नयाँ दिल्ली- एक दिनको कुरा हो, रातिको लगभग डेढ बजिसकेको थियो। तर, धेरै सम्झाइ-बुझाइ गरी सुत्न अनुरोध गर्दा पनि मेरी आमा सुत्न मानिरहनु भएको थिएन।
भित्तामा आड लागेर चुपचाप बसिरहनुभएको थियो। उहाँको आँखामा रिस, शंका र चिढचिढाहट प्रष्ट देखिन्थ्यो।
धेरै कोसिस गर्दा पनि सुत्न तयार नभएपछि मेरो धैर्यताको सीमा टुट्यो। अनि आमा बसेको कोठाबाट निस्केर म अर्को कोठामा गए। घन्टौंसम्म त्यहीँ बसेर रोइरहेँ।
निकै समयपछि अब त आमा थाकेर निदाइसक्नुभयो होला भनेर हेर्न गएँ। जब म त्यहाँ पुगेँ, आमा त पहिलेकै अवस्थामै बसिरहनुभएको थियो।
उहाँले रिसाएर मतिर आँखा तर्दै भन्नुभयो- ‘तिमी अर्को कोठामा गएर मेरो विरुद्ध कालो जादु गरिरहेकी थियौ, होइन?’
मलाई याद छ, आमा २०१७ डिसेम्बर महिनामा डिप्रेसनसँग लडिरहेको पत्ता लागेको थियो। म अविवाहित र मसँगै बस्ने भएकाले उहाँको रेखदेख गर्नु मेरो जिम्मेवारी थियो।
आफ्ना वरपरको हरेक घटना, कुरा तथा व्यक्तिप्रति शकां गर्न थाल्नुभएको थियो। यसको सुरुवात यसरी भयो कि उहाँको हरेक क्रियाकलापले मलाई चिढचिढ हुन थालेको थियो।
मेरी आमा बाल्यकालमा यौन उत्पीडनको शिकार हुनुभएको थियो। यही कारणले कसैप्रति विश्वास गर्न उहाँलाई सधै मुश्किल हुन्थ्यो। आमाले यो कुरा मलाई त्यतिबेला भन्नुभयो, जतिबेला उहाँ ७४ वर्षकी हुनुभयो।
बिरामी भएपछि उहाँमा अरुप्रतिको अविश्वास गर्ने बानी बढ्दै गएको थियो। यसले घरमा हरेक समय तनाव भइरहन थाल्यो।
घरमा काम गर्न आउने कामवालीसँग पनि उहाँलाई समस्या हुन्थ्यो। डराउन थाल्नुभयो। वर्षौंदेखि काम गर्दै आएकी कामवालीलाई विश्वास गर्न छाड्नुभयो।
यो सबै क्रियाकलापले हैरान बनायो। अचानक आमालाई के भयो भनेर चिन्तित बनायो। बिरामी भएको पत्ता लाग्नु र दिनानुदिन आमाको स्वास्थ्य बिग्रँदै जानु मेरो लागि कष्टकर थियो।
१४ वर्ष पहिले बुवाको मृत्यु भएको थियो। त्यसपछि उहाँको हेरचाह म एक्लैले गर्दै आएकी छु। तर, शारीरिक रुपमा बिरामी र मानसिक समस्यासँग लडिरहेको मानिसको हेरचाह गर्नुमा निकै फरक हुन्छ।
दिपान्जनाका बुवा र आमा।
मानसिक बिरामीको हेरचाह गर्दा निकै भावनात्मक कुरा हुन्छन्। कुनै समय निकै डराउने र निराश बनाउने पल पनि आउँछन्। जुन अवस्था निकै जटिल हुन्छ।
एकपटकको कुरा हो म निकै थाकेकी थिएँ। कम्मर दुखिरहेको थियो, छिट्टै निदाएछु। राति करिब ढाई बजेको थियो। आमा आएर मलाई उठाउँदै भन्नुभयो- ‘छोरी हेर त झ्यालमा कोही बसेको छ।’
म सुतिरहेकी थिएँ। त्यतिबेला मैले अरु केही सोच्नै भ्याइनँ। आमाको कुरा सुनेर मलाई निकै डर लाग्यो।
यस्तो स्थितिमा तपाईं आफूलाई निकै विवश भएको महसुस गर्नुहुन्छ। तपाईंलाई रिस पनि उठ्छ। तपाईंलाई लाग्छ कि, तपाईं हारिरहनु भएको छ। सबै कुराको दोषी तपाईं आफूलाई मान्न थाल्नुहुन्छ।
डर, विवशता र दुःख
मानसिक बिरामीको हेरचाहका समय कतिपटक समर्पण, मायाप्रेम, सहानुभूति, भरोसा र खुसीजस्ता भावना व्यक्त गर्नुपर्छ।
