ललितपुर- बाथ, थाइराइड र स्त्री रोगका बिरामीलाई लक्षित गर्दै ललितपुर सातदोबाटोस्थित गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्रको प्राङ्गणमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
ललितपुर महानगरपालिका, समाज कल्याण शाखा, जनस्वस्थ्य शाखा, १५ वटा कार्यालय र वडा स्वास्थ्य कार्यान्वयन समितिको संयुक्त आयोजनामा शिविर भएको हो। शिविरमा गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्रको प्राविधिक सहयोग थियो।
बाथ रोग विशेषज्ञ डा दीपा शाह, सुगर थाइराइड रोग विशेषज्ञ डा दिपेन्द्र कार्की र डा स्त्री रोग विशेषज्ञ, डा मधु तम्बाहाम्फेले २ सय ५० बाथ, थाइराइड, सुगरप्रेसर, स्त्री रोग तथा आँखासम्बन्धी बिरामीहरूको नि:शुल्क स्वास्थ्य परीक्षण गरेका थिए।
बढ्दो सहरीकरणसँग मानिसले अपनाइएरहेका अप्राकृतिक जीवनशैली र खानपानका कारण बाथ, थाइराइड, सुगरप्रेस र स्त्री रोगले व्यापकता पाइरहेकोले स्थानीय निकाय र सरोकारवाला समुहबीचको सहकार्यमा कार्यक्रम आयोजना गरिएको गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्रका सञ्चालक हुत्तराज दुलालले बताए।
गरीब तथा असाहय व्यक्तिलाई विशेष छुट र दीन दुःखीहरूलाई नि:शुल्क उपचार गराइँदै आएको समेत बताउँदै आगामी दिनमा गोसाइँकुण्ड स्वास्थ्य सेवा केन्द्रले ग्रामीण भेगमा स्वास्थ्य शिविर आयोजना गर्ने सोच रहेको सञ्चालक दुलालले जानकारी दिए।