रुपाको अहिले सातौं महिना बितिरहेको छ, एउटा अस्पतालको क्याबिन कोठामा। यी उनका संघर्षका दिन हुन्। अस्पताल घरजस्तै महसुस गर्न थालिसकेकी छन् उनले। अस्पतालका सैय्यासँग अनौठो सम्बन्ध गाँस्न पुगिसकेकी छन् रुपाले।
अनौठो किनभन्दा, प्रिय नहुँदा पनि प्रिय हुन पुगेको सम्बन्ध। उनीसँग अरु उपाय पनि त छैन, प्रिय नमानी। सधैंजस्तो उनका छालाले स्पर्श गरेका छन्। मायालु हातहरुको मात्र हैन, स्प्रिटको चिसो स्पर्श र सुईको तीखो घोचाइ पनि छन्।
औषधि दिन र रगत जाँच गर्न अनगिन्ती स्पर्शहरु। सुई दिने सिस्टर र डाक्टर त मायालु नै मान्छिन्। सुईको तिखोपनालाई दोष दिन्छिन्। कुनै सुई सिधै नशामा, कुनै मासुमा त कुनै छालामा। सयौँ सुइहरु परिसकेहोलान्। कति त ढाडमा पनि।
नसा नभेटिँदा धेरै पटक घोच्नुपरेको पनि छ। त्यसको खलपात्र घोच्ने व्यक्ति हो कि सुइ हो वा आफ्नै शरीर भन्ने कुरामा अन्योल मान्छिन् रुपा। जे होस् म पनि कहिलेकसो उनको सुईको कथाको एउटा खलपात्र हुन पुगेको छु।
सलाइनका बोत्तल कति सकिए, केही पत्तो छैन। सुरुसुरुमा हिसाब राख्ने गर्थिन्। तर अचेल यतिका महिनासम्म त गणितीय गिन्तीको के अर्थ होला र! सलाइनको थोपाको रफ्तार कहिले छिटो त कहिले ढिलो।
एकनासको रफ्तारमा दिन नमिल्ने उस्तै उनको जीवनको रफ्तार पनि। कहिले सुस्त अनुभव त कहिले द्रुत। शरीर तंग्रिदाको समय हर्ष हुने, खस्किँदा सिथिल। जीवनका आशाहरु निरासामा परिणत हुने गर्छन्। सपनाहरु भत्किने एकै क्षणमा।
आफ्नो प्राणवायुको साक्षात्कार उनलाई धेरै पटक भएको छ। उनी भित्रको रोग समयसमयमा जिस्किरहन्छ। ठट्टा गरिरहन्छ। लाज पनि मान्दैन। अस्ति भर्खर थला पार्नेगरी घायल गरेको। फेरी घायल गर्न खोज्छ। उनको मनमात्र घायल नभएको हो। मन घायल भए त के आशाले अडिने थिइन् र रुपा यो संसारमा?
रुपाको रोगलाई किन डरलाग्दो भनेका होलान् त! उपचारमा असीम धैर्यता चाहिने। कुनै एकिन टुंगो नभएको। खर्च पनि उस्तै धेरै। उतारचढाव पनि धेरै भएर होला। कुनै दिन त इहलिला सकिने नै छ। भगवानले मनुष्य जातिबाट लुकाएको कुरा त्यही हो।
कहिले अन्तिम क्षण भन्ने थाहा नहुने। आज–भोलि–पर्सि कुनै दिन त अवश्य हो। मिति थाहा नभएकोले अजर–अमर हो कि भन्ने भ्रम पर्ने त हो। कन्सिरी फुल्ने दिन हो कि जुँगाको रेखी आउने दिन। भर्खर बैंस चढ्दा हो कि कुप्री परेर चाउरी परेपछि। कसैलाई केही पत्तो त छैन। त्यही रहस्यको गुदी नपाएर सुखसयल त्यागेर सिद्धार्थ ज्ञानको खोजीमा निस्किएथें रे। त्यो बोधिसत्व ज्ञान त रुपालाई सोधे पनि थाहा हुन्छ होला!
बुद्धत्व जे जस्तो जिनिस भए पनि संसार एउटा भ्रम नै हो। हुन त सबैको जीवनको आयु क्षणक्षण गर्दै घट्छ नै। तर त्यसको आभास सबैलाई हुँदैन। कुनै एउटा निहुँले एक दिन त छोड्नु नै पर्छ। फरक यति मात्र छ कि रुपाको अगाडि एउटा निहुँ छ।
उनका अनुशासनहीन रक्तकोषिकाहरु। किन म्युटेसन भयो केही थाहा छैन। कोही कसैको बिगार कहिल्यै गरेको जस्तो त लाग्दैन रुपालाई। त्यसैले त उनलाई यो धर्म, पाप, पुण्य, स्वर्ग, नर्क आदि कुरा बनाइएका कुरा हुन् जस्तो लाग्छ।
आँफैसँग प्रश्न सोध्छिन्, 'मलाई नै किन?' मैले आजसम्म उत्तर दिन नसकेको एउटै प्रश्न हो त्यो। शायद देवताहरुको मिटिङमा गोलाप्रथा गरेर रोग भिडाइने रहेछ कि! प्रारब्धलाई कारक मानेर उत्तर दिएर के गर्नु? मन सन्तोष गर्ने उत्तर मात्रै त हो। सामान्य व्यक्तिले नदेखेको नबुझेको कुरा न हो। त्यसको स्पष्ट उत्तर हुँदो हो त सबै बुद्ध हुन्थे!
