राजविराज– नेपाल चिकित्सक संघको नयाँ कार्यसमिति चयनका लागि सगरमाथा शाखा अन्तर्गतको दुई केन्द्रमा मतदान सुरु भइसकेको छ।
उपत्यकाबाहिरका १६ वटा शाखा कार्यालय मार्फत २८औं केन्द्रिय कार्यकारीणी समितिका लागि चुनाव हुँदैछ।
सगरमाथा शाखा कार्यालयको मतदानका लागि सिरहाको लहानस्थित सप्तऋषि अस्पताल र सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मतदान केन्द्र तोकिएको छ।
माघ ४ र ५ गते दुई दिन हुने चुनावको पहिलो दिन राजविराजमा डा मुरलीप्रसाद सिंहले पहिलो मतदान गरेका छन्। राजविराज मतदान केन्द्रका कुल ४२ जना मतदातामध्ये दिउँसो
१२ बजेसम्ममा १० जनाले मतदान गरेको मतदान अधिकृत डा तिर्थनारायण लाल कर्णले जानकारी दिए।
यसैगरी सिरहाको लहान केन्द्रका २१ मध्ये ५ जनाले मतदान गरेको सहायक मतदान अधिकृत मिश्रीलाल साहले जानकारी दिए।
संघको १३ सदस्यीय कार्यसमितिका लागि ३० जना चुनावी मैदानमा उत्रेका छन्।


नयाँ कार्यसमितिका लोकतान्त्रिक समुहवाट डा लोचन कार्कीको टिम र समावेशी पेशागत समुहवाट डा पुष्पमणि खरालको टोली प्रतिस्पर्धामा छन्। वरिष्ठ उपाध्यक्षका लागि रक्षा श्रेष्ठ र शिव प्रसाद श्रेष्ठबीच मतदान हुनेछ।
उपाध्यक्षमा अनिलविक्रम कार्की र रञ्जितकुमार झाका विचमा प्रतिस्पर्धा छ। रञ्जितकुमार झा राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत छन् । महासचिवका लागि अजय कुमार मिश्र, बद्री रिजाल, दीपेन्द्र पाण्डे र मधुर बस्नेत गरी चार जना चिकित्सक विच प्रतिस्पर्धा छ। महाशचिवमा मिश्र र पाण्डे स्वतन्त्र उम्मेदवार हुन् भने रिजाल लोकतान्त्रिक र बस्नेत समावेशी पेशागत समूहका हुन्।



कोषाध्यक्षमा लोकतान्त्रिकका डा प्रकाश बुढाथोकी रसमावेशी पेशागत समूहका सञ्जित कुमार साह, सहसचिवमा लोकतान्त्रिक समूहबाट निरजकुमार सिंह र समावेशी समूहबाट सैलेन्द्र झा र सहकोषाध्यक्षमा लोकातान्त्रकका विश्वाराज दवाडी र समावेशी समूहका उदयनारायण सिंह मैदानमा छन्।
सदस्यहरुमा लोकतान्त्रिक समूहबाट विक्रान्त ढकाल, विपेश आचार्य, नन्दकुमारी गुरुङ, प्रमोद जोशी, रितेश थापा र सञ्जिव तिवारी, समावेशी समूहबाट सदस्यहरुमा दिपकप्रसाद कोइराला, जगदिशचन्द्र विष्ट, लिजन महर्जन, राकेश कुमार साह, सुमान काफ्ले, त्रिभुवन चन्द्र झा तथा अमित चतुर्वेदी र प्रवीणकुमार गिरी चुनावी मैदानमा छन्।






.jpg)