इटहरी- प्रदेश १ सरकारले नाेबेल कोरोना भाइरस संक्रमितलाई उपचार गर्न आइसोलेटेड वार्ड बनाउने भएको छ।
हरेक बिरामीलाई छुट्टै उपचार गर्न मेची अञ्चल अस्पताल झापा, कोसी अञ्चल अस्पताल मोरङ, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, बिएन्डसी अस्पताल बिर्तामोड र विराटनगरका विराट मेडिकल कलेज टिचिङ अस्पताल तथा नोबेल मेडिकल कलेज टिचिङ अस्पतालमा आइसोलेटेड वार्ड राख्ने सरकारले निर्णय गरेको हो।
आन्तरिक मामिला तथा कानुनमन्त्री हिम्मत कार्की, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, प्रदेश १ का प्रमुख सचिव सुरेश अधिकारी लगायत सरोकारवालाहरूसँग आज बिहान बसेको बैठकपछि प्रदेश सरकारले चार निर्णय गरेको हो।
साथै कोरोना भाइरसको बारेमा सचेतना फैलाउने, सबै सुरक्षा निकायसँगको सहकार्यमा प्रदेशका सबै जिल्लामा सतर्कता अभियान गर्ने निर्णय गरेको छ।
कोरोला संक्रमणबाट जोगिन प्रदेश १ का दुई चिनियाँ नाकाहरू बन्द हुँदा पर्न सक्ने खाद्यान्न असुविधाको व्यवस्थापनको लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको समन्वय गरेर समस्या समाधान गर्ने निर्णय भएको प्रदेश सरकारले बताएको छ।