सप्तरी– सप्तरीको खडक नगरपालिका– ९, लालपट्टीका ५५ वर्षीय रेशमलाल चौधरीलाई १० वर्षअघि डाइविटिज (मधुमेह) को समस्या देखियो। अनेक उपाय गर्दा पनि लामो समयसम्म रोग बिसेक नभएपछि उनले लालपट्टीमै रहेको मालझुम्ना आयुर्वेदिक औषधालयमा सम्पर्क गरे।
आयुर्वेदिक औषधि सेवन गर्न थालेपछि उनलाई केही सन्चो भएको महसुस भयो। उनी करिब ५ वर्षदेखि सोही औषधि प्रयोग गरिरहेका छन्। आयुर्वेदिक औषधि सेवनले आराम मिलेको उनले अनुभव गरेका छन्। ‘वर्षौं दुःख पाएँ, पैसा पनि धेरै सकियो’ उनी भन्छन्, ‘अहिले खासै समस्या छैन।’
नियमित औषधि र आयुर्वेदिक विधिबाट उपचार गर्दा सन्चो महसुस गरेको उनी बताउँछन्।
सोही ठाउँकी मीना चौधरीलाई घुँडा, कुइना, ढाडलगायत शरीरका जोर्नी दुख्ने समस्याले हैरान पारेको थियो। दुखाइ सहन नसकेर उनले धेरै समय पेन किलर खाएरै बिताइन्। तर, उनी अहिले आयुर्वेदिक औषधि सेवन गर्न थालेकी छिन्। विगत २ वर्षदेखि सामान्य समस्या देखिँदा पनि मालझुम्ना औषधालयमै गएर उपचार गराउन थालेकी छिन् उनले। ‘गाउँतिर आयुर्वेदिक औषधिमा खासै विश्वास छैन, तर मलाई यसैले ठिक भएको छ,’ उनी भन्छिन्, ‘खानेबित्तिकै सन्चो नहुने भएकाले पनि अरुलाई विश्वास नलागेको होला।’
रेशमलाल र मीना मात्र होइन, पछिल्लो समयमा खडक नगरपालिका र आसपासका क्षेत्रमा आयुर्वेदिक औषधि र उपचार विधिप्रति मानिसको आकर्षण बढेको छ। पढे–लेखेका र आयुर्वेदका विषयमा बुझेका व्यक्तिहरु औषधि र उपचारका लागि थपिँदै गएको मालझुम्ना आयुर्वेदिक औषधालयका कविराज मिश्रीलाल यादवले बताए। प्रदेश २ का प्रदेश सभा सदस्य सत्यनारायण मण्डल र गोविन्दबहादुर न्यौपानेले पनि आफ्नो औषधालयबाट नियमित औषधि सेवन गरिरहेको उनले जानकारी दिए।
सप्तरी निवासी मण्डल नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ का संयोजक एवं स्थायी कमिटी सदस्य तथा न्यौपाने नेकपाकै जिल्ला सचिव हुन्।
मण्डल र न्यौपानेसहित मालझुम्ना औषधालयबाट गत साउनदेखि मंसिरसम्ममा १ हजार ४ सय ६० जनाले सेवा लिएका छन्। सुरुङ्गा, खडक, शम्भुनाथ र डाकनेश्वरी नगरपालिका तथा बलान–बिहुल र रुपनी गाउँपालिकादेखिका बिरामीहरु औषधि र उपचारका लागि आउने गरेका छन्।
सरदर १० देखि १५ जनाले दैनिक रुपमा सेवा लिने गरेको कविराज यादवले जानकारी दिए। खासगरी रुघाखोकी, श्वासप्रश्वास, पेट दुख्ने, ग्यास्ट्रिक, ज्वरो, महिलाको सेतो पानी बग्ने, कान, बाथ, नशा रोग लगायतका बिरामी आउने गरेको उनले बताए। ‘केही ढिलो गरी प्रभाव देखिन्छ, त्यसैले एकै पटक आकर्षण बढाउन गाह्रो छ,’ यादव भन्छन्, ‘तर, आयुर्वेदिक सबैभन्दा पुरानो उपचार पद्धति हो। अन्य पद्धतिबाट उपचार गर्दागर्दा हार खाएका बिरामीलाई पनि ठिक पार्न सकिन्छ।’
‘पछिल्लो समय आयुर्वेदिक उपचार पद्धतिप्रति मान्छेको आकर्षण बढेको छ,’ उनी भन्छन्, ‘यसको निरन्तरता र विस्तार जरुरी छ।’
उपकरण र जनशक्ति अभाव
