काठमाडौं- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र सरकारी छानबिन टोलीबीच सोमबार औपचारिक छलफल भएको छ। छलफलमा आन्दोलनरत पक्षले आफ्ना १२ बुँदे मागका विषयमा जानकारी दिएका थिए। सो क्रममा आन्दोलनरत पक्षले तत्कालै तीन वटा माग पूरा गर्न जोड दिएका छन्।
प्रतिष्ठान सुद्धिकरण अभियान, संयुक्त संघर्ष समितिका तर्फबाट छलफलमा बसेका प्रतिनिधिले चिकित्सा शिक्षा आयोग र सम्बन्धित काउन्सिलले तोकेका निश्चित मापदण्ड समेत पूरा नभएको भन्ने सम्बन्धमा सम्बन्धित नियामक निकायलाई तत्काल निरिक्षण गर्न लगाउने, असार १५ गते उपकूलपति कार्यालयमा घटेको घटनाको तत्काल छानबिन प्रक्रिया अघि बढाउने र प्रतिष्ठानका उपकुलपतिको प्राध्यापक पदको सम्बन्धमा सत्यतथ्य तत्काल सार्वजनिक गर्ने तीन वटा माग तत्कालै पूरा गर्न जोड दिएका हुन्। यसका साथै उनीहरुले अन्य मागका विषयमा पनि टोलीलाई जानकारी गराएको संयुक्त संघर्ष समितिका संयोजक डा अमृत जैसीले जानकारी दिए।
उनका अनुसार छलफलपछि समितिले साउन १ गतेदेखि जारी राखेको कोभिड, इमर्जेन्सी र पुर्व निर्धारित परीक्षा बाहेकका कुनै पनि कार्यमा असहयोग गर्ने कार्यक्रमलाई भने फिर्ता लिएको छ।
प्रधानमन्त्री शेरबादुर देउवाले प्रधानमन्त्री कार्यालयका सचिव बैकुण्ठ अर्याल नेतृत्वको नौ सदस्यीय छानबिन टोली गठन गरेका थिए। टोलीले सोमबार प्रतिष्ठानका आन्दोलनरत पक्षसँग छलफल गर्दै उनीहरुका मागका विषयमा कम अगाडि बढाएपछि असहयोगका कार्यक्रमलाई फिर्ता लिएका हुन्। तर माग पूरा नभएसम्म आन्दोलन भने जारी रहेको समितिले जनाएको छ।
प्रतिष्ठानमा असार १ गतेदेखि आन्दोलन भइरहेको छ।
यस्तो छ समितिले जारी गरेको विज्ञप्ति
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धीकरण अभियानको ३५औं दिन सम्माननीय प्रधानमन्त्री ज्यूले गठन गर्नुभएको प्रधानमन्त्री एवम् मन्त्रीपरिषदका वरिष्ठ सचिव डा. बैकुण्ठ अर्याल ज्युको संयोजकत्वको छानविन समितिसँग पहिलो चरणको अन्तरकृया सौहार्दपूर्ण भएको छ। हामीले उठाएका विषयमा ढिलै भएपनि सरकारले सुन्ने र बुझ्ने अग्रसरता देखाउनुलाई हामीले सकारात्मकरुपमा ग्रहण गरेका छौँ। यसलाई खुला हृदयले स्वागत एवम् सहयोग गरी निर्दिष्ट लक्ष्यउन्मुख रहन हामी कटिबद्ध रहेको पनि सम्पूर्ण सबैमा जानकारी गराउन चाहन्छौं।
यद्यपि, हामीले उठाएका विषयमा छानबिन कमिटिको अध्ययनपश्चात् तयार प्रतिवेदन सार्वजनिक गरी लागु नहुँदासम्म आन्दोलनका र खबरदारीका कार्यक्रमहरु जारी रहने प्रष्ट पार्न चाहन्छौं।
पहिलो चरणको छलफलपश्चात् हामीले उठाएका विषयवस्तुहरूको सम्बोधन हुने कुरामा आशावादी रहेतापनि पटक पटक बनेका छानबिन कमिटिका प्रतिवेदन नै सार्वजनिक नहुने दृष्टान्त पनि हामीले बिर्सेका छैनौँ। यस् उच्चस्तरीय छानबिन कमिटीले काम गर्न सहज वातावरण होस, विश्वासको वातावरण बनोस र बिरामीले दुख पाउन नपरोस भन्नेहेतुले भोलिबाट हामीले पुर्व निर्धारित आन्दोलनका कार्यक्रमहरूलाई केही परिमार्जित गरेका छौं। आन्दोलनका कार्यक्रम बिहान ८-१० बजे सम्म उपकुलपति कार्यालय अगाडी प्रदर्शन गर्ने, पदाधिकारीको कार्यकक्षमा तालाबन्दी लगायतका कार्यक्रम यथावत् राखी विहान ८-१० सम्म कोभिड, इमर्जेन्सी र पुर्व निर्धारित परीक्षा बाहेकका कुनै पनि कार्यमा असहयोग गर्ने कार्यक्रमलाई भने फिर्ता लिएको घोषणा गर्दछौं। यसैगरी, नेपाल सरकारले गठन गरेको यस उच्चस्तरीय छानबिन कमिटीले पनि अन्दोलनरत पक्षलाई विश्वासको वातावरण सृजना गर्न तत्काल गर्नसकिने निम्नलिखित कुराहरू सम्बोधन गर्नकालागि सार्वजनिक आव्हान गर्न चाहन्छौं :
१. प्रतिष्ठानको मुख्य उद्देश्य नै दक्ष जनशक्ति उत्पादन गर्ने रहेकाले हाल प्रतिष्ठानमा चिकित्सा शिक्षा आयोग र सम्बन्धित काउन्सिलले तोकेका निश्चित मापदण्ड समेत पूरा नभएको भन्ने सम्बन्धमा सम्बन्धित नियामक निकायलाई तत्काल निरिक्षण गर्न लगाउने।
२. असार १५ गते उपकूलपति कार्यालयमा घटेको घटनाको तत्काल छानबिन प्रक्रिया अघि बढाउने।
३. प्रतिष्ठानका उपकुलपति ज्यूको प्राध्यापक पदको सम्बन्धमा सत्यतथ्य तत्काल सार्वजनिक गर्ने।
अहिलेको यस् उच्चस्तरीय छानबिन कमिटिले आफ्नो अध्ययन गरिरहेको छ र प्रतिष्ठानको खास समस्याको पहिचान गरी अल्पकालीन र दीर्घकालीन समस्याका समाधनका उपायहरू सहित प्रतिवेदन आउनेछ भन्ने आशा कायमै छ।
तथापि, हामीले उठाएका मुख्य बिषयहरुको नीतिगत समाधनको निम्ति प्रतिष्ठान एवम् विश्वविद्यालयमा पदाधिकारी छनौट गर्दा निश्चित मापदण्डका आधारमा छनौट गरिनुपर्ने र नियमित रुपमा कार्यदक्षताको मुल्यांकन गर्नुपर्ने, छनौट भएका पदाधिकारीको प्रतिबद्धता सार्वजनिक गर्नुपर्ने, र अहिलेका चारै जना पदाधिकारीले कार्यदक्षता प्रस्तुत गर्न नसकेका कारण एवम् नैतिकताका आधारमा राजिनामा दिएर मार्ग प्रश्स्त गर्नुपर्ने कुरामा दृढ छौँ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुद्धिकरण अभियान,
संयुक्त संघर्ष समिति-२०७८