काठमाडौं- विश्व स्थास्थ्य संगठनको दक्षिणपूर्वी एसिया क्षेत्रको ७४औं बैठक नेपालमा हुने भएको छ।
मन्त्रिपरिषदले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पेश भएको प्रस्ताव स्वीकृत गरेपछि सन् २०२१को सेप्टेम्बरमा बैठक नेपालमा हुने भएको हो।
सरकारका प्रवक्ता एवम् सुचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुल बास्कोटाले सरकारको नियमित पत्रकार सम्मेलनमा बिहीबार सो कुराको जानकारी दिएका हुन्।
हरेक वर्ष विश्व स्वास्थ्य संगठनको जेनेभामा हुने महासभाको पूर्व तयारीका रुपमा यो बैठकलाई लिइन्छ।
दक्षिणपूर्वी एसियाली क्षेत्रमा बंगलादेश, भुटान, दक्षिण कोरिया, भारत, इन्डोनेसिया, माल्दिभस, नेपाल, म्यानमार, श्रीलंका, थाइल्याण्ड र टिमोर लेस्टे गरी ११ देश छन्। जसको क्षेत्रीय कार्यालय भारतको नयाँ दिल्लीमा रहेको छ।
सो बैठकले सन् २०२१ मा विश्व स्वास्थ्य संगठनको महासभाका लागि तयारी गर्नेछ।
त्यसबाहेक दक्षिणपूर्वी एसियाली क्षेत्रमा रहेका स्वास्थ्य समस्या, भइरहेका कार्यक्रमको समीक्षा, रणनीति निर्माण र आगामी दिनका कार्यक्रम योजनाबारे छलफल हुने गर्छ।
हरेक वर्षको सेप्टेम्बर २ देखि ७ तारिखसम्म हुने बैठकले अन्तिम दिन घोषणापत्र समेत जारी गर्छ । विश्व स्वास्थ्य संगठनका ६ वटा क्षेत्रीय कार्यालयहरुबाट आएका घोषणापत्रबाट छानेर केन्द्रीय घोषणापत्र जारी गरिन्छ।
नेपालले २०२० को ७३औँ बैठक नेपालमा गर्ने प्रस्ताव गरेको थियो। तर, यसअघि २०१९ मा क्षेत्रीय कार्यालय नयाँ दिल्लीमा भएको ७२औँ बैठकले २०२०को बैठक गर्ने स्वीृकती थाइल्याण्डलाई दिएकोछ। यसपटक सेप्टेम्बरको बैठक थाइल्याण्डमा हुनेछ।