मलाई यो कुरा बुझ्न र स्वीकार गर्न एक वर्षभन्दा बढी समय लाग्यो। एक वर्षपछि मैले बुझेँ कि, मेरी आमा पहिलेको स्थितिमा फर्किनुहुन्न। मैले यो कुरा बुझेपछि मभित्रको हिंस्रक भाव हटेर गयो।
त्यसअघि म आमासँग रिसाएर बस्थेँ। म सोच्थेँ कि, आखिर कसरी मेरी आमा आफूलाई यस्तो स्थितिमा पुर्याउन सक्नुहुन्छ?’ किनभने म र मेरी आमाको मिजास निकै फरक थियो।
हाम्रा कुरा निकै फरक थिए। अनि मैले मन बुझाए कि जुन विवादित कुरा लामो समयदेखि मैले झेलेकी थिएँ, ति कुरा कहिल्यै सुल्झने छैनन्। किनकि मेरी आमाको मानसिक स्वास्थ्य लगातार बिग्रँदै गइरहेको थियो।
बिमारीको सुरुवाती महिनाहरुमा बिहान उठ्नुको मतलब हुन्थ्यो कि, धारिलो तरवारमा हिँड्नु। यसमा अनिश्चितता हुन्थ्यो। अगाडि के हुन्छ, केही भन्न सकिन्नथ्यो। डर, आक्रोश हुन्थ्यो।
कतिपटक त आमाले आफ्नो घरनै चिन्नु हुँदैनथ्यो, जहाँ हामी वर्षौंदेखि बस्दै आएका थियौँ।
मेरी आमा कहिले त शरीरका सबै कपडा फुकालेर यत्तिकै घरमा घुम्नुहुन्थ्यो। हामी पटक-पटक कपडा लगाइदिन्थ्यौँ, तर हरेक पटक उहाँले कपडा फुकाल्नुहुन्थ्यो। यो मेरो लागि हेरचाह गर्नुभन्दा पनि एक छोरीको संघर्ष थियो।
छोरी हुनुको संघर्ष
हुनत मलाई धेरै मानिसले भने- 'आमासँग भावनात्मक रुपमा अलग बस।' तर, तपाईंको लागि यो सम्भव हुँदैन। आखिर एक छोरी आफ्नी आमासँग भावनात्मक सम्बन्ध कसरी तोड्न सक्छे?, त्यो पनि आमा मानसिक रुपमा बिरामी भएको अवस्थामा।
तर, मलाई उहाँलाई त्यो रुपमा स्वीकार गर्न पनि मुश्किल भइरहेको थियो। त्यो समय लाचार भएर चिच्याउँथें, जब मेरी आमा व्यग्र भई बुवालाई खोज्नु हुन्थ्यो। जबकी १४ वर्ष पहिले नै बुवा हामीलाई सदाका लागि छोडेर गइसक्नु भएको थियो। मेरी आमा आफ्नो श्रीमान्को यादले बच्चा जसरी रुनुहुन्थ्यो। 'मलाई बुवासँग पुर्याइदेउ' भनेर मसँग हठ गर्नुहन्थ्यो।
एकपटक मैले घरमा फोन गरेँ। फोनमा उहाँले मलाई भन्नुभयो, ‘छोरी तिमीसँग एक चिज माग्छु, के तिमी दिन्छौ?’
मैले भनें, ‘अवश्य आमा भन्नुस् न के चाहियो?’
उहाँले भन्नुभयो, ‘मलाई तिम्रो बुवासँग लिएर जाऊ, मलाई थाहा छैन, उहाँ कहाँ जानुभयो? खाना खानुभयो कि भएन होला, कृपया मलाई उहाँसँग पुर्याइदेऊ।’
यो प्रश्नको मसँग जवाफ थिएन। के गरौं, के भनौं, आफूलाई निकै लाचार महसुस गर्थें।
म आमालाई निद्रा लागोस् भनी प्रार्थना गर्थें। अनि आशा पनि गर्थें कि भोलीको बिहान नयाँ हुनेछ अनि आमाले पुराना याद बिर्सनुहुनेछ। तर, यो समय कहिल्यै आउनेवाला थिएन।
कति दिनसम्म उहाँ रातभर जागै बस्नुहुन्थ्यो। हृदयघात भएजस्तो हुन्थ्यो। ती दिन डरलाग्दा हुन्थे। मैले परिस्थितिसँग सम्झौता गरिसकेकी थिएँ। शारीरिक र मानसिक दुवैरुपमा अक्सर म थाकेर सुत्थेँ।
मेरी आमा एक कामकाजी महिला हुनुहुन्थ्यो। २२ वर्ष पहिले उहाँले अवकाश लिनुभएको हो। तर, यो कुरा उहाँको दिमागबाट हटिसकेको थियो।
