काठमाडौं- चीनमा फैलिरहेको कोरोना भाइरसका कारण कम्तीमा पनि १७ जनाको मृत्यु भइसकेको छ भने ६ सयभन्दा बढी संक्रमित भएको जनाइएको छ। यो भाइरस चीनबाट फैलिएर एसिया हुँदै पूरै विश्वमा फैलिरहेको छ।
उक्त भाइरसलाई मध्यनजर गर्दै अमेरिका‚ बेलायत र अस्ट्रेलियाले उच्च सतर्कता अपनाइरहेका छन्।
चिनियाँ सरकारले उहान सहरमा प्रवेश गर्ने सबै सडक मार्गहरू आंशिक रुपले बन्द गर्ने घोषणा गरिसकेको छ। चिनियाँ विमानस्थललाई पनि आंशिक रुपमा बन्द गरिएको जनाइएको छ।
चिनियाँ अधिकारीहरूले नयाँ कोरोना भाइरसबाट मृत्यु हुने १७ जनामध्ये ७ जना उहान सहरबाट भएको जनाएका छन्। उनीहरूका अनुसार यस्तो किसिमको नयाँ कोरोना भाइरस अझ धेरै नफैलियोस् भन्नका लागि सडक तथा विमानस्थलहरू बन्द गरिएको हो।
कोरोना भाइरसका डरका कारण उहानबासीहरू सहर छाडी बाहिर जाने क्रम बढिरहेको छ। विमानस्थल र रेल स्टेसनमा मानिसहरूको चाप बढिरहेको जनाइएको छ।
चिनियाँ नयाँ वर्ष आउँदो शनिबारबाट सुरु हुँदैछ। सो अवसरमा एसिया र विश्वभरिबाट लाखौं पर्यटकहरूले भ्रमण गर्ने भनिएकोमा त्यसको संख्यामा ह्रास आउने आशंका गरिएको छ।