• स्वास्थ्य/चिकित्सा सेवामा निरन्तर व्यावसायिक विकास (Continuing Professional Development – सीपीडी) स्वास्थ्यकर्मीको ज्ञान, सीप र व्यावसायिक दक्षता अद्यावधिक गर्न जीवनभर चल्ने प्रक्रिया हो जसले प्रमाण वा तथ्यमा आधारित अभ्यास र बहुआयामिक सिकाइको अवसर दिन्छ।
• रोगको ढाँचा, उपचार पद्धति र प्रविधिको तीव्र परिवर्तन, सेवामा असमानता र स्रोत–साधनको सीमितताका कारण नेपालमा सीपीडी स्वास्थ्यकर्मीलाई सुरक्षित, गुणस्तरीय र आधुनिक सेवा उपलब्ध गराउन अपरिहार्य छ।
• सीपीडी व्यक्तिगत, संस्थागत र नीतिगत तहमा संयोजनमार्फत सञ्चालन गर्नुपर्छ । सफल अन्तर्राष्ट्रिय अभ्यासहरूले क्रेडिट प्रणाली, प्रमाणीकरण, अनलाइन पहुँच र लचिलो कार्यक्रम संरचना महत्वपूर्ण देखिएका छन्।
परिचय
स्वास्थ्य/चिकित्सा सेवामा निरन्तर व्यावसायिक विकास (Continuing Professional Development – सीपीडी) एक महत्वपूर्ण अवधारणा हो जसले स्वास्थ्य पेशामा संलग्न चिकित्सक, नर्स, जनस्वास्थ्यविद्, तथा अन्य प्राविधिक/स्वास्थ्यकर्मीहरूको ज्ञान, सीप र व्यावसायिक क्षमतामा निरन्तर अद्यावधिक र सुदृढीकरण गर्ने प्रक्रिया जनाउँछ। यसले स्वास्थ्यकर्मीहरूलाई समयानुकूल नयाँ ज्ञान, प्रविधि र व्याहारिक सुधारसहित कार्यक्षेत्रमा दक्ष बनाउन मद्दत गर्दछ। यसबाट पेशा वा व्यवसायमा संलग्न व्यक्तिहरूले आफ्नो सीप, ज्ञान, दृष्टिकोण, व्यवहार र दक्षता निरन्तर सिक्ने, अद्यावधिक गर्ने र सुधार गर्ने अवसर प्राप्त गर्दछन। यो व्यावसायिक जीवनभमा निरन्तर चलिरहने शैक्षिक यात्रा हो जुन मात्र तालिम वा पाठ्यक्रममा सीमित नभई, अभ्यास, अनुसन्धान, अध्ययन, आत्म-मूल्याङ्कन र अनुभव आदिमा आधारित हुन्छ।
सीपीडी को आवश्यकता
स्वास्थ्य/चिकित्सा सेवामा सीपीडी को आवश्यकता अत्यन्तै महत्त्वपूर्ण छ किनकि स्वास्थ्य विज्ञान, रोगको स्वरूप, उपचार पद्धति र प्रविधिहरू तीव्र गतिमा परिवर्तन भइरहेका हुन्छन्। यस्तो परिवर्तनसँगै स्वास्थ्यकर्मीहरूले आफ्नो ज्ञान, सीप र अभ्यास निरन्तर अद्यावधिक नगरेमा उनीहरूले दिने सेवाको गुणस्तर खस्कन सक्छ। सीपीडी ले स्वास्थ्यकर्मीलाई नवीनतम अनुसन्धान, औषधि, प्रविधि र उपचार पद्धतिहरू अपनाउन सक्षम बनाउँछ जसले बिरामीलाई सुरक्षित, प्रभावकारी र आधुनिक स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुर्याउँछ। यसले स्वास्थ्य सेवा प्रणालीमा जनविश्वास कायम राख्न पनि महत्त्वपूर्ण भूमिका खेल्छ।
त्यसैगरी सीपीडी पेशागत उत्तरदायित्व र करियर विकाससँग पनि प्रत्यक्ष रूपमा जोडिएको छ। धेरै देशहरूमा पेशागत परिषद् वा नियामक निकायले दर्ता नवीकरण वा लाइसेन्स कायम राख्न निश्चित सीपीडी क्रेडिटलाई अनिवार्य गरेका हुन्छन्। यसले स्वास्थ्य पेशामा संलग्न व्यक्तिलाई निरन्तर सिकाइमा संलग्न हुन प्रेरित गर्छ। साथै सीपीडी ले व्यक्तिगत व्यावसायिक आत्मविश्वास वृद्धि, संस्थागत क्षमता सुदृढीकरण र स्वास्थ्य नीतिगत सुधारमा समेत योगदान पुर्याउँछ। त्यसैले सीपीडी स्वास्थ्य सेवा क्षेत्रमा मात्र होइन सम्पूर्ण स्वास्थ्य प्रणालीको गुणस्तरीय सुधारका लागि अपरिहार्य अभ्यास हो।
नेपालको सन्दर्भमा स्वास्थ्य सेवा/चिकित्सा सेवामा निरन्तर व्यावसायिक विकास (सीपीडी) को आवश्यकता अझै महत्त्वपूर्ण छ। नेपालमा रोगको ढाँचा, उपचार पद्धति, औषधि प्रयोग र स्वास्थ्य प्रविधिमा तीव्र परिवर्तन भइरहेको छ। ग्रामीण तथा शहरी क्षेत्रमा सेवा असमानता, स्रोत–साधनको कमी र स्वास्थ्यकर्मीहरूको अद्यावधिक ज्ञान/सीपमा कमी भएकाले सीपीडी अनिवार्य अभ्यास बनेको छ। यसले स्वास्थ्यकर्मीलाई नवीनतम प्रमाणमा आधारित अभ्यास (Evidence-based practice) अपनाउन सक्षम गराउँछ र बिरामीलाई सुरक्षित तथा गुणस्तरीय सेवा दिने आधार तयार गर्छ।
नेपाल स्वास्थ्य व्यवसायी परिषद् (एनएचपीसी), नेपाल मेडिकल काउन्सिल (एनपीसी) लगायतका नियामक निकायहरूले दर्ता नवीकरणका लागि निश्चित सीपीडी क्रेडिट अनिवार्य निर्धारण गर्नुपर्दछ। यसले स्वास्थ्य पेशामा संलग्न व्यक्तिलाई निरन्तर सिकाइमा संलग्न हुन प्रेरित गर्दछ छ। सीपीडी ले व्यक्तिगत व्यावसायिक आत्मविश्वास र दक्षता मात्र होइन, स्वास्थ्य संस्थाको गुणस्तर सुधार, सेवाको पहुँच विस्तार र सम्पूर्ण स्वास्थ्य प्रणाली सुदृढीकरणमा योगदान पुर्याउँछ। त्यसैले नेपालको स्वास्थ्य सेवाको गुणस्तर वृद्धि र विश्वसनीयताको लागि सीपीडी लाई पेशागत जीवनमा अनिवार्य अभ्यासका रूपमा अवलम्बन गर्नु आवश्यक छ।
सीपीडी का विशेषताहरू
स्वास्थ्य क्षेत्रमा निरन्तर व्यावसायिक विकास(सीपीडी)को प्रमुख विशेषता जीवनभर सिकाइमा आधारित हुनु हो। यसले औपचारिक शिक्षा वा प्रशिक्षणपछि पनि स्वास्थ्यकर्मीलाई नयाँ ज्ञान, सीप र प्रविधिसँग निरन्तर अद्यावधिक गराउन मद्दत गर्दछ। यसले प्रमाणमा आधारित अभ्यासलाई प्राथमिकता दिने भएकाले स्वास्थ्य पेशामा संलग्न व्यक्तिहरूले नयाँ अनुसन्धान, तथ्य र उपचार पद्धतिहरूलाई अपनाउन सक्षम हुन्छन्। यसमा विविध गतिविधि—जस्तै तालिम, कार्यशाला, सेमिनार, अनलाइन कोर्स, जर्नल अध्ययन, लेख प्रकाशन , अनुसन्धान र केस स्टडी समीक्षा—समेटिने भएकाले यसले सिकाइलाई व्यापक र बहुआयामिक बनाउँछ।
निरन्तर व्यावसायिक विकास स्व–मूल्याङ्कन र व्यावसायिक उत्तरदायित्वमा आधारित हुन्छ। स्वास्थ्य वा चिकित्सा पेशाले उच्च स्तरको विश्वास र उत्तरदायित्व माग्ने भएकाले यसले सेवाको गुणस्तर सुधारमा प्रत्यक्ष योगदान पुर्याउँछ। बिरामीलाई सुरक्षित, प्रभावकारी र गुणस्तरीय सेवा उपलब्ध गराउन यो आवश्यक मानिन्छ। साथै, यसमा लचिलोपन रहेकोले व्यक्तिगत, संस्थागत वा अनलाइन माध्यम मार्फत निरन्तर सिकाइ सम्भव हुन्छ। निरन्तर व्यावसायिक विकासको प्रमाणीकरण तथा क्रेडिट प्रणालीले स्वास्थ्य पेशागत दर्ता/लाइसेन्स नवीकरणमा समेतमा सहयोग पुराउंछ त्यसैले यो पेशागत जीवनभर अनिवार्य अभ्यास बनेको छ। यो स्वास्थ्य सेवाको गुणस्तर वृद्धि र प्रवर्द्धनमा केन्द्रित हुनुपर्दछ।
सीपीडी संचालन
नेपालमा निरन्तर व्यावसायिक विकास (सीपीडी) संचालन गर्नका लागि व्यक्तिगत, संस्थागत र नीतिगत स्तरमा संयोजन आवश्यक हुन्छ। व्यक्तिगत स्तरमा स्वास्थ्य पेशामा संलग्न चिकित्सक, नर्स, जनस्वास्थ्यकर्मी वा प्राविधिकहरूले आफ्ना सीप र ज्ञान अद्यावधिक गर्न निरन्तर अध्ययन, अनुसन्धान, अनलाइन कोर्स, कार्यशाला वा सम्मेलनमा सक्रिय सहभागिता जनाउनुपर्छ। यसले उनीहरूलाई नयाँ रोग ढाँचा, उपचार पद्धति र प्रविधिसँग अपडेट रहन मद्दत गर्छ। संस्थागत स्तरमा अस्पताल, स्वास्थ्य विज्ञान प्रतिष्ठान, विश्वविद्यालय र प्रशिक्षण केन्द्रहरूले आवश्यकतालाई ध्यानमा राखेर नियमित तालिम, सेमिनार र अन्तरक्रियात्मक शिक्षण कार्यक्रमहरू आयोजना गर्न सक्छन्।
नीतिगत स्तरमा नेपाल स्वास्थ्य व्यवसायी परिषद् (एनएचपीसी), नेपाल मेडिकल काउन्सिल (NMC), नेपाल नर्सिङ परिषद् लगायतका नियामक निकायहरूले सीपीडी का लागि स्पष्ट मार्गदर्शन, मान्यता (Accreditation) र क्रेडिट प्रणालीलाई व्यवस्थित रूपमा लागू गर्नुपर्छ। दर्ता नवीकरणका लागि निश्चित सीपीडी क्रेडिट अनिवार्य गर्ने नीति निरन्तरता दिनुका साथै ग्रामीण क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई अनलाइन वा मोबाइल–आधारित सीपीडी पहुँच सुनिश्चित गरिनु जरुरी हुन्छ। यसरी व्यक्तिगत सक्रियता, संस्थागत कार्यक्रम र नीतिगत अनिवार्यता मिलाएर नेपालमा सीपीडी लाई प्रभावकारी ढंगले संचालन गर्न सकिन्छ।
सीपीडी संचालनमा सम्भावित चुनौतीहरू
नेपालमा निरन्तर व्यावसायिक विकास (सीपीडी) सञ्चालनका क्रममा विभिन्न चुनौतीहरू देखा पर्न सक्दछन। ग्रामीण तथा दुर्गम क्षेत्रमा इन्टरनेट, प्रशिक्षण केन्द्र र आधुनिक प्रविधिको कमीले स्वास्थ्यकर्मीलाई तालिम र अनलाइन शिक्षामा सहभागी हुन कठिनाइ हुन्छ। त्यस्तै सेवा जनशक्ति नै सीमित भएकाले स्वास्थ्य संस्था भित्रै तालिमका लागि समय छुट्याउन गाह्रो हुन्छ। वित्तीय अभावले पनि सीपीडी को प्रभावकारीतामा असर गर्छ, किनकि धेरैजसो स्वास्थ्यकर्मी वा संस्थाले आफ्नै खर्चमा तालिममा सहभागी हुनुपर्ने बाध्यता हुन्छ। साथै सीपीडी सम्बन्धी नीति भए तापनि यसको कार्यान्वयनमा एकरूपता र स्पष्टता नभएको कारण व्यावहारिक रूपमा यसलाई प्रभावकारी बनाउनु चुनौतीपूर्ण बनेको छ।
यस्तै स्वास्थ्य पेशागत परिषद्हरू, विश्वविद्यालय र तालिम प्रदायक संस्थाबीच पर्याप्त समन्वय नहुँदा सीपीडी गतिविधि एकीकृत ढंगले अघि बढ्न सकिरहेको छैन। तालिम वा अध्ययन सामग्री स्थानीय आवश्यकताअनुसार व्यवहारिक र भाषागत दृष्टिले उपयुक्त नहुनु अर्को समस्या हो। सीपीडी कार्यक्रमको प्रमाणीकरण र गुणस्तर मूल्याङ्कन प्रणाली अझै बलियो नहुँदा यसका परिणामहरू दिगो रूपमा देखिन सकेका छैनन्। स्वास्थ्यकर्मीलाई निरन्तर सिकाइमा संलग्न गराउने पर्याप्त प्रोत्साहन नहुनु र प्रविधि प्रयोगमा दक्षता अभाव पनि नेपालमा सीपीडी सञ्चालनका महत्वपूर्ण चुनौतीहरू मानिन्छन्।
सीपीडी संचालनका अभ्यासहरू
विश्वका विभिन्न देशमा स्वास्थ्य सेवा क्षेत्रमा निरन्तर व्यावसायिक विकास (सीपीडी) लाई प्रभावकारी बनाउन धेरै सफल अभ्यास (Best practices) लागू भएका छन्। उदाहरणका लागि, संयुक्त राज्य अमेरिका, क्यानडा र युरोपियन देशहरूमा सीपीडी कार्यक्रमहरूलाई क्रेडिट प्रणाली (Credit system) र प्रमाणीकरण (Accreditation) सँग जोडिएको छ। स्वास्थ्यकर्मीले निश्चित समय अवधिमा आवश्यक क्रेडिट संकलन गर्नुपर्छ र यसका लागि तालिम, सेमिनार, अनुसन्धान, प्रकाशन वा अनलाइन कोर्सको विकल्प उपलब्ध हुन्छ। बेलायत र अष्ट्रेलियामा सीपीडी लाई व्यावसायिक लाइसेन्स नवीकरणसँग प्रत्यक्ष जोडेर स्वास्थ्यकर्मीलाई निरन्तर संलग्न गराउने नीति प्रभावकारी बनाइएको छ। यसले पेशागत क्षमता, गुणस्तर र उत्तरदायित्व सुनिश्चित गर्न मद्दत गरेको छ।
त्यसैगरी, सिंगापुर र न्यूजिल्याण्डमा अनलाइन सीपीडी प्लेटफर्म र मोबाइल–आधारित तालिम प्रणालीले ग्रामीण तथा दूरदराजका स्वास्थ्यकर्मीलाई पहुँच प्रदान गरेको छ। धेरै देशमा सीपीडी कार्यक्रमहरूलाई व्यक्तिगत आवश्यकता र कार्यक्षेत्र अनुसार लचिलो ढंगले डिजाइन गरिएको छ जसले सिकाइको प्रभावकारिता वृद्धि गरेको छ। साथै नियमित मूल्याङ्कन, प्रतिक्रिया प्रणाली र गुणस्तर सुनिश्चितीकरणले सीपीडी कार्यक्रमलाई दिगो र पारदर्शी बनाएको छ। यी अभ्यासहरूले देखाउँछन् कि स्पष्ट नीति, प्रमाणीकरण, पहुँच र लचिलो कार्यक्रम संरचना सीपीडी को प्रभावकारिता र स्वास्थ्य सेवाको गुणस्तर दुवैमा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्दछ।
निष्कर्ष
नेपालको सन्दर्भमा स्वास्थ्य/चिकित्सा क्षेत्रमा निरन्तर व्यावसायिक विकास (सीपीडी) अत्यावश्यक देखिन्छ। रोगको ढाँचा परिवर्तन, उपचार पद्धति र प्रविधिको तीव्र विकास साथै ग्रामीण र शहरी क्षेत्रमा सेवाको असमानता र स्रोत–साधनको कमीले स्वास्थ्यकर्मीलाई अद्यावधिक ज्ञान र सीपमा संलग्न गराउनु अपरिहार्य बनाएको छ। सीपीडी ले स्वास्थ्यकर्मीलाई नवीनतम प्रमाणमा आधारित अभ्यास अपनाउन, व्यक्तिगत दक्षता वृद्धि गर्न, बिरामी–केन्द्रित सुरक्षित सेवा उपलब्ध गराउन र स्वास्थ्य संस्थाको गुणस्तर सुधार्न सक्षम बनाउँछ। साथै दर्ता/लाइसेन्स नवीकरणमा क्रेडिटको अनिवार्यता, प्रमाणीकरण प्रणाली र प्रशिक्षण कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनले स्वास्थ्य पेशामा उत्तरदायित्व र पेशागत विश्वास बढाउँछ। यसैले नेपालमा सीपीडी केवल व्यक्तिगत र पेशागत विकासका लागि मात्र नभई सम्पूर्ण स्वास्थ्य प्रणालीको दिगो सुधार र गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्न अपरिहार्य देखिन्छ। अत: यसलाई व्यक्तिगत, संस्थागत र नीतिगत तहमा व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्दछ।
जनस्वास्थ्य विज्ञ तथा सह-प्राध्यापक, पोखरा विश्वविद्यालय