राजविराज– सप्तरीमा बन्न लागेको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणमा भइरहेको ढिलाइका विषयमा आरोप-प्रत्यारोप सुरु भएको छ।
राष्ट्रियसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य सुमनराज प्याकुरेलले तत्कालीन स्वास्थ्य मन्त्रीकै कारण प्रतिष्ठान निर्माणको काममा ढिलो भएको आरोप लगाएका छन्। नेपाल राष्ट्रिय वाणिज्य संघ सप्तरीले आइतवार राजविराजमा आयोजना गरेको ‘रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी अन्तर्क्रिया’मा बाेल्दै प्याकुरेलले पूर्वमन्त्री उपेन्द्र यादवमाथि यस्तो आरोप लगाएका हुन्। यादवले प्रतिष्ठान निर्माणको प्रस्ताव मन्त्रिपरिषद् बैठकमै नलगेको प्याकुरेलको आरोप छ।
‘प्रतिष्ठान निर्माणको कुराअघि बढेको यत्रो समय बितिसक्दा पनि त्यो प्रस्ताव क्याविनेटमा किन गएन, यहाँका नागरिकले सोध्नुपर्छ,’ उनले भने। प्रतिष्ठान निर्माणको कामलाई अनावश्यक राजनीतिकरण गरिएको भन्दै उनले दुःख व्यक्त गरे।
प्रदेश २ को प्रदेशसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै घोषणा गरेको विषयलाई जसलिने होडवाजीले अन्याेलपूर्ण बनाएको उनको भनाइ छ। ‘कहिले अन्यत्र सार्ने षडयन्त्र भयो भन्छन्, कहिले बन्नै दिँदैनन भन्छन्,’ उनले थपे, ‘सरकारले घोषणा गरेको प्रतिष्ठान निर्माणको काम कसैले रोकेर राकिदैन।’
आवश्यक सम्पुर्ण प्रक्रिया पूरा भएको र स्वास्थ्य, वन र गृह हुँदै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पुगेर प्रतिष्ठान निर्माणको फाइल अड्किएको प्याकुरेलले जानकारी दिए। ‘भूमि सुधार मन्त्रीसँग कुरा भएको छ, आउँदो मन्त्रिपरिषद् बैठकबाट जग्गाको कुरा टुङ्गिने वचन दिनु भएको छ,’ उनले भने,‘प्राविधिक विषय बाहेक राजविराजमा स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्ने कुरा परिवर्तन हुँदैन।’
तत्कालीन उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले भूमाफियाका कारण प्रतिष्ठान निर्माणको कामअघि नबढेको बताए। समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवले आइतवार राजविराजमै आयोजित अर्को अन्तरक्रिया कार्यक्रममा बाेल्दै प्रतिष्ठान बन्ने भएपछि जग्गा दलाल सल्वलाएको र जग्गामा किचलो खडा गरी कामअघि बढ्न नदिएको उनले बताएका थिए।
सरकारले ४० करोड वजेट छुट्याए पनि खर्च गर्ने बाटो नखुलेको भन्दै स्थानीय चिन्तित् छन्। प्रतिष्ठान निर्माणका लागि अर्थ मन्त्रालयले कार्यालय व्यवस्थापनतर्फ ५० लाख रुपैयाँ र भौतिक पूर्वाधार निर्माणका लागि ४० करोड रुपैयाँ छुट्याएको छ। गत जेष्ठ १२ गते प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको कार्यालयसमेत स्थापना भएको छ। प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा डा. रोहित पोख्रेल नियुक्त भएका छन् भने स्वास्थ्य मन्त्रालयले काठमाडौंस्थित वीर अस्पतालका वरिष्ठ जनरल फिजिसियन एवम् डाइबिटोलोजिस्ट प्रा डा सञ्जयकुमार ठाकुरलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिएको छ।
तर, पूर्वाधार निर्माण गर्न राजविराज नगरपालिका–१० स्थित बिरौलमा तयार गरिएको ६२ बिघा जग्गामै समस्या देखिएपछि काम अघि बढेको छैन।
यसरी आयो समस्या
राजविराज नगरपालिकाले प्रतिष्ठानलाई दिन तयार गरेको जग्गाको केही भाग त्यसअघि नै ‘कृषि हाटबजार’ संचालनका लागि राजविराजस्थित ग्लोबल बहुमुखी सहकारी संस्थालाई दिने गरी सम्झौता भएको थियो। बिरौलस्थित हुलाकी मार्गबाट पूर्वतर्फको सोहि जग्गासमेत मिलाएर हाल प्रतिष्ठानलाई दिने निर्णय भएको छ।
सहकारीसँग भएको सम्झौता हालसम्म नगरपालिकाले रद्द गरेको छैन। सो जग्गा र अन्य केहि प्राविधिक समस्याका कारण जग्गाको फाइल मन्त्रालयमा अड्किएको जानकारहरु बताउँछन्। तर, सो जग्गामा प्रतिष्ठान बन्ने भएपछि सहकारीले नै साधारणसभाबाट उक्त जग्गामा दावी नगर्ने र कृषि हाटबजार बनाउने विषयलाई स्थगित गर्ने निर्णय गरेको ग्लोबल बहुमुखि सकारी संस्थाका अध्यक्ष सुखराम यादव बताउँछन्।
‘स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रदेशवासीको माग हो, त्यस्तो काममा हामी किन बाधा गर्छौं?’ अध्यक्ष यादवले भने, ‘कानुनी प्रक्रियामा नगरपालिका आफैं चुकेको छ, हामीले कुनै बाधा गरेकाे छैन।’ आफनो तर्फबाट जग्गाको विषयमा कुनै उजुरी र गुनासोसमेत नगरेको उनले दाबी गरे।
स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणमा देखिएको अवरोधका कारण स्थानीयवासी भने आक्रोशित हुँदै गएका छन्। ‘सप्तरीका जनतालाई ललिपप देखाएर झुक्याउने गरिएको छ, यस पटक त्यस्तो नहोस्’ सप्तरी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शंकर दासले भने, ‘यदि त्यस्तो भयो भने हामी नेताहरुकै घरमा धर्ना बस्छौं।’
प्रतिष्ठान निर्माणमा दबाब दिन गत माघ ३ गते सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण प्रधानको संयोजकत्वमा समन्वय तथा संवाद समितिसमेत गठन भएको छ। संघीय मन्त्रिपरिषद्ले निर्णय गरेको १ वर्ष बितिसक्दा पनि सामान्य समस्याका कारण प्रतिष्ठान निर्माणको काममा कुनै प्रगति नदेखिएकाले ढिलासुस्तीको यथार्थ पहिचान गरी सहज वातावरण तयार गर्न समिति गठन गरिएको संयोजक प्रधानले बताए।