काठमाडौं- देशको जेठो अस्पताल वीर अस्पताल (चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान) ले अस्पतालको सेवा प्रवाह र कर्मचारी अनुशासनलाई चुस्त बनाउन १४ बुँदे कडा निर्णयहरू सार्वजनिक गरेको छ। अस्पताल व्यवस्थापन समितिको चैत १६ गते बसेको बैठकले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको हाजिरी, पोसाक, बिरामीसँगको व्यवहार र औषधि उपलब्धताका विषयमा नयाँ नियमहरू लागू गर्ने निर्णय गरेको अस्पताल निर्देशक डा दिलिप शर्माले जानकारी दिए।
अस्पतालले सार्वजनिक गरेको निर्णयअनुसार अब चिकित्सक तथा कर्मचारीहरू तोकिएको समयमा अनिवार्य उपस्थित हुनुपर्नेछ। बिहान ९:०० देखि बेलुका ५:०० बजेसम्मको कार्यालय समयमा ढिलो आएमा वा विना सूचना अनुपस्थित भएमा मन्त्रालयसम्म रिपोर्ट गरिने र नियमअनुसार कारबाही गरिनेछ। विशेषगरी बिहान ९:३० बजेपछि आउने र साढे ४ बजेभन्दा अगाडि निस्कने कर्मचारीलाई 'गयल' मानिने र आधा दिनको बिदा काटिने कडा व्यवस्था गरिएको छ।
अस्पतालले सेवाग्राहीसँगको व्यवहारमा पनि परिवर्तन ल्याउन 'मुस्कानसहितको सेवा' अनिवार्य गरेको छ। रुखो व्यवहार गर्ने र कार्यशैली नसुधार्ने कर्मचारीलाई कारबाहीको चेतावनी दिइएको छ। यस्तै, चिकित्सकहरूले बिरामीको पुर्जा, डिस्चार्ज समरी र रिपोर्टहरूमा आफ्नो नाम, एनएमसी नम्बर र हस्ताक्षर प्रष्ट बुझिने गरी लेख्नुपर्ने नियम बनाइएको छ। अस्पतालभित्र एप्रोन र परिचयपत्र पनि अनिवार्य गरिएको छ।
अस्पतालको आन्तरिक व्यवस्थापनलाई निगरानी गर्न प्रमुख नर्सिङ प्रशासक संगिता श्रेष्ठको संयोजकत्वमा 'सरसफाइ अडिट' र सहायक निर्देशक डा. मीन चन्द्र अधिकारीको संयोजकत्वमा 'हाजिरी अडिट' समिति समेत गठन गरिएको छ।
अस्पतालका कर्मचारीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सतर्कता केन्द्रको समेत निरन्तर निगरानीमा रहने र कार्यक्षेत्रमा नभेटिएमा स्वयं जिम्मेवार हुनुपर्ने निर्णयमा उल्लेख छ।
अस्पताल व्यवस्थापन समितिका १४ बुँदे मुख्य निर्णयहरू:
१. शासकीय सुधार: मन्त्रिपरिषद्को 'शासकीय सुधारको मार्गचित्र' अनुसार स्वास्थ्य क्षेत्रको सुधारका लागि आवश्यक निर्देशनहरू कार्यान्वयन गर्ने।
२. अनिवार्य उपस्थिति: चिकित्सक र कर्मचारीहरू समयमै उपस्थित हुनुपर्ने र गयल भएमा नियमानुसार कारबाहीको सिफारिस गरिने।
३. प्रष्ट कागजात: बिरामीको पुर्जा, रिपोर्ट र डिस्चार्ज समरीमा नाम, एनएमसी नम्बर र हस्ताक्षर प्रष्ट हुनुपर्ने।
४. पोसाक र परिचयपत्र: स्वास्थ्यकर्मी, नर्स र डाक्टरले एप्रोन र परिचयपत्र अनिवार्य लगाउनुपर्ने।
५. सरसफाइ अडिट: अस्पतालको सरसफाइ निगरानीका लागि संगिता श्रेष्ठको संयोजकत्वमा समिति गठन।
