काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीको वीर अस्पतालमा सरुवा भएको छ। मन्त्रालयमा प्रवक्ताको जिम्मेवारीसँगै स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रको समेत कमान्ड सम्हालिरहेका डा. बुढाथोकीलाई वीर अस्पतालमा कामकाज गर्ने गरी पठाइएको हो।
वरिष्ठ कन्सल्टेन्ट डेन्टल सर्जन रहेका डा. बुढाथोकीले केही समयअघि मात्रै आफ्नो स्वास्थ्य अवस्थाका कारण प्रवक्ताको जिम्मेवारीबाट अलग हुन चाहेको जानकारी मन्त्रालयलाई गराएका थिए। उनको मुटुमा केही समस्या देखिएपछि कार्यबोझ कम गर्न मन्त्रालयले उनलाई अस्पतालमा फिर्ता पठाउने निर्णय गरेको हो।
डा बुढाथोकीले वीर अस्पतालमा काम गर्ने गरी खटाइएको जानकारी दिँदै भने, 'वीर अस्पतालमा काम गर्ने गरी पत्र पाएको छु। अब सोही अनुसार वीरमा गएर सेवा दिने छु।'