धनगढी- कैलालीका स्थानीय तहहरुले अनियन्त्रित मदिराको विक्री वितरण नियन्त्रण गर्न साझा कानुन बनाउने तयारी गरेका छन्।
धनगढीमा बसेको कैलालीका १३ वटै स्थानीय तहको बैठकले मदिरा बिक्रीलाई व्यवस्थित बनाउन साझा कानुन ल्याउने निर्णय गरेको हो। त्यसका लागि जिल्ला समन्वय समिति कैलालीका संयोजक सूर्यबहादुर थापाको संयोजकत्वमा तीन सदस्यीय मस्यौदा तयारी समिति गठन गरिएको छ।
सदस्यहरुमा धनगढी उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत र टिकापुर नगरपालिकाका कानुनी सल्लाहकार रहनेछन्। समितिले एक महिनाभित्र मस्यौदा तयार पारेर स्थानीय तहको समन्वय बैठकमा पेश गर्ने निर्णय भएको जिससका संयोजक थापाले बताए । उनले भने–‘साझा कानुन बनाउनुपर्ने भएकाले यसलाई जिल्ला सभाले पास गर्ने छ ।’
धनगढी उपमहानगर प्रमुख नृपबहादुर वडले पछिल्लो समयमा आत्महत्याका घटना बढ्दै गएकाले साझा कानुन बनाएर कडाइ गर्नुपर्ने अवस्था आएको बताए। उनले भने–‘मदिराका कारण घरेलु हिंसाका घटना बढेका छन् त्यही घटना आत्महत्यामा परिणत भएका छन्।’ उनले कैलालीमा दैनिक जसो आत्महत्या र अपराधका घटना बढ्नुको पछाडी अनियन्त्रित मदिराको बिक्री भएको बताए। उनका अनुसार कानुनमा मदिरा बिक्री गर्ने समय, क्षेत्रलगायत मदिरा सेवन गर्नेका लागि समेत कार्डको व्यवस्था गर्ने गरि कानुन ल्याउन लागिएको छ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले मदिरा बिक्रीलाई व्यवस्थित गर्ने, लागुपर्दाथको दुव्र्यसन न्यूनीकरण गर्नका लागि अभियान चलाउने लगायतका निर्णय भएको बताए।
धनगढी उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्टले लागुपदार्थ दुव्र्यसनलाई न्यूनीकरण गर्न सबै स्थानीय तहबाट दुई जनालाई श्रोत व्यक्तिका रुपमा तयार पार्ने निर्णय भएको बताईन्।