६. हाजिरी अडिट: कर्मचारीको उपस्थितिको नियमित अडिट गर्न डा. मीन चन्द्र अधिकारीको संयोजकत्वमा समिति गठन।
७. सार्वजनिक बिदा: वि.सं. २०८३ को सार्वजनिक बिदाको सूची गृह मन्त्रालयको निर्णयअनुसार कार्यकारी परिषद्मा पेश गर्ने।
८. कार्यालय समय: २०८३ वैशाख १ देखि बिहान ९ देखि ५ बजेसम्म (जाडोमा ९ देखि ४ बजेसम्म) को समय निर्धारण।
९. प्रोत्साहन भत्ता: ओटी, क्याथ ल्याब र इभिनिङ राउन्डमा खटिनेलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता (Incentive) दिने।
१०. फार्मेसी सुधार: फार्मेसीमा औषधिको मौज्दात र उपलब्धताको जानकारी सेवाग्राहीलाई छिटोछरितो दिने।
११. ढिलाइमा कडाइ: बिहान ९:३० बजेपछि आउनेलाई गयल मानिने र आधा दिन बिदा काटिने, ढिलो भएमा निर्देशकको ह्वाट्सएप ग्रुपमा जानकारी दिनुपर्ने।
१२. ड्युटी रोस्टर: सबै कर्मचारीको ड्युटी रोस्टर भाइबर ग्रुपमा अपडेट हुनुपर्ने र खटाएको ठाउँमा नभेटिए मन्त्रालयमा रिपोर्ट गरिने।
१३. निरन्तर निगरानी: कर्मचारीहरू उच्च निकाय र सतर्कता केन्द्रको निगरानीमा रहने, कार्यक्षेत्र छोडेर अन्यत्र भेटिए आफैँ सजायको भागीदार हुनुपर्ने।
१४. शिष्ट व्यवहार: सेवाग्राहीसँग शिष्ट, सभ्य र मुस्कानसहितको व्यवहार गर्नुपर्ने। रुखो व्यवहार र लापरवाह कार्यशैली पूर्ण रूपमा बन्द गर्नुपर्ने।
निर्णयको पूर्णपाठ
१. नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत्र १२ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारको मार्गचित्र सम्बन्धी कार्यसूचीहरूमा स्वास्थ्य क्षेत्रको सुधारका लागि गर्नुपर्ने कार्य सम्बन्धी निर्णयको व्यवस्थापन समितिमा जानकारी गराई सो सम्बन्धी विभिन्न विषयमा छलफल गरी कार्यान्वयनको लागि आवश्यक निर्देशन प्रदान गरियो।
२. चिकित्सक, स्वास्थ्यकर्मी, नर्सिङ्ग लगायत प्रशासनिक र अन्य कर्मचारीहरू कार्यालय समयमा अनिवार्य रूपमा समयमै उपस्थित भई आफ्नो जिम्मेवारी बहन गर्ने। कुनै कारणवश कार्यालय समयमा पुग्न नसक्ने अवस्थामा इन्चार्ज मार्फत अस्पताल प्रशासनलाई जानकारी गराउने। विभिन्न HOD हरू सहितको Whatsapp Group मार्फत हाजिरी (Attendance) को सूचना आवश्यकतानुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सम्बन्धित अन्य निकायलाई जानकारी गराउने। सम्पूर्ण कर्मचारीहरूलाई राज्यका विभिन्न निकायबाट नियमन हुने र बिना जानकारी कार्यालय समयको गयललाई नियमानुसार कारबाहीको सिफारिस हुने।
३. कुनै पनि चिकित्सकले बिरामीको पुर्जा, Discharge Summary, Reports मा नाम, NMC No., Specimen Signature प्रष्ट बुझिने गरी लेख्नुपर्नेछ, अन्यथा कानून बमोजिम कारबाही हुने। बिमा बोर्डको निर्देशन अनुसार Discharge Summary मा अत्यावश्यक Information प्रष्टसँग लेख्नुपर्नेछ।
