चितवन- मातृ तथा नवजात शिशु स्याहारको गुणस्तरमा सुधार ल्याउन भरतपुर अस्पतालमा ‘सुसार’ कार्यक्रम सुरु गरिएको छ।
मातृ शिशु मृत्युदर घटाउने नेपाल सरकारको लक्ष्य प्राप्तिमा हातेमालो गर्न गोल्डेन कम्युनिटी र भरतपुर अस्पतालले सुसार कार्यक्रम थालेको हो।
गोल्डेन कम्युनिटीकी कार्यक्रम प्रबन्धक रेजिना गुरुङका अनुसार अस्पताल अन्तर्गतका मातृ तथा नवजात शिशु स्याहार वडाहरुमा गुणस्तर सुधारका लागि चाहिने सिप र प्रविधिलाई प्रयोगमा ल्याई प्रसूति समयको जटिलतालाई गुणस्तरीय व्यवस्थापन गर्न कार्यक्रमले सहयोग पुर्याउने छ।
नवजात शिशु तथा मृत शिशु संख्यामा कमी आएको तथ्यांकको आधारमा यो कार्यक्रम जिल्लाका अन्य अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र तथा हेल्थपोस्टहरुमा समेत विस्तार हुने गुरुङले बताइन्। कार्यक्रमपश्चात् नवजात शिशु तथा मृत शिशुहरुको संख्यामा कमी आउने उनको भनाइ छ।
नेपालमा हरेक वर्ष ६ लाख बच्चा जन्मन्छन्। तीमध्ये ११ हजार शिशु मृत अवस्थामा जन्मन्छन् भने करिब १३ हजार नवजात शिशु जन्मेको एक महिना नपुग्दै मर्छन्। करिब १७ प्रतिशत शिशु जन्मेको पहिलो घन्टामा, ५७ प्रतिशत शिशु जन्मेको पहिलो दिनमा र ७९ प्रतिशत जन्मेको पहिलो हप्तामा मर्ने गर्छन्।
नवजात शिशु मृत्युको कारणमध्ये महिना नपुगी जन्मनु (३१ प्रतिशत) जन्मनासाथ श्वास फेर्न नसक्नु (२३ प्रतिशत) तथा संक्रमण हुनु (१९ प्रतिशत) प्रमुख रहेको संस्थाले जनाएको छ।
सरकारले हाल रहेको नवजात शिशु मृत्युदर प्रतिहजार २१ लाई सन् २०३० सम्ममा प्रतिहजार जीवित जन्ममा १२ र मृत जन्मने शिशुको दर प्रतिहजार जन्मलाई १३ मा घटाउने लक्ष्य अघि सारेकोे छ।
सुसार कार्यक्रमले प्रसूति सेवालाई प्रभावकारी ढंगले निगरानी गर्न, सेवा प्रदान गर्न तथा समयमा नै उचित निर्णय लिन स्वास्थ्यकर्मीलाई सशक्त बनाउने विश्वास अस्पतालका मेसु श्रीराम तिवारीले विश्वास लिएका छन्।
सुसार कार्यक्रम ७ प्रदेशका ८ वटा सरकारी अस्पतालमा सञ्चालन भइरहेको छ। यी अस्पतालहरु कोशी अस्पताल, जनकपुर अस्पताल, भरतपुर अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल, भेरी अस्पताल, प्रदेश अस्पताल कर्णाली, सेती अस्पताल र डडेल्धुरा अस्पताल हुन्।