प्रसूती तथा स्त्रीरोग विशेषज्ञ डा. संगिता कौशल मिश्राले लोक सेवा आयोगमा फर्जी बिवरण पेशगरी स्वास्थ्य सेवा ‘प्रमुख अब्स गाइनो समुह एघारौं तह’मा नियुक्त भएको पाइएको छ ।
अमेरिकामा एमपिएच गर्दै गरेको समयमा पनि विराटनगरस्थित नोबल मेडिकल कलेजमा कार्यरत रहेको फर्जी कागज मिश्राले लोक सेवामा पेश गरेकी छिन् । एघारौ तहमा प्रतिस्पर्धाका लागि न्यूनतम ७ वर्षको अनुभव हुनुपर्नेमा सो नपुग्ने भएपछि उनले गलत विवरण पेश गरेको भेटिएको छ ।
स्वास्थ्य खबरपत्रिकालाई प्राप्त कागजपत्रअनुसार डा. मिश्रले नोबलमा २४ महिना १४ दिन काम गरेको कागजात आयोगमा पेश छिन् । उनले नोबलमा सन् २००७ अगष्ट १० देखि २००९ अगष्ट २४ सम्म लेक्चररको रुपमा काम गरेको नक्कली बिवरण आयोगमा पेश गरेकी छिन् ।
उनी २००७ अगष्ट १० देखि सन् २००९ अगष्ट २४ सम्म अध्ययनका लागि अमेरिका थिइन् । उनले अमेरिकामा बसेर अध्ययन गरेको समयसमेत नोबलमा काम गरेको अनुभवमा जोडेकी छिन् । उनले अमेरिकाको जोन हप्किन्स् युनिभर्सिटिबाट मास्टर इन पब्लिक हेल्थ (एमपिएच)का लागि गएकी हुन् ।
तर उनले नोबलमा दुईपटक गरी १३ महिना ६ दिन मात्र काम गरेको पाइएको छ । २०७० असोज २१ गते नोबलका कार्यकारी निर्देशक सुनिल शर्माले हस्ताक्षर गरेको ‘जो जससँग सम्बन्धित छ’ शीर्षकको पत्रमा करार सेवामा डा. मिश्राले २०६४ साउन ३ गते देखि २०६५ जेठ ३१ गते सम्म गरी १० महिना १८ दिन र अर्कोपटक २०६६ जेठ २६ देखि २०६६ भदौ ८ सम्म गरी २ महिना १८ दिन काम गरेको उल्लेख छ । सो पत्रमा डा. मिश्रले कलेजलाई सुचनासमेत नदिएर करार भंग गरेको उल्लेख छ । डा. मिश्राले पेश गरेको फर्जि पत्र ‘जो जस संग सम्बन्धित छ’ मा नोबलका डिप्युटि अस्पताल डाइरेक्टर डा. प्रदिप कुमार गुप्ताले हस्ताक्षर गरेका छन् ।
स्वास्थ्य खबरपत्रिकासंगको कुराकानीमा डा. मिश्राले एक वर्ष अमेरिका पढ्न गएको स्विकार गरेकी छिन् । उनले फर्जि कागजपत्र भने पेश नगरेको दाबी गरिन् । लोक सेवा आयोगले सो पदका लागि बिज्ञापन नम्बर २६२६/०६९/०७० खुल्ला प्रतियोगिताको सुचना नम्बर २६४/०७०/०७१ जारी गरेको थियो ।
एघारौं तहको सो एक पदका लागि १५ जना उमेदवारहरुले ०७० असार १५ गते लिखित परीक्षा दिएका थिए । लिखितमा डा. मिश्र र डा. मिरा थापा उपाध्याय गरी २ जना अन्तर्वार्ताका लागि छनौट भएका थिए । पढाइमा अब्बल डा. मिश्र अन्तर्वार्तामा समेत छनौट भएकी थिइन् भने डा. उपाध्यायको नाम वैकल्पिकमा छ ।
फर्जि विवरण पेश गरेको व्यक्ति उत्र्तिण भएको भन्दै प्रतिस्पर्धामा रहेकी उपाध्ययले छानविनका लागि आयोगमा उजुरीसमेत दिएकी थिइन्. । तर आयोगले सुनुवाई नगरेपछि उपाध्ययले आफूमाथि अन्याय भएको भन्दै कार्तिक ३ गते सर्वोच्च अदालतमा रिट दायर गरेकी छिन् । सो मुद्दालाई गत विहिवार सर्वोच्चले अग्राधिकारमा राखि आयोग, स्वास्थ्य मन्त्रालय र डा. मिश्रालाई कारणदेखाउ आदेश दिएको छ ।
एघारौं तहका लागि आयोगको कार्य सञ्चालन निर्देशिका २०६७ को परिच्छेद ४ को ११ नम्बर ५ अनुसार एक वर्ष भन्दा कम अवधिको अस्थाई वा करार सेवाको अवधिलाई गणना गर्दा ७ वर्ष सेवा अवधि पुरा हुनुपर्ने प्राब्धान छ । तर उनको एक वर्ष भन्दा कम करार अवधि गणना गर्दा ७ वर्ष अवधि मापदण्ड पनि पुरा नहुने देखिन्छ । स्वास्थ्य सेवा ऐनमा करार समय अवधिका बारेमा केहि नबोलेकोले निजामती सेवा ऐन अनुसार नै लागू हुने कानुनविद्हरु बताउछन् ।
डा. मिश्रले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सन् २००० मे देखि २००१ डिसेम्बर १० सम्मगरी १८ महिना १५ दिन करारमा, कान्ति वाल अस्पताल काठमाण्डौमा सन् २००१ डिसेम्वर १४ देखि २००२ मे ३० सम्म गरी ५ महिना १६ दिन करारमा, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पुनः सन् २००५ सेप्टेम्बर १४ देखि २००६ जुन १४ सम्म गरी ९ महिना करारमा, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पुनः सन् २००६ नोवेम्बर १६ देखि २००७ अगष्ट ९ सम्म गरी ८ महिना २३ दिन करारमा, नोवल मेडिकल कलेज विराटनगरमा सन् २००७ अगष्ट १० देखि सन् २००९ अगष्ट २४ सम्म गरी २४ महिना १४ दिन करारमा, कोशी अञ्चल अस्पताल विराटनगरमा सन् २००९ अक्टोवर २१ देखि २०१२ नोवेम्वर २५ सम्मगरी ३७ महिना ४ दिन करारमा र गोल्डेन अस्पताल विराटनगरमा सन् २०१२ नोवेम्बर २६ देखि २०१३ जुन ५ सम्म गरी ६ महिना ९ दिन काम गरेको प्रमाण आयोगमा पेश गरेकी छिन् ।
डा. मिश्रलाई असोज २३ गते बसेको मन्त्री परिषद् बैठकले ११औं तहमा नियुक्त गरेको छ । स्रोतकाअनुसार मुख्य सचिव लिलामणि पौडेलले विशिष्ट पदका लागि फर्जि कागजात पेश गरेको उजुरी परेकाले केहि समय रोक्न खोजेपनि राजनैतिक दबाब सृजना गरेर हतारमा नियूक्ती दिइएको हो । मन्त्री परिषद्को नियुक्तिपछि स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले उनलाई गत शुक्रवार कोशि अञ्चल अस्पतालमा पदस्थापना समेत गरिसकेको छ ।