कोभिड-१९ विशेष

कोरोना कहरमा हर्ट–अट्याकका बिरामी कति जोखिममा?

प्राडा श्यामराज रेग्मी

एक हप्ता अघिको कुरा हो। रातको दस बज्दै थियो। खाना खाएर टिभीमा च्यानल घुमाउँदै थिएँ। मोबाइलमा घन्टी बज्यो। ड्युटी डाक्टरको फोन रहेछ।

‘सर, वीरगञ्जबाट बिरामी आएको छ। हर्ट–अट्याकको साथमा मुटुको चाल साह्रै थोरै छ, ज्वरो, रुघा, खोकी त छैन। अरु बेला भए त केही थिएन, हामी तुरुन्तै क्याथ–ल्याबको टिम परिचालन गथ्र्यौं र धेरैजसो बिरामीको ज्यान बचाउँथ्यौँ तर समय कोरोनाको पर्यो‍,’ फोनमा आवाज सुन्दा मन चसक्क भयो। श्रीमती र छोरासँग सल्लाह गर्न पनि अप्ठ्यारो लाग्यो।

कर्तव्य त एकातिर छँदै छ, क्याथ–ल्याब टिम एउटै मात्रै छ। कदाचित दुई हप्ता क्वारेन्टाइनमा जानुपर्‍यो भने अरु कति कोरोना नभएका बिरामीले उपचार नपाएर ज्यान गुमाउनुपर्ने हो? यस्तै सोच्दै थिएँ। तल अस्पतालको गाडी आएर हर्न बजाउन थाल्यो र लागेँ अस्पतालतिर। 

किन भयो त यस्तो? अझ कति दिन यस्तै रहने हो? कहिलेसम्म हामीले डरैडरमा बिरामीको उपचार गर्नुपर्ने हो? यी प्रश्नको उत्तर सहज छैन तापनि प्रस्तुत लेखमा यसका केही पक्षमा प्रकाश पार्ने प्रयत्न गरिने छ। 

के सम्बन्ध छ त कोरोना भाइरस र मुटुरोग को?
कोरोना मात्रैले मात्र होइन, अन्य धेरै प्रकारका भाइरसले मुटुको मांसपेसी तहमा असर गर्छ। चीनको वुहानबाट प्राप्त तथ्यको आधारमा भन्नुपर्दा कोरोना भाइरसले ६५ वर्षमाथिका हर्ट–अट्याक सम्बन्धी रोग भएका मानिसलाई बढी कडा लक्षण देखाएको पाइयो। यस्ता रोगीको संख्या करिब ४० प्रतिशत थियो।

कोरोनाले प्रमुख रुपमा फोक्सोमा असर गर्ने भए पनि यसले खासगरी पहिल्यै कुनै मुटुरोग भएका बिरामीमा मुटुरोगको लक्षण बढाएको पाइयो। वुहानभित्र मृत्युदर २–४ प्रतिशत र वुहान बाहिर १ प्रतिशतभन्दा कम मृत्युदर भएको अवस्थामा मुटुरोग भएका बिरामीमा मृत्युदर १० प्रतिशतभन्दा बढी पाइयो। 

उच्च रक्तचाको औषधि एसिइएल र एआरबीलाई के गर्ने? (दुई धारे तरबार)
यी औषधिले रक्तनलीलाई फुलाएर रक्तचाप कम गर्छन् भने मुटुको बिरामीमा मुटुको बिग्रेको काम सुधार गर्न मद्दत गर्छन्। यी औषधिले एसिई२ बन्द गर्दा त्यसको बदलामा धेरै एसिई२ पैदा हुन्छन् र कोरोना भाइरसलाई मुटु र फोक्सो लगायत अन्य अंगमा पनि कोष भित्र छिर्न मद्दत गर्छन्। तर अर्कोतिर यिनले मुटु र फोक्सोका कोषहरुलाई मर्नबाट बचाउँछन्। यसैले दुई धारे तरबार भनेको हो। प्रयोगको सम्बन्धमा हालसम्म प्राप्त प्रमाण अनुसार यी औषधि खाइरहेका बिरामीले यसको निरन्तरता दिनु नै उत्तम मानिएको छ। किनभने यिनको बिगार्नेभन्दा बचाउने असर धेरै देखिएको छ। 

उपचार र रोकथाम कसरी गर्ने?
कोरोना भाइरसको उपचारमा हालसम्म कुनै औषधि वा भ्याक्सिन बनेको छैन। यसको कारण यसको वनावटमा तुरुन्तातुरुन्तै फेरबदल भइरहनु हो। भविष्यमा औषधि वा भ्याक्सिन बनिहाले पनि हामी यसबाट पूर्णतः सुरक्षित हुन्छौँ भन्ने छैन। यो तथ्य कोरोना भाइरसको मात्रै नभएर धेरैखाले भाइरसको इन्फेक्सनमा काम लाग्छ।

हामीले सुनेका एड्स, हेपाटाइटिस लगायतका धेरै भाइरसको प्रकृति पनि यस्तैयस्तै हो। अहिले महामारीको रुपमा देखिएको यो भाइरसको कुनै रुप दीर्घकालीन पनि हुनसक्छ। तसर्थ यसको उपचार निम्न चरणमा गर्न सकिन्छः 
१. कोरोना संक्रमण भई लक्षण देखिएको बिरामीमा सबभन्दा धेरै असर हुने अंग फोक्सो हो। यसको उपचार भनेको आफैं आफ्नो शरीरको रोग प्रतिरोधात्मक शक्ति बढाएरै संक्रमण निर्मूल गर्नु र बिग्रेको फोक्सो क्रमशः स्वस्थ हुँदै जानु नै हो। यसको लागि एकदेखि दुई हप्ता लाग्न सक्छ। यस बीचमा फोक्सो फेल भएर बिरामीको मृत्यु हुन पनि सक्छ। यो बेला फोक्सोको काम सघाउने मेसिन भनेको भेन्टिलेटर नै हो। एक–दुई हप्ता भेन्टिलेटरले सपोर्ट गर्न सकियो र यही बेला हाम्रो इम्युनिटीले कोरोनालाई जित्यो भने उपचार सफल भयो। 

२. कोरोना संक्रमण देखियो तर लक्षण छैन भने यस्तो अवस्थामा संक्रमितलाई अरुलाई नसारोस् भनेर आइसोलेसनमा राख्ने हो। २–३ हप्तामा या त लक्षण देखिएर माथिको प्रक्रियामा जान्छ वा निको भएर घर जान्छ। यो ‘पर्ख र हेर’ को नीति हो। 

३. कोरोना नलागोस् वा समुदायमा नफैलियोस् भनेर रोकथामका विधि अपनाउने हो। आरडिटी–पिसिआर जस्ता टेस्ट, क्वारेन्टाइन, सम्भाव्य संक्रमितको ट्रेसिङ र टेस्टिङ, लकडाउन, भौतिक दूरी मास्क÷सेनिटाइजरको प्रयोग, साबुन पानीले हात धुने आदि कार्यहरु यस अन्तर्गत पर्छन। टेस्ट गरेर रोग पत्ता लगाई रोगीलाई आइसोलेसनमा राखेर समुदायमा रोग फैलिन दिइँदैन। तसर्थ जति धेरै टेस्ट गर्न सकियो त्यति धेरै रोकथाम प्रभावकारी हुन्छ। 

सुरुको अवस्थामा उपचार प्रक्रिया कसरी अघि बढाउने त? 
यो अवस्था भनेको बिरामीलाई कोरोना संक्रमण पुष्टि भएको त छैन तर कोरोना व्यापक फैलिएको क्षेत्रबाट आएको छ। हामी चिकित्साकर्मीको पनि कोरोना टेस्ट भएको छैन। त्यसैले हामीले बिरामीलाई रोग सार्न पनि सक्छौँ वा बिरामीले हामीलाई सार्न पनि सक्छ वा दुवै पक्षमा रोग नहुन पनि सक्छ। शंकामा धेरै डराएर उपचार नगर्दा बचाउन सकिने बिरामीको ज्यान जान सक्छ भने धेरै सुरो भएर उपचार गर्न खोज्दा आफू लगायत क्याथ–ल्याब टिम, सिसियु टिम र घरपरिवार जोखिममा पर्न सक्छ। चिकित्साकर्मीमा पनि उच्च रक्तचाप, मधुमेह, दम, कलेजो, मिर्गाैला जस्ता इम्युनिटी कम पार्ने रोग हुन सक्छन्, जसलाई कोरोनाले छिटो संक्रमण गर्नसक्छ। बुझ्नुपर्ने कुरा के हो भने पिपिईको प्रयोग पूर्ण सुरक्षा होइन। 