४. पोशाक, कार्ड सम्बन्धमा स्वास्थ्यकर्मी, नर्स, डाक्टरले Apron वा परिचय पत्र कार्ड अनिवार्य रूपमा लगाउनु पर्ने।
५. Cleanliness Audit को लागि प्रमुख नर्सिङ्ग अस्पताल नर्सिङ्ग प्रशासक संगिता श्रेष्ठको संयोजकत्वमा समिति गठन गर्ने।
६. Attendance Audit का लागि सहायक निर्देशक डा. मीन चन्द्र अधिकारीको संयोजकत्वमा समिति गठन गर्ने।
७. वि.सं. २०८३ का लागि सार्वजनिक बिदाका सन्दर्भमा नेपाल सरकारको निर्णयानुसार गृह मन्त्रालयले राजपत्रमा प्रकाशित सूची अनुसार दिने निर्णयका लागि कार्यकारी परिषद्मा पेश गर्ने।
८. कार्यालय समय २०८३ वैशाख १ गते देखि बिहान ९:०० बजे देखि अपरान्ह ५:०० बजेसम्म र कार्तिक १५ गते देखि माघ १५ गतेसम्म बिहान ९:०० बजेदेखि अपरान्ह ४:०० बजेसम्म निर्धारण गर्ने निर्णयका लागि कार्यकारी परिषद्मा पेश गर्ने।
९. OT/CATH LAB/Evening Round मा On Call चिकित्सकलाई/स्वास्थ्यकर्मीलाई Incharge/HOD को सिफारिसमा Performance based Incentive दिन विगतको प्रतिवेदन अनुसार गर्नेगरी कार्यकारी निर्णयका लागि परिषद्मा पेश गर्ने।
१०. फार्मेसीमा औषधिको उपलब्धतालाई चुस्त बनाउने र सेवाग्राहीलाई छिटोछरितो सेवा प्रवाह गर्ने। फार्मेसीमा उपलब्ध औषधिको Stock को बारेमा सेवाग्राहीलाई जानकारी दिन प्राविधिक रूपमा समन्वय गर्ने।
११. बिहान ९:००-५:००/ यदि कार्यालयमा समयमा पुग्न ढिलो हुने भए with logical explanation Director Whatsapp Group मा Inform गर्नुपर्ने। ९:३० बजे पछि र ४:३० बजे अगाडीलाई गयल मानिने र र क्या.बि. आधा दिन लिनुपर्ने।
१२. सम्पूर्ण कार्यरत चिकित्सक/नर्स, प्यारामेडिकल र अन्य कर्मचारीको विभागीय प्रमुख/ Incharge ले Duty Roster लाई HOD/INCHARGE Viber Group/ नर्सिङ्गको हकमा Nursing Incharge Viber Group मा जानकारी गराउनु पर्ने। आफूलाई खटाइएको ठाउँमा नभेटिएको खण्डमा कर्मचारीको HOD/Incharge लाई जानकारी गराउनुपर्ने। यदि सम्बन्धित चिकित्सक कार्यकक्षमा नभेटिएमा सम्बन्धित HOD लाई सचेत गराइनेछ र सो कर्मचारीको Attendance को अवस्था माथिल्लो निकाय मन्त्रालयमा समेत जानकारी गराइने।
१३. हरेक चिकित्सक/स्वास्थ्यकर्मी/नर्सिङ्ग स्टाफहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सतर्कता केन्द्र लगायत उच्च निकायको निरन्तर निगरानीमा रहनेछन् र कार्यालय समयमा कार्यालयमा खटाइएको ठाउँमा नभेटिए र अन्यत्र भेटिएमा यसको सजाय स्वयंले नै भोग्नुपर्नेछ।
१४. व्यवहार: प्रत्येक कर्मचारी सेवा प्रवाह गर्ने क्रममा सेवाग्राहीसँग शिष्ट, सभ्य, मर्यादित, सालिन र मुस्कानका साथ प्रस्तुत हुनुपर्ने। रुखो व्यवहार र कार्यशैली बन्द गर्ने।