काठमाडौं - राष्ट्रिय चिकित्सा शिक्षा आयोगले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्साशास्त्र तर्फको स्नातकोत्तर तह (पिजी) अध्यापनका लागि सिट उपलब्ध गराउने निर्णय गरेको छ। आयोगले नेपाल मेडिकल काउन्सिलको सिफारिस अनुसार पोखरालाई १७ सिट दिने निर्णय गरेको हो।
पिजीकै लागि सिफारिसमा परेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई भने आयोले सिट उपलब्ध गराएको छैन। आयोगले कर्णालीका विषयमा ‘थप अध्ययन गर्नु पर्ने’ भन्दै तत्कालका लागि सिट दिने निर्णय रोकेको हो।
आयोगका प्रवक्ता डा हरि लम्सालका अनुसार कर्णालीका विषयमा अर्को विज्ञ टोली पठाइ थप अध्ययन हुने र विज्ञले दिएको सुझावका आधारमा मात्र निर्णय हुनेछ। पोखराका हकमा भने काउन्सिलले गरेको सिफारसिका आधारमा १७ वटा सिट दिने निर्णय भएको छ।
यसअघि ५ असारमा नेपाल मेडिकल काउन्सिलको पूर्ण बैठकले पोखरालाई इन्टरनल मेडिसिनमा २, सर्जरीमा ४, प्रसूति तथा स्त्री रोगमा ४, पेडियाट्रीक्समा २, एनेस्थेसियामा २, अर्थोपेडिक्समा ३ सिट गरी १७ सिट दिन सिफारिस गरेको थियो। कर्णालीका लागि भने एमडिजिपीका लागि ३ सिट दिन सिफारिस गरेको थियो।