आयुर्वेदिक चिकित्सातर्फ सर्वसाधारणको आकर्षण बढ्दै गए पनि यसको निरन्तरता र विस्तारका लागि सरकारी स्तरबाट भने अपेक्षाअनुसार सहयोग देखिएको छैन। औषधालयका लागि नयाँ भवन निर्माण भइरहे पनि उपकरण, फर्निचर र म्यानपावरको कमी छ। कहिलेकाहीँ रुघाखोकी, ग्यास्ट्रिक जस्ता बिरामी धेरै आउँदा औषधि समेतको कमी हुने गरेको कर्मचारीहरु बताउँछन्।
.jpg)
मालझुम्नामा कविराज, वैद्य, औषधि कुटुवा र कार्यालय सहयोगी गरी ४ जनाको दरबन्दी छ। त्यसमा पनि कर्मचारी समायोजनामा परी वैद्य हेमनारायण यादव मंसिर १ गते नै सिरहाको लक्ष्मीपुर पतारी गएपछि उक्त पद समेत रिक्त छ। थोरै जनशक्ति र उपकरण बिहीन भएर सेवा दिनु परिरहेको कविराज यादवले बताए।
‘सेवाग्राही थपिन थालेपछि फिजियोथेरापी र वास्पश्वेदन मेसिनको समेत आवश्यकता महसुस भएको छ,’ उनले थपे, ‘तर, आवश्यक बजेट छैन, जनशक्ति पनि अभाव छ।’ यस पद्धतिमा बढ्दो आकर्षणलाई मध्यनजर गरी सरकारले हरेक स्थानीय तहमा कमसेकम एउटा सुविधासम्पन्न औषधालय स्थापना गर्नुपर्ने उनले सुझाव प्रस्तुत गरे। ‘आयुर्वेदिक चिकित्साको विस्तार गर्न सके औषधि–उपचारमा लाग्ने ठूलो धनराशि जोगाउन सकिन्छ। सर्वसाधारणले पाउने सुविधा र एलोपेथिकको साइड इफेक्टले ल्याउने समस्या पनि कम हुन्छ,’ उनले भने।
स्थानीय युवा प्रमोद चालिसेले पनि थोरै खर्च र नकारात्मक असर नहुने प्राचीन र भरपर्दो भएकाले आयुर्वेदिक चिकित्सालाई राज्यले नै प्रोत्साहन गर्नुपर्ने बताए।
जिल्लामै पहिलो आयुर्वेदिक औषधालय
सप्तरीमा एक आयुर्वेदिक स्वास्थ्य केन्द्र र ७ वटा औषधालय सञ्चालनमा छन्। तीमध्ये मालझुम्ना आयुर्वेदिक औषधालय जिल्लामै पहिलो हो। स्थानीय जीवनाथ चौधरी, भालु चौधरी, भुपिलाल चौधरी र शिवचरण चौधरीले १० कठ्ठा ३ धुर जग्गा उपलब्ध गराएर ०१७ सालमा औषधालयको स्थापना गराएका थिए।

तत्कालीन राजा महेन्द्रले २०१७ पुस १ गते पञ्चायत शासन व्यवस्था लागू गरेपछि सप्तरीमा भूमिगत जीवन बिताएका बिपी कोइराला, गणेशमान सिंह लगायतका नेताले पनि यो औषधालयबाट सेवा लिएको स्थानीयहरु बताउँछन्।
२०२१ सालमा स्वास्थ्य, निर्माण तथा यातायातमन्त्री वनेका नागेश्वरप्रसाद सिंहले यो औषधालयलाई आधिकारिकता दिए। त्यसका लागि जग्गादाता भालु चौधरीले ठूलो संघर्ष गरेको जग्गादाता जीवनाथका छोरा हेमनारायण चौधरी बताउँछन्।
त्यसपछि राजविराजमा आयुर्वेद स्वास्थ्य केन्द्र तथा बनैनियाँ, बरही वीरपुर, हनुमाननगर, बथनाहा र धरमपुरमा आयुर्वेद औषधालय सञ्चालनमा आए। यसैगरी ०७६ मंसिर २३ गतेदेखि अग्निसाइर कृष्णासवरण गाउँपालिका–२, बनौलीमा पनि ‘प्रसबनी आयुर्वेद औषधालय’ सञ्चालनमा आएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १ करोड ४५ लाख रुपैयाँको लागतमा निर्मित नयाँ भवन र औषधालयको प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले उद्घाटन गरे। प्रसवनीमा सिरोधारा र पञ्चकार्य विधिद्वारा बिरामीको उपचार गरिन्छ।