काठमाडौं– कोरोना संक्रमणका कारण विश्वमा २ करोड ३० लाख बालबालिका नियमति खोप पाउनबाट वञ्चित भएका छन्। विश्व स्वास्थ्य संगठन र युनिसेफद्वारा प्रकाशित तथ्यांक अनुसार सन् २०२० मा विश्वभर कोरोना संक्रमणका कारण २ करोड ३० लाख बालबालिकाले नियमित खोप पाउनबाट वञ्चित भएका हुन्। यीमध्ये करिब १ करोढ ७० लाख बालबालिकाले कुनै एक खोप पनि नपाएको बताइएको छ।
खोपबाट वञ्चित हुने धेरै बालबालिका द्धन्द्धगस्त समुदाय, सेवासुविधा नपुगेका दुर्गम क्षेत्र र सुकुम्बासी वस्तीका रहेका छन्। विश्व स्वास्थ्य संगठन र यूनिसेफको राष्ट्रिय खोप कभरेजको आधिकारिक अनुमानले १६० देशको तथ्यांकका आधारमा यो जानकारी सार्वजनिक गरेको हो।
यो तथ्यांकले विश्वभरका धेरै देशमा नियमित खोप कभरेज अघिल्लो वर्षहरु भन्दा पनि कमी आएको देखाएको छ।
विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस अद्हानोम घेब्रेयससले कोरोना खोप प्राप्तिका लागि आवाज उठाइरहदाँ नियमित खोपहरुमा पछाडि परिरहेको बताए। उनले नियमित खोप पाउनबाट वञ्चित हुँदा बालबालिकाहरु प्राण घातक तर खोपबाट बचाउन सकिने रोगहरु दादुरा, पोलियो र मेनिन्जाइटिस जस्ता रोगको जोखिममा परेको समेत बताए।
उनले भने,‘ त्यसैले तत्काल,बाल्यावस्थामा दिइने खोपहरुमा लगानी गरेर प्रत्येक बालबालिकामा खोपको सुनिश्चितता गर्नु अहिले झन् बढी जरुरी छ।’
सार्वजनिक तथ्यांक अनुसार दशौं लाख बालबालिका खोपको पहिलो मात्रा लगाउन छुटेकाको संख्या बढ्दै गएको छ भने त्यति नै संख्यामाा पछिल्लो खोपको मात्रा लिन पनि बालबालिका वञ्चित भएका छन्।
युनिसेफका कार्यकारी निर्देशक हेनरियट्टा फोरले तथ्यले अहिलेसम्म हालिस गरेको महत्वपूर्ण उपलब्धी गुम्ने स्पष्ट चेतावनी दिएको बताएकी छिन्।
उनले भनिन्,‘ कोभिड–१९ को महामारी सुरु हुनुअगाडि नै हामीले बालबालिकाहरूलाई खोपबाट बचाउन सकिने बाल्यकालिन अवस्थामा हुने रोगहरूबाट बचाउन पर्याप्त ध्यान दिन नसकेको चिन्ताजनक संकेत पाइएको थियो। जसमा दुई बर्ष अगाडि बृहत रुपमा फैलिएको दादुराको महामारीलाई समेत लिन सकिन्छ । अहिलेको कोभिड–१९को महामारीले यो अवस्थालाई झनै जटिल बनाएको छ ।