उनका शरीर भित्रका रक्तकोषिकाहरु बहुलट्ठीपन गर्छन् रे। सेतो रक्तकोष घटेर निकै दु:ख दिन्छन्। मिलोमतो गरेर होला। ती कोषिकाको संख्या एकै पटक घट्छन् त कहिले बढ्छन्। खेलाँची गर्छन्। अनि रुपालाई रोगसँग लड्न गह्रो पर्छ।
फेरि सुई लगाइन्छ उनका शरीरमा ती कोषिकाको फौज तयार गर्न। केही दिनमा फेरि उनी तंग्रिन्छिन्। उनको रोग नै उस्तै दु:ख दिने। रगतको क्यान्सरको रोग। त्यसैले त रक्तकोषिकाहरु अनुशासनहीन भएका छन्। आफ्नो मनमर्जीमा चलेका निर्लज्ज कोषिकाहरु दौडिरहेका छन् उनका नशाहरुमा।
खर्चिलो भए पनि “ केमो” दिएर रोक्ने प्रयास निरन्तर जारी छ। जीवन आशा र प्रयासको मिलन त हो। जिउने आशा र जिउने प्रयास। जीवन मृत्यु त हाम्रो हातमा नहुने भन्छन्। के प्रयास नै नगर्ने त!
कपाल पनि झर्दै पलाउँदै गर्छ शिशिर–वसन्त ऋतुका पातजस्तै। तर कपाल पलाउँदैमा उनको जीवनमा वसन्त भने आउँदैन। वाकवाकी पनि कति सारो। खाना पनि नरुच्ने। विष हो कि औषधि भन्ने कुरामै मनले प्रश्न गर्छ विवश भएर।
कुनै कुराको अम्मल नपरेको शरीरमा किन यसरी उनका रक्तकोषिकाहरु बहुलाएका होलान् त? के अम्मल सेवन गर्नेहरुमा त्यही अम्मलको डरले अनुशासित हुने हुन् र? बेलाबेलामा सोचमग्न हुन्छिन् रुपा। उनको १२ कक्षा पढेपछि गर्ने भनेर बुनिएका सपनाहरु पूरा गर्न सक्छिन् होला त? उपचारमा आशा भने छ। तर कहिलेकसो आत्तिन्छिन्। उनको मुटुको गति बेजोड दौडिन्छ। निद्रा पनि लाग्दैन। डर लाग्छ संसार छोडिने हो कि भनेर। जीवनबोधको एउटा सानो उत्कृष्ट नमुना।
क्याबिनका सात महिना कटिरहेका छन्। कहिले रुँदै त कहिले हाँस्दै। आँसु मात्र नदेखिएका हुन्। पिर त गहिरो छ। नाप्न धेरै मुस्किल छ बाहिर देख्नेलाई। त्यो दु:ख नाप्ने असफल प्रयास मात्रै हुनेछ।
सम्पन्नताले क्याबिनको बसाइ बसेकी हैनन् रुपा। रक्तकोषिकाहरुले साथ नदिएर पो हो। कमजोर शरीरले रोगसँग लड्न नसकेर हो। इन्फेक्सनबाट जोगिनका निम्ति हो।
औषधिमा निकै पैसा पर्छ। “केमो” को औषधि पुर्याउन सितिमिति नसकिने। त्यसैले त केमोको हरेक थोपा औषधि अनमोल लाग्छ मलाई। कहिलेकाँही उनले सोध्ने गर्छिन् 'डाक्टर शम्भु। मेरो औषधि किन यतिविधि महँगो?'
मसँग उनलाई चित्त बुझ्ने उत्तर कहिल्यै हुँदैन। तर म उत्तरको लागि मात्रै भन्छु, 'अप्ठेरो रोग भनेर जति पनि तिर्छन् भनेर औषधिको भाउ बढाएका होलान् है रुपा।' उनले भन्छिन्, 'सुगर र प्रेसरको औषधिजस्तै सहज र सस्तो बनाइदिए जाति हुन्थो नि। सुगरप्रेसर जस्तै घरघरमा घुस्नुपर्ने हो र मेरो रोग!' उनी कसैलाई पनि यस्तो रोग नलागोस् भनेर प्रार्थना गर्छिन् सधैं।
अस्पतालको सैय्यामा पुगेपछि एउटा तत्वज्ञान खुल्दो रहेछ। मन सङ्लिँदै जाने रहेछ। जीवन आशाहरुको मृगतृष्णा हो। जिउने आशाको मृगतृष्णा। त्यही मृगतृष्णालाई सत्कर्मले रंगीन बनाउने नै जीवन जिउने कला रहेछ। स्टेव जब्सका अन्तिम दिव्यवाणीहरु सबैले थाहा पाए। उपेन्द्र देवकोटाको अन्तिम घडीतिर खुलेको ज्ञान पनि सुने सबैले।
तर रुपाको कथा कतै चर्चामा आएन। हरेक जीवन एउटा कथा रहेछ। केही कथित त धेरै अकथित। सामान्य जीवनमा विशिष्टता खोज्न सकिने रहेछ। त्यसैले त भन्छु मैले स्टिव जब्स र देवकोटा हरेक दिन देखिरहेको हुन्छु।
एक रक्त क्यान्सरदर्शीको मनको आवाजलाई शब्दमा व्यक्त गर्ने असफल प्रयास गर्दै छु। धन्यवाद।
(प्रतिनिधिपात्र रुपा)