अछाम- अछामको रामारोशन गाउँपालिकामा सामुदायिक स्वास्थ्य कार्यक्रम सुरु भएको छ। न्याय हेल्थ नेपालसँगको समन्वय र सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम सुरु गरिएको गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावलले बताइन्। योसँगै अछामका ६ वटा स्थानीय तहमा सामुदायिक स्वास्थ्य कार्यक्रम सञ्चालनमा आएको छ।
रामारोशन गाउपालिकाका उपाध्यक्ष सरस्वती रावल र न्याय हेल्थ नेपालका स्वास्थ्य सेवा निर्देशक डाक्ट्र विकास गौचनले संयुक्त रुपमा कार्यक्रम उद्घाटन गरेका थिए।
गाउँपालिकामा कार्यक्रम सुभारम्भ भएको जानकारी दिँदै गाउपालिका उपाध्यक्ष सरस्वती रावलले रामारोशन क्षेत्रका वृद्धवृद्धा, बालबालिका, गर्भवती महिलाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै कार्यक्रम सञ्चालन गरिएको बताइन्।
गाउँपालिकाको २९ हजार जनसंख्यालाई मध्यनजर गर्दै गाउँ सभाबाट नै पारित गरी सामुदायिक स्वास्थ्य कार्यक्रम लागू भएकाले यसको प्रभावकारिताका लागि सबैले साथ दिनुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा न्याय हेल्थ नेपालका स्वास्थ्य सेवा निर्देशक विकास गौचनले अछामका १० मध्ये ६ वटा स्थानीय तहमा कार्यक्रम लागू रहेकाले सबै जनताको स्वास्थ्यमा सहज पँहुच पुग्नेमा आफू विश्वस्त रहेको बताए।
रामारोशन गाउँपालिकाको आर्थिक सहयोग तथा न्याय हेल्थ नेपालको प्राविधिक सहयोगमा कार्यक्रम सुरु भएको सामुदायिक स्वास्थ्य कार्यक्रमका प्रादेशिक प्रमुख हरिजंग रायमाझीले जानकारी दिए।
न्याय हेल्थ नेपालको व्यावस्थापनमा अछाममा बयालपाटा अस्पताल, चौरमान्डौ प्राथमिक स्वास्थ्य केन्द्र, दोलखामा चरिकोट अस्पताल तथा अछाम र दोलखाका स्थानीय तहहरुमा सामुदायिक स्वास्थ्य कार्यक्रम सञ्चालन भइरहेको छ। न्याय हेल्थ नेपालद्वारा सञ्चालन भएका सबै कार्यक्रम नि:शुल्क रुपमा प्रवाह हुँदै आइरहेका छन्।
अछामको साँफेबगर नगरपालिका, कमलबजार नगरपालिका, मेल्लेख गाउँपालिका, बान्नीगढी जयगढ गाउँपालिका र चौरपाटी गाउँपालिका तथा दोलखाको भीमेश्वर नगरपालिका, कालिन्चोक गाउँपालिका, बैत्यश्वर गाउँपालिका र तामाकोशी गाउँपालिकामा साुमदायिक स्वास्थ्य कार्यक्रम सञ्चालनमा रहेको छ।