काठमाडौं- ‘अहिलेको पहिलो प्राथमिकता खोप, दोस्रो प्राथमिकता खोप र तेस्रो प्राथमिकता खोप। तीन वटा प्राथमिकता खोप, खोप, खोप। जिन्दगी बचाउनु सबैभन्दा ठूलो कुरा हो। हाम्रो प्राथमिकता भनेको खोपबाहेक अरू केही छैन।‘
यो भनाइ हो प्रधानमन्त्री शेरबहादुर देउवाको। संसदमा विश्वासको मत लिने क्रममा प्रधानमन्त्री देउवाले उक्त कुरा बताएका थिए।
असार २८ गते सर्वोच्च अदालतको परमादेशपछि २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले त्यसयता हरेक दिनजसो कोभिड खोप र स्वास्थ्य उपचारका विषयमा बोल्दै आइरहेका छन्।
प्रधानमन्त्रीका रुपमा आफ्नो पाँचौ कार्यकाल सुरु भएपछि उनले हरेक नेपालीले कोरोनाको खोप नि:शुल्क पाउने प्रतिवद्धता पनि जनाएका छन्।
प्रधानमन्त्री देउवाले स्वास्थ्यलाई प्राथमिकता दिएको जानकारी दिए पनि स्वास्थ्यमन्त्री भने नियुक्त गर्न सकेका छैनन्। कोरोना महामारीको समयमा प्रधानन्त्री नियुक्त भएकै दिन स्वास्थ्यमन्त्री पनि नियुक्त हुने अनुमान गरिएको थियो।
तर सरकार गठन भएको दुई साता पुग्न लाग्दा समेत स्वास्थ्यमन्त्री नियुक्त हुन नसक्नु दुखद भएको बताउँछन् जनस्वास्थ्य विज्ञहरु। १६ जना जनस्वास्थ्य विज्ञले त विज्ञप्ति नै निकालेर मन्त्री छिटो नियुक्त गर्न प्रधानमन्त्री देउवालाई सुझाव समेत दिएका छन्।
योग्यता र क्षमता भएको व्यक्तिलाई स्वास्थ्यमन्त्री नियुक्त गर्न सुझाव
कोभिड महामारीको यो समयमा पनि नयाँ सरकारले स्वास्थ्यमन्त्री नियुक्त नगर्दा सरकार यस विषयमा गम्भीर नदेखिएको भन्दै जनस्वास्थ्यविद्हरूले प्रधानमन्त्रीलाई तत्काल योग्य स्वास्थ्यमन्त्री नियुक्त गर्न सुझाव दिएका छन्।
‘योग्यता, क्षमता, सत्यनिष्ठा र इमान्दारिताको छवि भएको व्यक्तिलाई स्वास्थ्यमन्त्री तत्काल नियुक्त गर्नुहोस जसले राजनीतिक वृत, नागरिक समाज र स्वास्थ्यकर्मीहरु सबैको सुझाव सल्लाहलाई सम्मान र ग्रहण गर्न सकोस्’ जनस्वास्थ्य विज्ञहरुले प्रधानमन्त्रीलाई दिएको सुझावमा भनिएको छ।
डा महेश मास्के, कुलचन्द्र गौतम, डा रीता थापा, डा बद्रीराज पाण्डे, डा अरुणा उप्रेती डा शिवकुमार राई, डा छत्र अमात्य, डा शरद वन्त, डा अभिनव वैद्य, डा समीर दीक्षित, डा राजेन्द्र बीसी, डा तिर्थ राना, डा लोचना श्रेष्ठ, डा विन्ज्वला श्रेष्ठ, डा रजनी शाह र नारायण सुवेदीले उक्त सुझाव दिएका हुन्।
मन्त्री नहुँदा समस्या भयो: सचिव डा पोखरेल
महामारीको यो समयमा मन्त्रालयमा मन्त्री नहुँदा काममा समस्या परिरहेको स्वास्थ्य सचिव डा रोशन पोखरेल बताउँछन्। ‘कोभिड भ्याक्सिन ल्याउनेदेखि तेस्रो लहरको जोखिम न्यूनिकरण तथा व्यवस्थापनका लागि काम गर्नुपर्ने समयमा मन्त्री नहुँदा निकै समस्या परेको छ,’ उनले भने, ‘छिट्टै स्वास्थ्यमन्त्री नियुक्त भए हामीहरुलाई काम गर्न सहज हुने थियो।’
नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्की पनि महामारीको यो समयमा स्वास्थ्य मन्त्रालयलाई नेतृत्वविहिन बनाउन नहुने बताए। उनले अन्य मन्त्रालयको विषय टुंगिन बाँकी रहे पनि स्वास्थ्यलाई भने प्राथमिकता दिँदै छिट्टै मन्त्री नियुक्त हुनुपर्ने कुरामा जोड दिए।
तेस्रो लहरको जोखिम बढ्यो: स्वास्थ्य मन्त्रालय
देउवा प्रधानमन्त्री नियुक्त भएयताका १२ दिनको तथ्यांक हेर्दा नेपालमा कोरोना संक्रमण घटेको छैन। बरु उल्टै बढ्दो क्रममा छ। संक्रमण नघटेपछि स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस (कोभिड– १९) संक्रमणको तेस्रो लहर फैलिने जोखिम बढेको 'चेतावनी' दिएको छ।
मन्त्रालयले वक्तव्य नै जारी गर्दै संक्रमणको वढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहर आउन सक्ने 'चेतावनी' दिएको हो। तेस्रो लहरको जोखिम बढेकाले अस्पतालका शय्या र अक्सिजन चुस्त दुरुस्त राख्न पनि मन्त्रालयले आग्रह गरेको छ।
'संक्रमण जति घट्नु पर्ने हो त्यति घट्न सकिरहेको छैन। हाल निषेधाज्ञा खुकुलो भएको अवस्थामा अझैपनि वुझी नबुझी लुकिछिपी वा खुल्लमखुल्ला जनस्वास्थ्यका मापदण्डहरूको उलंघन भई रहेको देखिन्छ। विगत एक हप्तामा संक्रमित हुने दर बढ्दो क्रममा छ,' स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता समिर कुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
एकातिर संक्रमण बढ्दो क्रममा छ भने अर्को तर्फ ‘हरेक नेपालीको स्वास्थ्य अब सरकारको चासो हुन्छ’ भनेर लिखित प्रतिवद्धता सार्वजनिक गरेका प्रधानमन्त्री देउवाले स्वास्थ्यमन्त्री नियुक्त भने गर्न सकेका छैनन्।
यो पनि :
तेस्रो लहरको जोखिम बढेकाले अस्पतालका शय्या र अक्सिजन चुस्तदुरुस्त राखौं: स्वास्थ्य मन्त्रालय
प्रधानमन्त्री शेरबहादुर देउवालाई जनस्वास्थ्य विज्ञहरुले दिए कोभिड व्यवस्थापनका १८ बुँदे सुझाव