टालेगाउँ स्वास्थ्य चौकी कुशे गाउँपालिकाको वडा नम्बर २ मा पर्छ । जुम्ला जिल्लाको सिमानासँग जोडिएको भूगोलमा रहेको जाजरकोटका ३० वटा स्वास्थ्य चौकीमध्ये दुर्गमको स्वास्थ्य चौकी हो यो।
दुर्गममा स्वास्थ्य चौकी भएकाले आमजन स्वास्थ्य उपचारका लागि यही स्वास्थ्य संस्थामाथि भरोसा गर्छन् । आमजनको भरोसा टुट्न नदिने स्वास्थ्य चौकी टिमले सक्दो मिहिनेत गरिहेको छ । आफूले त्यहाँ दिन सक्ने सेवा त्यहीँ दिने र नसक्ने सेवाका लागि समयमै प्रेषण गर्ने गरेको छ । आफूले दिएको, दिन नसकेको र आइलागेका भवितव्यका बारेमा समयमै एकीकृत स्वास्थ्य सूचना प्रणालीमा प्रविष्ट गर्ने गरेको छ।
नेट, इन्टरनेट र मोबाइल नेटवर्कको भरपर्दो सेवाको अभावमा उक्त स्वास्थ्य चौकीले सूचना प्रविधिमा विश्वास गर्ने गरेको छ । सूचना आदान÷प्रदान गर्ने कार्य सकेसम्म समयमै र नियमित गर्ने प्रणालीको विकास गरेको छ । त्यसका लागि स्वास्थ्य चौकीले टोलतहसम्मको ‘नेटवर्क प्रणाली’को विकास गरेको छ ।
‘स्वास्थ्य समस्या देखिएको टोलको समस्यालाई यकिन गर्न स्वास्थ्य चौकीले महिला स्वास्थ्य स्वयंसेविका र त्यस टोलका विद्यालय शिक्षकहरुबाट सूचना लिने, त्यपछि फोकल पर्सन तथा स्वास्थ्यकर्मीलाई परिचालन गरी त्यस ठाउँको स्वास्थ्य समस्यालाई बुझेर गाउँ स्वास्थ्य शाखा, स्वास्थ्य सेवा कार्यालय र प्रदेश स्वास्थ्य निर्देशनालयमा सूचना दिने गरिएको छ,’ स्वास्थ्य चौकी प्रमुख शेरबहादुर बस्नेतले भने।
सूचना सञ्चार तथा प्रसारका लागि उपलब्ध सबै प्रकारका सेवाहरुको उपयोग संस्थाले गर्दै आएको छ । ‘समयमै सही सूचनाको आदान–प्रदानबाट विभिन्न प्रकोपजन्य जोखिमलाई न्यूनीकरण गर्न मद्दत पुग्ने मान्यतामा विश्वास छ,’ बस्नेतले भने।
दुर्गमको स्वास्थ्य चौकी भएकाले आफूले पढे÷जानेको सूचना र सेवा दिएर मात्रै पुग्दैन । आफूलाई विषयमा माथिल्लो तहका अधिकारी र विशेषज्ञसम्म प्रविधिमार्फत जानकारी लिन्छन् । त्यहीँ उपचार हुने बिरामीलाई सुझावअनुसार सेवा दिन्छन्, नहुने बिरामीलाई उचित सल्लाह र समन्वयसहित रिफर गर्ने गरिएको उनी बताउँछन्।
स्वास्थ्य चौकीले जटिल अवस्थाका बिरामीहरुलाई विशेषज्ञ चिकित्सकबाट परामर्श सेवा दिलाउन टालेगाउँ स्वास्थ्य चौकीले टेलिमेडिसन सेवा सञ्चालनमा ल्याएको छ । कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा कार्यरत विशेषज्ञ डाक्टरहरुबाट परामर्श सेवा दिलाउन स्वास्थ्य चौकीले टेलीमेडिसन सेवा सञ्चालनमा ल्याएको हो।
