भान्सामै औषधी

कोरोनाका सन्दर्भमा बेसारको महत्व र वैज्ञानिक आधार

डा कोपिला अधिकारी

हरिद्रा कान्चनी पीता निशाऽऽख्या वरवर्णिनी।
कृमिघ्नी हलदी योषित्प्रिया हट्टविलासिनी॥१९६॥
हरिद्रा कटुका तिक्ता रूक्षोष्णा कफपित्तनुत्।
वर्ण्या त्वग्दोषमेहास्रशोथपाण्डुव्रणापहा॥१९७॥
- भाव प्रकाश निघंटू 

बेसारको संस्कृत नाम हरिद्रा, क्रिमिघ्नी, निशा हो। यसलाई अंग्रेजीमा टर्मेरिक/करकुमा भनिन्छ। वज्ञानिक नाम करकुमा लंगा। आयुर्वेदका प्राचीन, अर्वाचीन र आधुनिक ग्रन्थहरुमा यसको प्रशस्त महिमा एवं प्रयोग गरेको पाइन्छ।

विशेषत: व्याधिक्षमत्त्व एवं रोग प्रतिरोधात्मक क्षमता वृद्धि, प्रतिश्याय, प्रमेह, पाण्डु, व्रण, कृमी नाश, सौन्दर्य वृद्धि, छालाका रोगहरुमा यसको प्रयोग गरिन्छ। नसर्ने रोगको प्रकोपसँगै यसको प्रयोग एवं महत्व एसियाली एवं पश्चिमा मुलुकहरुमा पनि बढ्दै गएको पाइन्छ। 

आयुर्वेद अनुसार हरिद्राको गुण कर्म: रस: तिक्त, कटु, गुण: लघु, रुक्ष, विर्य: उष्ण, विपाक: कटु, दोषकर्म: कफपित्तशामक, प्रयोज्य अङ्ग: कंद, मात्रा: ताजा स्वरस १०-१२ मिली, चुर्ण १-२ ग्राम। अनुपान: तातो पानी, दूध। 

मुख्य रासानयिक घटक तत्व: कर्कुमिनोइड, ओलिओरेजिन, कर्कुमिन, उडनशील एवं सुगन्धित तेल, ए-टरमेरन, एर-टरमेरन।

हरिद्राको कर्म (फर्माकोलोजिकल एक्सन): आयुर्वेद सिद्धान्त अनुसार हरिद्राले लेखनीय, कुष्ठघ्न, विशघ्न कर्म गर्छ। आधुनिक अनुसन्धानबाट पुष्टि भए अनुसार हरिद्रामा ट्युमर, क्यान्सर विरुद्ध लड्ने क्षमता हुन्छ। मष्तिस्कको ट्युमर रोकथामका लागि बेसारलाई तातो दूधमा फेटेर खानु उत्तम मानिन्छ। शुद्ध कर्कुमिन आन्द्राबाट ६० देखि ६५ प्रतिशतसम्म शोषित हुन्छ। वैज्ञानिक सोधहरुमा प्रकाशित तथ्यांकअनुसार हरिद्रामा भएका रासायनिक तत्वहरुमा नाकको एलर्जी, घाँटीको संक्रमण, ब्रोंकाइटिस, नेत्राभिष्यंद, जीर्ण व्रण, ढुसीजन्य संक्रमण, क्यान्सर विरुद्द लड्ने क्षमता हुन्छ। 

रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न हरिद्राको भूमिका
हरिद्रामा रहेको कर्कुमिनोइड, ओलिओरेजिन, कर्कुमिन, उडनशील एवं सुगन्धित तेल, ए-टरमेरन, एर-टरमेरनले शरीरमा व्याधिक्षमत्व/रोग प्रतिरोधात्मक क्षमता/इम्युनिटी पावर वृद्धि गर्न प्रमुख भूमिका खेल्छ। कोरोना संक्रमित व्यक्तिहरुको प्रयोगशाला परीक्षणबाट संक्रमणको पहिलो हप्तामा सेतो एवं रातो रक्तकोषिका, हेमोग्लोबिनको संख्या घटेको पाइएको छ। जसले गर्दा संक्रमित व्यक्तिमा खतराका लक्षणहरु देखिन सक्छ। साथै रोगसँग लड्ने क्षमता राम्रो भएको व्यक्तिमा दोस्रो हप्तादेखि सो संख्यामा वृद्धि भएको र खतराका चिह्नहरु पनि नदेखिएको पाइएको छ। यसबाट रोगसँग लड्ने क्षमता वृद्धि गर्नु जरुरी भएको पुष्टि हुन्छ।

