काठमाडौं– बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीले प्रतिष्ठानमा आन्दोलनरत संयुक्त संघर्ष समितिलाई वार्ताका लागि आह्वान गरेका छन्।
प्राडा गिरीले बिहीबार अपिल पत्र सार्वजनिक गर्दै प्रतिष्ठानमा आन्दोलरत पक्षले राखेको १२ बुँदे मागहरु सम्बोधन गर्ने भन्दै वार्ताका लागि आह्वान गरेका हुन्।
उनले प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति, सहकुलपति, प्रतिष्ठान सञ्चालक परिषद्का समस्यहरु, प्रतिष्ठानका प्राध्यापक, कर्मचारी, विद्यार्थी र अभिभावक, राजनैतिक, प्राज्ञिक नेतृत्व, नागरिक समाज सबैलाई सम्बोधन गर्दै छलफलका लागि आउन पनि आग्रह गरेका छन्।
संयुक्त संघर्ष समितिले राखेका मागहरु नै आफ्नो कार्ययोजनाका क्षेत्रमा रहेका भन्दै प्रतिष्ठानको शुद्धीकरणको अभियान आफ्नो पनि भएको बताएका छन्।
उनले आन्दोलनरत पक्षले राखेका माग सम्बोधनका लागि वार्ता गर्न उच्चस्तरीय समिति गठन गरिदिन सरकारलाई आग्रह समेत गरेका छन्।
प्रतिष्ठानका कामलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्ट्राचारमुक्त, जनउत्तरदायी र सुशासनको प्रत्याभूति गराउने प्रतिष्ठान सुशासन प्रवद्र्धन सम्बन्धी नीति तर्जुमा गरी कार्यान्वयमा लगिने प्रतिवद्धता समेत उनले अपिल मार्फत जनाएका छन्।
प्राडा गिरीले प्रतिष्ठान सुद्धिकरणको अभियान सहित १२ बुँदे मा राखेका आन्दोलनरत पक्षको १२ वटै माग सम्बोधनका लागि संस्थाथत धारणा समेत राखेका छन्।
उनले आन्दोलनरत पक्षको माग अनुसार मासिक आय व्यय प्रतिष्ठानको वेवसाइडमा राख्ने व्यवस्था मिलाउने र प्रगति विवरण हरेक ३–३ महिनामा पदाधिकारी एवं सम्बन्धित विभागका प्रमुखहरु लगायत प्रतिष्ठानका शिक्षक, कर्मचारीका आधिकारीक समाजका प्रतिनिधिहरु बीच प्रस्तुत गर्ने, हरेक स्टोर एकद्धार प्रणालीबाट सञ्चालन गरी सफ्टवेयर अपडेट गरी इन्टर लिंक गर्ने जनाएका छन्।
यस्तै प्रतिष्ठानको ल्याबहरुको क्षमता, गुणस्तर र प्रविधि अभिवृद्धि गर्न पुराना मेशिन उपकरण मर्मत संभार तथा युएसजी लगायतका नयाँ अन्य अत्याधुनिक मेसिन उपकरण खरिद प्रक्रिया अघि बढाइ सकिएको जानकारी दिएका छन्।
अस्पताल फार्मेसी तत्काल सञ्चालन गर्न उपसमिति गठन गरिने, अनियमितता र भ्रष्ट्राचारका उजुरीहरु छिटो टुंगो लगाउन आवश्यक सहजीकरण गर्ने, कोभिडमा खटिएका जोखिम भत्ता उपलब्ध गराइने, आवासीय चिकित्सक आगामी भदौ महिना भित्रमा सञ्चालन गरिने, प्रतिष्ठानमा कार्यरत सम्पूर्ण शिक्षण, कर्मचारीहरुको कार्यसम्पादन मुल्यांकन गरी अभिलेखिकरण गर्ने व्यवस्था मिलाउने र हरेक शाखा तथा विभागको मासिक प्रगति विवतरका लागि सबै शाखा तथा विभागहरुसँग आश्वयक समन्वय गरी विवरण तयार पारिने र प्रत्येक हप्ताको आइतबार क्लिनिकल अडिट गर्ने पनि अपिलमा जनाएका छन्।