सुर्खेतमा कार्यरत टेलिमेडिसन फोकल पर्सन नरेन्द्र चन्दले प्रदेश अस्पताल कालागाउँ सुर्खेतका विशेषज्ञ डाक्टरसँग टालेगाउँ स्वास्थ्य चौकी र स्वास्थ्य चौकीका बिरामीलाई प्रविधिमार्फत जोड्ने गरेका छन्।
स्वास्थ्य चौकी प्रमुखको जिम्मेवारी बस्नेतले सम्हालेपछि यहाँको अवस्थामा परिवर्तन आएको हो।
२०७३ सालमा स्वास्थ्य सेवा प्रवेश गरेका बस्नेत २०७८ सालको वैशाखदेखि टालेगाउँ स्वास्थ्य चौकी प्रमुख छन् । सुदूरपश्चिम प्रदेशमा तीन वर्ष स्वास्थ्यकर्मीका रुपमा हासिल गरेको अनुभवलाई उनले यहाँ भरपुर मात्रामा प्रयोग गरिरहेका छन्।
२ हजार ८९३ कुल जनसंख्या रहेको वडाको टालेगाउँ स्वास्थ्य चौकीले छिमेकी वडा समेत गरी ३ हजार ५०० भन्दा बढी जनसंख्यालाई स्वास्थ्य सेवा दिँदै आएको छ । स्याक्री, रुमालगाउँ, काफलपाटा लगायतका छिमेकी वडाका नागरिकहरुले टालेगाउँ स्वास्थ्य चौकीबाटै स्वास्थ्य सेवा लिने गरेका छन् । औषधि, उपकरण, जनशक्ति र भौतिक संरचनाको अभावमा टालेगाउँ स्वास्थ्य चौकीले उपचार सेवा, कण्डम, पिल्स, डिपो सुई जस्ता परिवार नियोजन सेवा, मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा, सीबीआईएमएनसीआई, नियमित खोप, गाउँघर क्लिनिक, एएनसी, पोषण तथा ल्याब सेवा सञ्चालन गरेको छ।
कुशे गाउँपालिका वडा नम्बर २ मा १ वर्षमुनिका ६५ जना, १२ देखि २३ महिनासम्मका ९६ जना बालबालिका रहेका छन् भने ५ वर्षमुनिका २४३ जना बालबालिका रहेका छन् । १५ देखि ४५ वर्षसम्मका विवाहित महिलाको संख्या ७७४ जना रहेको छ भने गर्भवतीको संख्या १०३ रहेको छ।
पाँचौं तहका सिनियर अहेब बस्नेत कार्यालय प्रमुख रहेको स्वास्थ्य चौकीमा पाँचांै तहका सिनियर अनमी हृदयकुमारी सिंह, अनमी उषाकुमारी खड्का, अहेब कमला शाही, ल्याब असिस्टेन्ट मनिषा चन्द कार्यरत रहेका छन् भने श्रेणीविहीन कर्मचारीमा नरबहादुर सिंह र हरिकला सिंह रहेका छन्।
प्रत्येक महिनामा ७ देखि ८ जना महिलालाई दक्ष प्रसूतिकर्मीबाट प्रसूति सेवा दिइरहेको टालेगाउँ स्वास्थ्य चौकीबाट प्रतिमहिना ३० देखि ३५ जना ५ वर्षमुनिका बालबालिकाले स्वास्थ्य सेवा लिइरहेका छन् । प्रत्येक महिनाको १० र ११ गते खोप क्लिनिक सञ्चालन गर्दै आएको स्वास्थ्य चौकीले २५ देखि २८ जना बालबालिकालाई नियमित खोप सेवा दिने गरेको छ।
प्रत्येक महिनाको २१ गते सञ्चालन गरिने गाउँघर क्लिनिक सेवाबाट टालेगाउँ स्वास्थ्य चौकीले ३० देखि ४० जना सेवाग्राहीको गर्भ जाँच, कण्डम, पिल्स वितरण, डिपो सुई लगायतका उपचार सेवा दिने गरेको छ । एएनसी सेवा अन्तर्गत टालेगाउँ स्वास्थ्य चौकीले प्रत्येक दिन ९ देखि १२ जना महिलाको गर्भ जाँच गर्ने गरेको छ।
प्रत्येक महिनाको १० गतेलाई पोषण डे मनाउँदै आएको टालेगाउँ स्वास्थ्य चौकीले दुई वर्ष मुनिका बालबालिकाहरुको पोषण लेखाजोखा गर्ने, सुनौला हजार दिनका आमाहरुलाई पुरक खाना (पोषिलो जाउलो) बनाउने तरिका सम्बन्धी परामर्श दिनुका साथै डेमो प्रदर्शनी गर्ने गरेको छ।
२ वटा खोप क्लिनिक, १ वटा गाउँघर क्लिनिक सञ्चालन गर्दै आएको स्वास्थ्य चौकीले ८ जना महिला स्वास्थ्य स्वयंसेविकालाई परिचालन गर्ने गरेको छ भने त्यस स्वास्थ्य चौकीमा एक जना दक्ष प्रसूतिकर्मी कार्यरत छन्।
सेवा प्रवाहलाई व्यवस्थित गर्न कर्मचारीहरुको जिम्मेवारी बाँडफाँट गर्नुका साथै ड्युटी तालिका अनुसार काम गर्ने गरेको स्वास्थ्य चौकी प्रमुख बस्नेतले बताए । सेवा प्रवाहमा देखिएका समस्याहरुलाई स्टाफ बैठकबाट समाधान गर्ने गरिएको छ।
लबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र आपतकालीन सेवाग्राहीलाई पहिलो प्राथमिकतामा सेवा दिँदै आएको स्वास्थ्य चौकीले प्रत्येक महिनाको अन्तिम दिन अनिवार्य स्टाफ बैठक बस्ने गरेको छ।
स्वास्थ्य चौकीमा देखिएका समस्याहरुलाई स्वास्थ्य सञ्चालन तथा व्यवस्थापन समितिमार्फत समाधान गर्ने, समाधान गर्न सम्भव नभएका समस्यालाई स्वास्थ्य शाखा र गाउँपालिकाबाट समाधान गर्ने गरिएको छ।
कतिपय समस्याहरु सरोकारवाला निकाय र गैरसरकारी संघ÷संस्थाहरुसँगको समन्वय तथा सहकार्यबाट समाधान गर्ने गरिएको स्वास्थ्य चौकी प्रमुख बस्नेतले बताए।
प्रत्येक महिनाको २८ गते महिला स्वास्थ्य स्वयंसेविकाहरुको मासिक समीक्षा गर्नुका साथै स्वास्थ्य चौकीले खोप क्लिनिक, गाउँघर क्लिनिक, सामुदायिक स्वास्थ्य केन्द्रमा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई परिचालन गर्ने गरेको छ । पूर्णखोप घरधुरी सर्वेक्षण गर्नुका साथै भिटामिन ए, जुकाको औषधि खुवाउने, किशोरीहरुलाई आइरन तथा फोलिक एसिड चक्की वितरण गर्न स्वास्थ्य चौकीले महिला स्वास्थ्य स्वयंसेविकालाई परिचालन गर्ने गरेको छ।
कुशे गाउँपालिका–२ टालेगाउँ खुला दिसामुक्त, पूर्णखोप सुनिश्चित घोषणा भएको वडा भए तापनि पूर्ण सरसफाइ, पूर्ण संस्थागत प्रसूति वडा घोषणा हुन सकेको छैन । सुरक्षित खानेपानी योजना, बर्थिङ सेन्टर भएको स्वास्थ्य चौकी भए तापनि किशोर–किशोरी मैत्री, पोषण मैत्री भौतिक संरचना बन्न सकेको छैन ।
स्वास्थ्य चौकीमा सुरक्षित गर्भपतन सेवा केन्द्र पनि सञ्चालन हुन सकेको छैन । दरबन्दी अनुसारको जनशक्ति छैन । भवन तथा घेराबार, सुरक्षित पर्याप्त खानेपानी, खोप क्लिनिक, गाउँघर क्लिनिक भवन र स्वास्थ्य सामग्रीको अभावमै सेवा दिइरहेको छ यस स्वास्थ्य चौकीले।