राजविराज– दुई वर्षअघिसम्म रेफरल सेन्टरका रुपमा चिनिएको सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सुधार देखिन थालेका छन्। केही विशेषज्ञ डाक्टर र आधुनिक उपकरण थप भएपछि अस्पतालमा पहिलो पटक क्यान्सरका बिरामीको सफल शल्यक्रिया गरिएको छ।
स्तन क्यान्सरपीडित सप्तरीकै विष्णुपुर गाउँपालिका १ जमुनी मधेपुराकी ६० वर्षीया दुखनीदेवी खंग खत्वेको वुधबार शल्यक्रिया गरिएको हो। डा. राजीव मिश्रा, डा. अजय चौधरी र डा. पारसमणि साहको टिमले शल्यक्रिया गरेको छ। करिब ४ घण्टा लगाएर खंगको दायाँ स्तन काटेर फालिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए।
आर्थिक अवस्था कमजोर रहेकी दुखनीलाई शल्यक्रियामा अस्पतालले समेत सहयोग गरेको छ। खंग पहिलोपटक गत पुस ८ गते स्वास्थ्य जाँचका लागि अस्पताल आएकी थिईन्। उनको मासुका नमूना परीक्षणबाट क्यान्सर नै भएको प्रमाणित भएपछि बुधबार शल्यक्रिया गरिएको दासले वताए।
खंगलाई केमोथेरापीसहित औषधिको ब्यवस्थासमेत मिलाईएको अस्पतालले जनाएको छ। पत्निको उपचारमा ठूलो रकम खर्च हुने भन्दै चिन्तामा रहेका उनका पति रामचरण खंगले राजविराजमै शल्यक्रिया सफल भएकोमा खुसी ब्यक्त गरे।
रामचरणका अनुसार करिब दुई महिना अघि नै दुखनीको स्तनमा क्यान्सर भएको पत्ता लागेको थियो। दुई वर्षदेखि धनुषाको लालगढ अस्पतालमा छालासम्बन्धी उपचार गराईरहेकी दुखनीको काखीमुनि गाँठा देखिएपछि सोही ठाउँका स्वास्थ्यकर्मीले चितवनको भरतपुर क्यान्सर अस्पताल पठाएका थिए। भरतपुरमा स्तन क्यान्सर भएको जानकारी पाएपछि खर्च अभावमा घर फर्केको रामचरणले बताए।
घरै वसिरहेका बेला राजविराजमै पनि क्यान्सरको उपचार हुने जानकारी पाएपछि गत पुस ८ गते आफूले अस्पतालमा सम्पर्क गरेको उनको भनाइ छ। १०÷१५ हजारको खर्चमा अप्रेसन सम्पन्न भएको भन्दै उनले खुसी ब्यक्त गरे।
यसअघि अस्पतालमा गत साउनमा पेट फुटेर आन्द्रा बाहिर निस्केका बिरामीको समेत सफल उपचार गरिएको थियो। साउन २३ गते घरको छतबाट लडेका सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिका–४ बनौलीका ८ वर्षीय तबरेज आलमको पेटमा भाटा छिरेको थियो। भाटा निकाल्ने क्रममा आन्द्राबाहिर निस्किएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो।
करिब ४ घण्टाको अथक प्रयासपछि सर्जन राजीव मिश्रा, एनेस्थेसिस्ट पारसमणि साह तथा विपिन देव, इएनटी सर्जन महेश पोखरेललगायतको टोलीले बालकको सफल शल्यक्रिया गरेको थियो। बालकको उपचारमा करिब १० हजार रुपैयाँ खर्च भएको थियो।
त्यस्तै, जेठ ३ गते राजविराज नगरपालिका–७ की २५ वर्षीया पिंकी राउत अस्पतालमा भर्ना भइन्। चौथो पटकको बच्चा जन्मन समस्या परेर उनको पाठेघर फुटेको थियो। ‘अवस्था एकदमै जटिल थियो। तर, बिरामीको अवस्था १० किलोमिटर टाढा पुग्न पनि नसक्ने देखेपछि बाहिर पठाउन सकिएन,’ मेसु दासले भने, ‘जोखिम उठाएर भए पनि उनको शल्यक्रिया गरेर बच्चा निकालियो। त्यसमा पनि हामी सफल भयौं।’
गाइनोकोलोजिस्ट ब्रजेशकुमार झा, दिलीपकुमार साह, सर्जन सरोजकुमार यादव, एनेस्थेसिस्ट जयप्रकाश ठाकुर, स्टाफ नर्स अर्चना शर्मा लगायतको टोलीले पिंकीलाई नयाँ जीवन दिएको दास बताउँछन्। त्यसअघिका तीनवटै बच्चा अप्रेसन गरेर निकालिएको र बिरामीको अवस्था पनि जटिल हुँदाहुँदै स्वास्थ्यकर्मीको लगनशीलताले ठूलो सफलता प्राप्त भएको उनको भनाइ छ।
यस्तो छ अहिले अस्पतालको अवस्था
भारत सरकारको सहयोगमा स्थापना भएको गजेन्द्रनारायण सिंह अस्पतालमा २०२९ सालदेखि ५० शैय्याको स्वास्थ्य सेवा सुरु भएको थियो। केही समय अघिसम्म सगरमाथा अञ्चल अस्पतालका नामले चलेको यस अस्पतालमा हाल ८४ शैय्या छन्।
अस्पतालमा विशेषज्ञ चिकित्सक र मेडिकल अधिकृतको संख्या ३२ जना पुगेको मेसु दासले बताए। मेडिसिन, सर्जरी, गाइनो, पेडियाट्रिक, अर्थो, डेन्टल, रेडियोग्राफी, एनेस्थेसिया, डायलासिस, हाडजोर्नी, सर्जन, ईएनटी, एनआइसियु, २४ घन्टे नमूना प्याथोलोजी, अत्याधुनिक एक्सरे सेवा अस्पतालमा सञ्चालनमा छ।
सिटी स्क्यान र आइसियु सेवा चाँडै सञ्चालनको तयारी भइरहेको पनि दासले जानकारी दिए। अहेव र स्थानीय कलेजमा अध्ययनरत सिकारु विद्यार्थीको भरमा सञ्चालन हुँदै आएको इमरजेन्सी सेवामा ०७५ भदौदेखि २४ घन्टे अन–ड्युटी चिकित्सक सहितको सेवा सञ्चालनमा छ।
अस्पतालमा दरबन्दीअनुसार अझै पनि छाला रोग विशेषज्ञ, साइकियाट्रिक र प्याथोलोजिस्टको अभाव छ।