लेखक मार्सा नरम्यानको लेखेको यो चर्चित नाटक आजको समयमा पनि उत्तिकै सान्दर्भिक लाग्छ। कारण, यसले संसारमा दिनहुँ बढिरहेको आत्महत्या र डिप्रेसनको समस्यामाथि बहस सिर्जना गर्छ।

त्यतिबेला उत्कृष्ट नाटक विधामा पुलित्जर पुरस्कार समेत प्राप्त गरेको यो नाटक हेर्दैगर्दा मनमनै एक खालको सन्नाटाका बीचमा प्रश्न उठ्छ, ‘अरे यार, मान्छे आफैंलाई मार्ने निर्णयमा किन पुग्छ?’

सतहीमा पक्कै यसको सहज जवाफ छ, ‘जब मान्छेलाई कसैले भनेको ‘लाइभ इज ब्युटिफुल’ भनाइ झुटजस्तो लाग्छ। अथवा, जब उसलाई जीवन साँच्चै सुन्दर लाग्न छाड्छ।’

गहिरिएर हेर्दा उसलाई आफ्नो जीवन ‘सुन्दर’ नलाग्नुमा सबैभन्दा ठूलो भूमिका उसँग नजिक रहेका आफन्त, समाज, परिस्थितिहरु नै हुन्छन्। नाटक ‘नाइट मदर’ हेरेपछि निस्कने निष्कर्ष पनि यस्तै हो।

नाटकमा आमा-छोरीको एक रातको दृश्य छ। छोरी दीपाको भूमिकामा छिन्- आंकाक्षा कार्की। आमाको भूमिका निभएकी छिन् लुनिभा तुलाधारले।

नाटक किचन र बैठक कक्षको दृश्यबाट सुरु हुन्छ। जहाँ दीपा आमाको नजिकमा आइपुग्छिन् र सोध्छिन्, ‘ड्याडीको बन्दुक कहाँ छ?’

जसै बन्दुक आफ्नो हातमा पर्छ, दीपाले शान्त भावमा आमासँग घोषणा गर्छिन्, ‘भोलि बिहान उठ्दा म मरिरहेकी हुन्छु। कारण, म आज आफैंलाई मार्दैछु अर्थात म आत्महत्या गर्दैछु।’

सुरुमा दीपाको कुरा आमाले गम्भिरताका साथ लिँदिनन्। तर, जब-जब दीपाले किचन र कोठा सफा गर्न थाल्छिन् र घरमा राखिएका सामानबारे क्रमशः आमालाई जानकारी दिँदै जान्छिन्। त्यसपछि एकाएक उनको मुहारको रङ बद्लिन्छ, एकाएक उज्यालोबाट अँध्यारो छाउँछ। लाग्छ, दीपाको कुरा सुनेर अब चाहिँ उनी आत्तिइन्, हतासिइन्।

नाटकअनुसार दीपाको बुबा बितिसकेका छन्। कहिल्यै प्रेमको स्वाद चाख्न नपाई उनको वैवाहिक जीवन पनि ‘डिभोर्स’मा परिणत भइसकेको छ। भएको एउटा छोरा पनि चोरीचाकाडीमा लागेर बिग्रिएको छ। 

आत्महत्याको घोषणापछि दीपा बिस्तारै आफू यो निर्णयमा पुग्नु पछाडिका कारणहरु आमालाई खुलाउँदै जान्छिन्। आफ्ना पछिल्ला दुई जागिर असफल भएको परिस्थिति पनि सुनाउँछिन्। 

समग्रमा असफलता, एक्लोपन र निरर्थकताबाट आजित छिन् उनी। आफ्नो जीवन नै उपलब्धीहीन लागिरहेछ उनलाई। दीपा जति-जति आफ्ना गुनासोको पोको फुकाउँदै जान्छिन्, आमाको मुटु उति-उति धड्किँदै जान्छ।

सानैदेखि दीपालाई छारे रोग लागेको हुन्छ। तर, यो कुरा लुकाएर आमाले उनको बिहे गरिदिएकी हुन्छिन्। यही कुराले पनि उनको वैवाहिक जीवनमा असर गरेको हुन्छ। त्यसैले आमाप्रति उनका गुनासाहरु छन्।

यता छोरीको गुनासोले आमालाई पिरोल्छ। त्यसैले उनको मर्ने निर्णयमा बदलाव ल्याउन उनी अनेक प्रसंगहरु निकाल्न थाल्छिन्। छोरीलाई मनपर्ने खानेकुरा पकाएर खुवाउन खोज्छिन्। छोरीलाई फकाउन खोजेका दृश्यले उनको प्रयत्नले दर्शकको मन छुन्छ। संवाद र उनको अभिनयको भावभंगीमाले लाग्छ, उनी छोरीलाई एकदिनमा संसारका सारा खुसी दिन खोजिरहेकी छिन् ताकी छोरी मर्ने निर्णयबाट पछि हटुन्।

तर, छोरी अब बाँच्नुमा भन्दा बढी खुसी मर्नुमा देखिरहेकी छिन्। नाटक हेर्दैगर्दा थाहा हुन्छ, लामो समयदेखि उनी गम्भीर डिप्रेसनबाट ग्रस्त थिइन् तर उनको यो अवस्थालाई कहिल्यै कसैले बुझ्न चाहेन, न उपचार गर्नुपर्छ भन्ने नै ठान्यो।

स-साना खुसीमा रमाइरहेकी उनकी आमाले पनि कहिल्यै सम्बन्धको घनिष्ठतामा ख्याल राखिनन्। आफूसँग जे छ त्यसमै रमाइरहिन्। न त छोरीको अवस्थाबारे नै कहिल्यै गहिरिएर बुझ्न खोजिन्।

यी र यस्तै अवस्थामा दीपालाई आत्महत्याको निर्णयसम्म पुर्‍यायो। र, एक रात आफ्नै आमालाई साक्षी राख्दै उनी कोठातिर पस्छिन्। ढोका बन्द गर्छिन्। अनि, आफूभित्र गढेको गहिरो दुःख र बेखुसीको अन्त्य गर्छिन्।

०००

छोरीको त्यो अन्त्यको साक्षी बस्नुपर्दा आमालाई कस्तो भयो होला? १ घन्टा २० मिनेटको यो नाटक दर्शकलाई अन्त्यसम्म आमा-छोरीको एक रातको कथामा बाँधिरहन्छ।

पात्रले ‘दरबारमार्ग’ शब्द उच्चारण गरेपछि थाहा हुन्छ, यो नाटक काठमाडौंको सेटिङमा बुनिएको हो। पात्रहरुले अंग्रेजीमा संवाद गर्छन्। तर, अहिलेको नेपाली समाजसँग निकै सान्दर्भिक लाग्ने भएकाले नेपालीमा गरेको भए अझै गज्जब हुन्थ्यो।

नाटकमा आंकाक्षा कार्की र लुनिभा तुलाधारको अभिनय जीवन्त छ। आत्महत्याको निर्णयमा पुग्दाको मनोदशा आकांक्षाले अभिनय गरेको पात्रमा जीवन्त पाइन्छ। त्यस्तै आमाको भूमिकामा लुनिभाको अभिनय देख्दा दर्शकमा दया पलाउँछ। छोरीले मर्छुभन्दा पनि आफूले निरीह हुनुपर्दा दर्शकमा जाग्ने औडाहा र छटपटि सायदै वर्णनात्मक होला।

नाटकको अन्तिम आधा घन्टाले दर्शकलाई भावुक बनाउँछ। हामीकहाँ पछिल्लो समय बढीरहेको डिप्रेसन र आत्महत्याका पछाडि दीपाजस्तै पात्रको परिस्थिति कारणजस्तो लाग्छ।

आत्महत्या गर्नुअघि दीपाले आमाप्रति देखाउने प्रेम, हेरचाह, चिन्ताले दर्शकको संवेदनालाई छुन्छ। मर्नुअघि दीपाले आमालगायत अरु आफन्तका लागि साँचेर राखेको उपहार दिँदाको दृश्यले दर्शकको मन बेस्सरी हुँडल्छ।

युवा रंगकर्मी सुदाम सिकेले निर्देशन गरेको यो नाटकले ‘आत्महत्या’ व्यक्तिगत निर्णयमात्रै होइन, यो सामाजिक परिस्थितिले सिर्जना गरेको अवस्था पनि हो भनेर देखाउन खोजेका छन्। एउटा व्यक्तिप्रति समाजले कसरी गलत दृष्टिकोण र धारणा बनाउँछ? अनि, समाजबाट आजित भएर कसरी ऊ अलग छ/हुन्छ? निर्देशकले नाटकमा दीपा पात्रमार्फत यही कथानक देखाउन खोजेका छन्।

नाटकको एक दृश्यमा दीपालाई खुसी बनाउन आमाले एउटा चर्चित नेपाली गीत गुन्गुनाउँछिन्, जुन बिम्बात्मक लाग्छ:

‘टाढा टाढा जानु छ साथी
एकफेर हाँसिदेऊ...
छुटिसकेको मायालाई साथी
एकफेर गाँसिदेऊ’

नाटक हेरेर कौशी थिएटरबाट बाहिरिँदै गर्दा एउटै प्रश्नले मन चिमोटिरह्यो- ‘यदि दीपाकी आमाले यो गीत उनको जीन्दगीमा निराशा छाउनुअघि नै गुनगुनाएको भए...?

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने