अछाम- अछाममा स्वास्थ्य बिमा गर्नेको संख्या ह्वात्तै बढेको छ। जिल्लामा हालसम्म स्वास्थ्य बिमा गर्नेको संख्या २६ हजार ९ सय १४ पुगेको स्वास्थ्य बिमा बोर्डका अछाम फिल्ड संयोजक प्रेमबहादुर बुढाले जानकारी दिए।
१ लाख बराबरको सेवा पाउने निर्णयपछि स्वास्थ्य बिमा गर्नेको संख्या बढेको स्वास्थ्य संयोजक बुढाले बताए। ३५ सय प्रिमियम तिरेपछि ५ जना परिवारले १ लाख बराबरको सेवा पाउने व्यवस्था स्वास्थ्य बिमामा गरिएको छ।
५ जनाभन्दा बढी परिवार भएका सदस्यको लागि थप एक जना बराबर ७ सय प्रिमियम तिरेमा २० हजार बराबरको थप सेवा लिन पाउने व्यवस्था मिलाइएको स्वास्थ्य बिमा बोर्डले जनाएको छ।
स्वास्थ्य बिमामा सबै जनता आवद्ध हुन प्रेरित हुन् भन्ने उद्देश्यले उपचार शुल्क ५० हजार बाट १ लाख पुर्याइएको स्वास्थ्य बिमा बोर्ड सुदूरपश्चिमका संयोजक जनक साँउदले बताए।
यता न्याय हेल्थ नेपालद्वारा सञ्चालित बयालपाटा अस्पतालमा स्वास्थ्य बिमामा आबद्ध भएकालाई उपचारमा समेत ग्राह्यता दिन सुरु गरिएको छ। स्वास्थ्य बिमामा आबद्ध भएका बिरामी अस्पतालमा आएमा नाम दर्तादेखि उपचारमा पनि छिटो पालो र सहजता बनाइएको सहायक मेडिकल निर्देशक डाक्टर पवन केबी अग्रवालले बताए।
स्वास्थ्य बिमामा सबै जनता आवद्ध भई आफ्नो उपचार सुनिश्चित तथा यसप्रति प्रेरित हुन भन्ने उद्देश्यले पनि अस्पतालमा यस्तो अवधारणा ल्याइएको निर्देशक अग्रवालको भनाइ छ।