सरकारी होस् वा निजी अस्पताल, यस्तो बिरामीको उपचार हालको महामारीको बेलामा गर्न दुई कुरा सहज रुपमा उपलब्ध हुनैपर्छ। पहिलो पिसिआर टेस्ट नै हो। हुन त यो पनि ७० प्रतिशत मात्रै सत्य हुन्छ। तापनि यो नेगेटिभ हुँदा रोग नहुने सम्भावना धेरै भयो। योसँगै पिपिई प्रयोग गरेर एन्जियोपल्स्टी गर्दा चिकित्साकर्मी पनि धेरै सुरक्षित हुने अवस्था आउँछ।

पिसिआर टेस्टको रिजल्ट हालको अवस्थामा सहज छैन। यसर्थ हामीले साधारण पिपिईको भरमा उक्त बिरामीको एन्जियोपाल्स्टी चितवन मेडिकल कलेजमा ग¥यौं र बिरामी बचायौँ। भोलिपल्ट पिसिआर टेस्ट टेगेटिभ थियो र बल्ल सन्तोषले सुत्न सक्यौँ। बिरामी पनि डिस्चार्ज ग¥यौँ। यसरी डरैडरमा पनि लकडाउन अवधिमा हामीले चितवन मेडिकल कलेज (सिएमसी) मा १५० भन्दा बढी बिरामीको मुटुको एन्जियोग्राफी÷एन्जियोपल्टी जस्ता प्रक्रिया अपनायौं। धन्य अहिलेसम्म सुरक्षित नै छौँ। 

चुनौती
उपचार गर्ने हकमा चुनौतीको कुरा गर्दा कोरोना संक्रमित हो कि होइन भन्ने नै हो। यहाँनिर रोकथामको अन्य उपायको साथमा टेस्ट नै हुनुप¥यो र रिपोर्ट नै चाहियो। जस्तो हामी सबैलाई एचआईभी, एचबिएकएजी, एचसिभीको टेस्ट गराउँछौं। एक घन्टाभित्र रिपोर्ट पाउँछौ र बिरामीलाई उपचारको प्रक्रियामा लैजान्छौँ। त्यस्तैगरी कोरोनाको टेस्टमा पनि इमर्जेन्सीमा तुरुन्त उपलब्ध हुनुपर्छ। जसले गर्दा डरको कारण कोरोना संक्रमितको मृत्यु नहोस् र कोरोना नलागेका अन्य बिरामीले पनि सहज रुपमा उपचार पाउने अवस्था बनोस्। 

अन्त्यमा, फोक्सोसँगै मुटुको काम पनि जोडिएको हुनाले कोरोना संक्रमितको उपचार गर्दा धेरैमा मुटुरोगको उपचार पनि जोडिएको हुन्छ। कोरोना संक्रमण पत्ता लगाउने टेस्ट पिसिआर वा भविष्यमा एलाइजा जस्तो कुनै सहज टेस्ट उपलब्ध भएमा सो पनि इमर्जेन्सी रोगको उपचार गर्ने सबै स्वास्थ्य संस्थाको सहज पहुँचमा उपलब्ध हुन जरुरी छ।

यो सुविधा उपलब्ध नहुँदासम्म ‘कोरोनाको डरले अस्पतालहरुले उपचार नगरेर कोरोना संक्रमण नभएका बिरामीको मृत्यु’ भन्ने समाचार दुखद रुपमा कहीँ न कहीँ सुनिने छ। चिकित्सककर्मी र बिरामी दुवैको सुरक्षामा ध्यान दिउँ। हामी चिकित्सककर्मी पनि आफ्नो दायित्वबाट पछि हट्दैनौँ। कोरोनाको कारण कुनै पनि मुटुरोगीले अकालमा ज्यान गुमाउन नपरोस्। टेस्टको दायरा र उपलब्धता बढाउनु नै आजको आवश्यकता हो। 

सिएमसीमा हालसम्म कुनै पनि कोरोना संक्रमितको मुटुको उपचार गर्नु परेको त छैन, परेमा गर्न तयार छौँ। पहिला नै थाहा भए उपचार गर्न सहज हुन्छ। स्वास्थ्य टिमको पनि टेस्ट र बिरामीको पनि टेस्ट हुने अवस्था भए अझ सहज हुन्छ। 

(वरिष्ठ मुटुरोग विशेषज्ञ डा रेग्मी चितवन मेडिकल कलेज भरतपुर, चितवनका मेडिसिन विभाग प्रमुख हुन्।) 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने