हरेक वर्ष २८ सेप्टेम्बरका दिन मनाइने विश्व रेबिज दिवसले हामीलाई रेबिज पूर्णरूपमा रोकथाम गर्न सकिने सबैभन्दा प्राणघातक रोगहरूमध्ये एक हो भन्ने एउटा गम्भीर तथ्य स्मरण गराउँछ। सन् २०२५ को मूल नारा 'रेबिज विरुद्ध जुटौः तपाईं, हामी, समुदाय” रहेको छ। यसले रेबिज निवारण हामी सबैको साझा जिम्मेवारी हो भन्ने सन्देश दिन्छ। सुरक्षित र प्रभावकारी रोकथामका साधनहरू उपलब्ध हुँदाहुँदै पनि हरेक वर्ष संसारभर करिब ५९ हजार मानिसको मृत्यु हुने गरेको छ, जसमध्ये बालबालिका र ग्रामीण भेगका विपन्न समुदायहरू बढी प्रभावित हुने गरेका छन्।
विश्वभर हुने ९९ प्रतिशत रेबिजका घटनाहरू कुकुरको टोकाइबाट हुने गरेका छन्। विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्व एशिया क्षेत्रका अधिकांश देशहरूमा यो रोग अझै पनि इन्डेमिक रोगकै रुपमा रहँदै आएको छ, जहाँ विश्वको आधाभन्दा बढी रेबिजको भार रहेको छ। रेबिज संक्रमण भएपछि स्नायू प्रणालीमा असर पुर्याउनु भन्दा पहिले कुनै पनि परीक्षणबाट यो रोग पत्ता नलाग्ने भएकोले यसलाई “अदृश्य रोग” को रुपमा पनि व्याख्या गर्ने गरिन्छ। समयमै घाउ सफा गर्ने र रेबिज विरुद्धको खोप लगाएमा जीवन बचाउन सकिन्छ। तर लक्षण देखिएपछि यस रोग सधैं प्राणघातक हुन्छ। त्यसैले यस रोगको रोकाथामाका लागि तत्काल, तथा दीर्घकालिन समन्वयात्मक कदम चाल्न आवश्यक छ।
नेपालको वर्तमान अवस्था
नेपालमा अझै पनि रेबीज गम्भीर चुनौतीको रुपमा रहेको छ। आधिकारिक तथ्यांकअनुसार हरेक वर्ष १०–१५ जनाको मृत्यु हुने गरेको देखिन्छ र यो तथ्यांक सन् २०१९ यता लागभग स्थिर देखिन्छ। तर राष्ट्रिय आंकडाले वर्षेनी करिब १०० जना मानिस र ५०० भन्दा बढी जनावरहरूको रेबीजका कारण मृत्यु हुने अनुमान गरिएको छ। जसमा ९६% रेबिज कुकुरको टोकाइबाट हुने गरेका छन्। सन् २०१९ मा जनावरबाट हुने टोकाइ ३५,२५० वटा भएका थिए जनु सन् २०२४ मा बढेर २ लाख १० हजार पुगेको थियो, जुन अत्यन्त चिन्ताजनक विषय हो। यसले मानव–जनावर द्वन्द्व बढ्दै गएको देखाउँछ। रेबिजबाट करिब ४०% बालबालिका पिडित रहेको पाइएको छ र नेपालको तराई क्षेत्र सबैभन्दा बढी उच्च जोखिममा रहेको छ।
रेबिजलाई नेपालमा अनिवार्य सूचित गर्नुपर्ने (लयतषष्बदभि) रोगको रूपमा वर्गीकृत गरिएको भएता पनि निगरानी प्रणाली र अन्तरनिकाय सहकार्यको कमिले अधिकांश घटना रिपोर्ट हुँदैनन्। रेबिजविरुद्ध खोपमा पहुँच सुनिश्चित गर्ने, रोगको निदानमा सुधार गर्ने र कुकुरलाई खोप लगाउने तथा तिनको संख्या व्यवस्थापन गर्ने कार्यहरु चुनौतीका रुपमा कायम रहँदै आएका छन्, जसले गर्दा रेबिज निवारणको लक्ष्यमा बाधा पुर्याइ रहेको छ। नेपाल सरकारले सरकारी स्वास्थ्य संस्थाहरूबाट निःशुल्क रेबीज विरुद्धको खोप र रेबिज इम्युनोग्लोबुलिन उपलब्ध गराउँदै आइरहेको छ र स्वास्थ्यकर्मीहरूलाई नियमित रुपमा राष्ट्रिय मापदण्डअनुसार तालिम प्रदान गरिरहेको छ। ्
कदम चाल्ने समय
नेपाल रेबिज अन्त्यका लागि निर्णायक मोडमा छ। सन् २०३० भित्र कुकुरको टोकाईबाट मानिसमा हुने रेबिजको मृत्युदरलाई शून्यमा पुर्याउने अन्तराष्ट्रिय लक्ष्य हासिल गर्न, नेपालले मानव, पशु र वातावरणीय स्वास्थ्यबीच समन्वय, स्थानीय सरकार र राजनीतिक प्रतिवद्धता बलियो बनाउँदै ‘एक स्वास्थ्य‘ अवधारणालाई थप सुदृढ गर्न आवश्यक देखिन्छ।
कम्तीमा ७० प्रतिशत कुकुरलाई खोप लगाउने, कुकुरको संख्याको दिगो रुपमा व्यवस्थापन गने र कुकुरको टोकाइ/चिथोर्याइको एकीकृत व्यवस्थापन गर्ने (आईबीसीएम) र निगरानीमा सुधार गर्नु रोगको संक्रमण चक्र तोड्नका लागि अत्यन्त जरुरी छ। समयमै रेबिज विरुद्धको खोपको पहुँच सुनिश्चित गर्नु र समुदायलाई रेबिजबारे सचेत बनाउनु नै रेबिजबाट जीवन बचाउने प्रमुख उपायहरु हुन्।
नेपालले स्वीकृत गर्न लागेको राष्ट्रिय रेबिज निवारण रणनीति र कार्ययोजना (२०२५–२०३०) को प्रभावकारी कार्यान्वयन मार्फत श्रोत परिचालन र जवाफदेहिता सुनिश्चित गर्न निर्णायक हुनेछ।
विश्व स्वास्थ्य संगठन नेपालले नीति मार्गदर्शन, क्षमता विकास र समन्वयात्मक रोकथाम प्रयास मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र अन्य साझेदारहरूसँग मिलेर राष्ट्रिय रेबिज निवारण कार्यक्रमलाई निरन्तर सहयोग गर्नेछ।
साझा जिम्मेवारी
रेबिजका कारण कुनै पनि व्यक्तिको मृत्यु हुनु हुँदैन भन्ने विश्व रेबिज दिवस २०२५ को सन्देश स्पष्ट छ। एक स्वास्थ्य अवधारणा अन्तर्गत हामी सबैले सन् २०३० सम्ममा कुकुरको टोकाईबाट रेबिजका कारण हुने मानव मृत्यु शुन्यमा पुर्याउने हाम्रो साझा लक्ष्य प्राप्त गर्न सक्छौं।
म, तपाईं र हाम्रो समुदाय सबै मिलेर अघि बढ्ने हो भने हाम्रा भावी पुस्तालाई रेबिजबाट सुरक्षित राख्न र रेबीजमुक्त नेपाल निमार्ण गर्न सक्छौं।
(डा राजेश सम्भाजिराव पाण्डव विश्व स्वास्थ्य संगठनको नेपाल कार्यालयका प्रमुख हुन्। )