कुनै दिन यस्तो पनि हुन्थ्यो, उहाँ कार्यालय जान चाहनुहुन्थ्यो। जब उहाँलाई 'तपाईं रिटायर्ड भइसक्नुभयो, पेन्सन पाउनुहुन्छ' भनेर हामी भन्थ्यौँ, एकाएक उहाँको भावभंगिमामा परिवर्तन आउँथ्यो। उहाँ निकै हिंस्रक बन्नुहुन्थ्यो।
हराउदैँ गएको आमाको स्मरण शक्ति
दिपान्जनाकी आमा।
निकै पिडादायी कुरा- आमाको स्मरणशक्ति हराउदैँ गएको थियो। अचानक यस्तो समय पनि आयो कि मैले आशा गर्नै छाडिदिएँ।
याद, माया, आशा अनि निर्भरता, सबै मेरो हातबाट फुत्किँदै थिए। म लाचार थिएँ। केही गर्नसक्ने अवस्थामा पनि थिइनँ। निकै असह्य महसुस हुन्थ्यो। आफ्नै मन पनि म बुझाउन सक्तिन थिएँ।
एक वर्षभन्दा धेरै समयसम्म मेरो हालत यस्तो भयो कि म सुतेर वा भागेर समस्याबाट छुटकारा पाउन चाहन्थेँ।
कति दिन यस्तो हुन्थ्यो- म आमा भएको स्थानबाट रुँदै निस्कन्थें। 'म कोठामा कालो जादु गरिरहेकी छु' भन्ने आमालाई लाग्दा मैलै आफैंले आफ्नो दृढता र विश्वासको परीक्षा दिनुपर्ने हुन्थ्यो। तर, साँचो यो हो कि म आराम गर्न चाहन्थेँ, ताकि उहाँको मानसिक समस्याले घेरिएको समय सामाना गर्न सकौँ।
चुनौती र गुनासो
कसैको हेरचाह गर्न निकै मुश्किल हुन्छ भन्ने कुरामा कुनै द्धिविधा छैन। यसलाई म आफ्नो आध्यात्मिक जागरुकताको एक यात्रा तय गर्नुजस्तो मान्छु।
मैले सिकें कि कसरी गुनासालाई पछाडि छाडिदिनुपर्छ। मौकाको मात्र होइन चुनौतीको पनि सम्मान गर्नुपर्छ र त्यसलाई स्वीकार पनि गर्नुपर्छ।
'तपाईंकी आमा शारीरिक रुपमा त हुनुहुन्छ, तर भावनात्मक र मानसिक रुपमा टाढा गइसक्नुभएको छ', सायद यो स्वीकार गर्न कसैलाई पनि सजिलो छैन।
मेरा साथीभाई, मेरो भलो चिताउने मानिसहरु सबैको मलाई सहयोग मिल्यो। तर, हेरचाहको यो अनुभवले मलाई धेरै कुरा सिकायो। यदि म यो यात्रामा ननिस्केको भए मलाई जिन्दगीका धेरै आयामका बारे जानकारी नै हुन्थेन।
कसैको हेरचाह गर्दा उसको हिसाबमा आफूलाई रुपान्तरण गर्नु, यो निकै गाह्रो काम हो। तर, यो अनुभवले हौसला पनि दिन्छ।
सुरुवातमा आमासँग बस्न मलाई निकै डर लाग्थ्यो। खासगरी जब उहाँलाई मुटुसम्बन्धी समस्याले च्याप्दै ल्याउँथ्यो।
मलाई लाग्छ कि आमाको हेरचाह जिन्दगीको तर्फबाट मलाई एउटा अमूल्य उपहार हो, जुन मैले आमाबाट प्राप्त गरेको थिएँ।
लाग्छ आज म निश्चय पनि एक राम्रो मानिस हुँ। जो जागरुक छ, जसमा निकै सहनसक्ने शक्ति छ, साहस छ, जस्तो पनि समस्यालाई स्वीकार गर्नसक्ने क्षमता छ, जोभित्र दया, सहानुभूति छ, गुनासो कम छ, त्यसको प्रतिफल भनौं यो समय तत्कालै कसैमाथि धारणा बनाउदिनँ।
यदि यसलाई जीवनको 'इनाम' मान्ने हो भने यो सफर निश्चित रुपले निकै फाइदाजनक छ। मेरो मन पटक-पटक खाली भएको छ। हर समय नयाँ उर्जा पनि जाग्छ। मेरा लागि यो एउटा यस्तो अनुभव थियो कि जसको म कल्पना पनि गर्न सक्तिनँ।
(डिप्रेसन भएकी आमाको हेरचाहका क्रममा भोगेका चुनौतीबारे दिपान्जना सरकारको बिबिसी हिन्दीमा प्रकाशित संस्मरणको स्वास्थ्यखबरकी कल्पना पौडेलले भावानुवाद गरेकी हुन्।)