यसअघि सन् २०१९ मा प्रयोगशालामा मुसामा गरिएको एक परीक्षणमा हरिद्रामा रहेको रोगसँग लड्ने क्षमता वृद्धि गर्ने तत्व कर्कुमिनको प्रयोगबाट एफ्लोटक्सिन नामक हानिकारक तत्वको प्रयोगबाट घटेको सेतो एवं रातो रक्तकोशिका, प्याक्ड सेल भल्युमको संख्यामा वृद्धि भएको पाइएको छ। 

यसबाट खाद्य एवं पेय पदार्थको साथमा हरिद्रा/बेसारको नियमित प्रयोगले शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न मद्दत पुग्ने कुराको पुष्टि हुन्। आयुर्वेदका ग्रन्थहरुमा पाण्डु (आधुनिक चिकित्सा पद्दति अनुसार रक्ताल्पता) को अवस्थामा शरीर कमजोर भई रोगसँग लड्ने क्षमता घट्ने हुनाले सो अवस्थामा शरीरमा रक्त कोषिकाको वृद्धिका लागि हरिद्राको प्रयोग गरेको पाइन्छ। सो अभ्यास नियमित रुपमा आजका दिनमा पनि प्रभावकारी रुपमा गरिंदै आइएको छ।

भाइरस विरुद्ध हरिद्राको भूमिका
विभिन्न अनुसन्धानबाट पुष्टि भए अनुसार हरिद्राको प्रयोग हेपाटाइटिस बी भाइरस, पारा इन्फ़्लुएन्ज़ा भाइरस टाइप ३,  रेस्पिरेटरी सिनसाइटल भाइरस (आएएसभी), इन्फ़्लुएन्जा भाइरस पिआर८, एच१एच१, एच६एन१ विरुद्द प्रभावकारी रहेको पाइएको छ। यसमा विशेषगरी कर्कुमिन लगायत रासायनिक सक्रिय तत्वको मुख्य भूमिका रहेको हुन्छ, जसले शरीरमा भाइरसको वृद्धि एवं प्रभावलाई निस्तेज पार्छ। 

कोभिड-१९ सँग सम्बन्धित केही पछिल्ला अनुसन्धान
हरिद्रामा रहेको कर्कुमिन तत्वले स्पाइक ग्लाइको प्रोटिनसँग सक्रिय रुपमा अन्तर्क्रिया गर्ने हुनाले यसको बारेमा विभिन्न थप अनुसन्धानहरु भइरहेका छन्। 

हरिद्राको नियमित सेवन सुरक्षित छ?
यस सम्बन्धी भएका केही अनुसन्धानबाट हरिद्राको नियमित सेवन सुरक्षित रहेको पाइएको छ। यसले कलेजोका कोषिकाहरुलाई निष्क्रिय हुनबाट जोगाउने तथ्य अनुसन्धानले देखाएको छ। 

सावधानी 
पित्तथैलीको पत्थरी भएका, एस्पिरिन, वार्फारिनको नियमित सेवन गर्ने व्यक्तिले बेसारको सेवन सावधानीपूर्वक कम मात्रा गर्नुपर्छ। 

निष्कर्ष 
कोरोना भाइरसको सन्दर्भमा कुरा गर्नुपर्दा यो नयाँ प्रजातिको भाइरस भएकोले हालसम्म यसको कुनै खोप वा निश्चित उपचार विधि पत्ता लागिसकेको छैन। यसको उपचारको क्रममा परीक्षणकै रुपमा विभिन्न मुलुकले फरकफरक किसिमका उपचार विधि प्रयोग गर्दै आएका छन्। 

विश्व स्वास्थ्य संगठनले पनि यसको उपचार विधि यही हो भनेर यकिन गरेर भन्न सक्ने अवस्था छैन। यस्तो अवस्थामा धेरै मुलुकले आआफ्नो मौलिक चिकित्सा पद्दतिको प्रयोगबाट आंशिक लाभ लिइरहेको अवस्था छ। उदाहरणको लागि छिमेकी मुलुक भारतले आयुर्वेद, योग र चीनले परम्परागत चिनियाँ उपचार पद्दतिको प्रयोगबाट कोरोना भाइरस एक्टिभ केस संख्यामा उल्लेखनीय गिरावट ल्याउन सफल भएका छन्।

तसर्थ हामीले पनि नेपालमा उपलब्ध हरिद्रा/बेसार, तुलसी लगायत भाइरस विरुद्द सक्रिय औषधीय गुण भएका एवं गुर्जो, अश्वगन्धा लगायत रोगसँग लड्ने क्षमता बढाउने खालका जडिबुटीको नियमित सेवन, योग, प्रणायामको नियमित अभ्यास, स्वस्थ आहार एवं जीवनशैलीको अवलम्बन गर्नुपर्छ। 

(डा अधिकारी आयुर्वेद चिकित्सक हुन्)

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने