काठमाडौं- नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाद्वारा सञ्चालित बाग्लुङ रक्तसञ्चार केन्द्रको स्तरोन्नतिका लागि ३६ लाख ४२ हजार बढीको एम्बुलेन्स र ल्याबका उपकरण प्रदान गरिएको छ।
बाग्लुङ, पर्वत र म्याग्दीमा जन्मेर नेदरल्यान्ड बसोबास गरिरहेका नेपाली तथा गैरआवासीय नेपाली संघ नेदरल्यान्डको संयुक्त पहलमा ४२ प्रकारका ८५६ थान अति आवश्यक ल्याव उपकरण र एम्बुलेन्स सहयोग गरेको हो। मंगलबार औपचारिक कार्यक्रम गरी एम्बुलेन्स र उपकरण हस्तान्तर गरिएको हो।
सहयोग कार्यक्रमको संयोजक गरिरहेका बाग्लुङ रक्तसञ्चर केन्द्र सुधार परियोजनाका थानेश्वर कंडेलले उक्त सहयोगले रक्रसञ्चार केन्द्रमा सुरक्षित र स्तरीय रुपमा रक्त संकलन, भण्डारण र परीक्षण गर्न सहज हुने बताए।
कँडेलले धौलागिरि अस्पतालमा सुविधासम्पन्न ब्लड बैंक भएमा यस क्षेत्रका जनताले रगत नपाएर ज्यान गुमाउनुपर्ने स्थितिको अन्त्य हुने अपेक्षा राखेको बताए।
उनले भने, ‘हामीले जन्मस्थान छोडेर प्रसावमा गएपछि देखेको स्तरीय सेवा नेपालमा पनि दिन सकिन्छ कि भनेर पहल थालेका हौँ।’
रक्रसञ्चार केन्द्रको स्तरोन्नतिका लागि नेदरल्यान्ड बसोबास गरिरहेका नेपाली समुदायले व्यक्तिगत रुपमा आर्थिक सहयोग गरी एम्बुलेन्स र ल्याब उपकरण सहयोग गरेका हुन्।