नेपालको स्वास्थ्य क्षेत्र वर्तमान उपलब्धी हासिल गर्नुमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छ। सरकारी संरचनाले अझै पूर्ण रूपमा सेवा विस्तार गर्न नसकेको सन्दर्भमा निजी क्षेत्रले स्वास्थ्य सेवाको ठूलो भार वहन गरिरहेको छ। सुदूरपश्चिम, कर्णाली र मधेशका कतिपय दुर्गम भेगमा त निजी अस्पताल र स्वास्थ्य संस्थाहरू नै नागरिकको अन्तिम आश्रय बनेका छन्।
काठमाडौं उपत्यका जस्ता सहरहरुमा अत्याधुनिक उपकरण, नयाँ प्रविधि, विशेषज्ञ सेवाका लागि निजी क्षेत्रले अग्रणी भूमिका निर्वाह गरेको छ। यही परिवेशमा ह्याम्स अस्पतालका अध्यक्ष रामशरण (आरएस) भण्डारीले नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट सदस्यमा उम्मेदवारी दिएका छन्। आफूले स्वास्थ्य क्षेत्रको संरचनात्मक सुधारका लागि उद्योग वाणिज्य संघलाई सेतु बनाउन खोजेको बताउँछन्।
निजी क्षेत्रको देशको स्वास्थ्य सेवामा मात्रै होइन, अर्थतन्त्रमा समेत ठूलो योगदान हुँदाहुँदै पनि अझै राज्यको स्वास्थ्य प्रणालीको हिस्सा बनाउने विषयमा स्पष्ट नीतिगत इच्छाशक्ति देखिएको छैन। यही खाडललाई पूर्ति गर्ने लक्ष्यका साथ आफू महासंघमा पुग्न चाहेको बताउँछन्।
करिब तीन दशकदेखि स्वास्थ्य क्षेत्रमा सक्रिय भण्डारी, तर्कसंगत ढंगले आफ्ना कुरा राख्न सक्ने व्यवस्थापकका रूपमा चिनिन्छन्। मेडिकल उपकरणबाट व्यवसाय थालेका उनले ह्याम्स अस्पतालको अध्यक्षको रूपमा स्वास्थ्य सेवाको विस्तार, व्यवस्थापन र चुनौतीलाई नजिकबाट अनुभूत गरेका छन्। '३० वर्षको अनुभव लिएर म महासंघमा जान खोज्दैछु। निजी क्षेत्रको भूमिका राज्यलाई बुझाउँदै सहकार्यबाट ठूला उपलब्धि हासिल गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न चाहन्छु,' उनी भन्छन्।
भण्डारीका एजेन्डाहरू केवल सैद्धान्तिक छैनन्, व्यवहारिक र कार्यान्वयनयोग्य देखिन्छन्। उनी सार्वजनिक–निजी साझेदारी विस्तार गरेर राज्य नपुगेको ठाउँमा र राज्यले नसकेको विशेषज्ञ स्वास्थ्य सेवा पुर्याउने मोडेल विकास गर्न चाहन्छन्। स्वास्थ्य बीमा प्रणालीलाई प्रभावकारी बनाउँदै निजी अस्पताललाई त्यसमा मजबुत रूपमा जोड्ने उनको अर्को प्राथमिकता हो।
स्वास्थ्य पूर्वाधारमा लगानी बढाउन कर सहुलियत, सस्तो ऋण जस्ता नीति ल्याउने पहल, प्रविधि र डिजिटल हेल्थमा नवप्रवर्तन, तथा औषधि र उपकरण उत्पादनमा आत्मनिर्भरता, यी सबै उनका दीर्घकालीन सोचका हिस्सा हुन्।
त्यसैगरी, स्वास्थ्यकर्मीहरूको पलायन रोक्न स्वदेशमै अवसर सिर्जनाका लागि नीतिगत स्थिरता कायम गर्ने आवाज पनि उनी उठाइरहेका छन्।।
उद्योग वाणिज्य महासंघ जस्तो प्रभावशाली संस्थामा स्वास्थ्य क्षेत्रको बलियो प्रतिनिधित्व अहिलेसम्म पर्याप्त देखिँदैन। भण्डारीको उम्मेदवारीले यही कमी पूरा गर्ने संकेत दिएको छ।
यदि उनी सफल भए, निजी स्वास्थ्य क्षेत्र र राज्यबीचको दूरी घटाउने, सहकार्यको नयाँ मोडेल स्थापित गर्ने, र नीतिगत सुधारलाई गति दिने अपेक्षा गरिएको छ।
स्वास्थ्य क्षेत्रमा सफलताको मानक
उनी स्वास्थ्य क्षेत्रमा सफलताको मानक हुन्। योजना, व्यवस्थान र खटनबाट उनले सफलता हासिल गरेका हुन् । स्वास्थ्य क्षेत्रमा उनलाई 'बिरामी अस्पताल ब्युँताउने' व्यक्तिको समेत संज्ञा दिइएको छ।
सिन्धुपाल्चोकको सामान्य कृषकको परिवारमा जन्मिएका हुन् भण्डारी। २०५१ सालमा पढ्न काठमाडौं आएका थिए। गाउँका आम युवाले देख्ने सामान्य सपना उनीसँग पनि थियो, राम्रो पढ्ने र राम्रो जागिर गर्ने। उनले काठमाडौंमा पढ्नका लागि पनि काम गर्नुपर्ने अवस्था थियो । त्यसैले बिहान कलेज र दिउसो मेडिकल उपकरण सेवा दिने कम्पनीमा जागिर गर्न थाले। झन्डै ७ वर्ष जागिर गर्दा उनले उक्त व्यवसायको नाडीनशा छामिसकेका थिए। अरुकोमा जागिर गर्दा उनले स्वास्थ्य प्रणाली, मेडिकल सामाग्री, यसमा रहेकाहरुसँग चिनजान गरिसकेका थिए ।
२०५८ साल जेठ १ गते उनले जागिर छाडेर आफैं व्यवसाय अघि बढाउने सोच बनाएर मैदानमा उत्रिए। तर, लगानीका लागि पैसा जुटिसकेको थिएन। त्योबेला उनलाई लागेको थियो- २५ लाख रुपैयाँ जति भयो भने व्यवसाय राम्रो गर्न सकिन्छ। लगानीका लागि उनी बैंक खोज्न थाले। एसबीआई बैंकमा उनले चिनेका एकजना मान्छे थिए। उनले आफूलाई व्यवसाय गर्न केही रकम आवश्यक परेको उनलाई बताए। ती बैंकले सोधे- काठमाडौंमा चिनजानका कसैको घर छ? उनीसँगै काम गर्ने उनले दाइ भन्ने एकजनाको घर थियो। भण्डारीले उनीसमक्ष डराइ-डराइ प्रस्ताव राखे । ती 'दाइ' त भण्डारीले अपेक्षा गरेको भन्दा सहज रुपमा घर बैंकमा राख्न तयार भइदिए।
त्यसैले भण्डारी दोहोर्याउँछन्- 'म साथीभाइ र बैंकले पत्याएको मान्छे। बैंकले पनि उनले सोचेभन्दा दोब्बर जस्तै ऋण दियो। उनको आत्मविश्वास बढ्यो । मेडिकल उपकरणको क्षेत्रमा उनको प्रगति अपेक्षा गरेभन्दा राम्रो हुन थाल्यो।'
उनी मेडिकल व्यवसायमा थिए। उनको गाउँनजिकै पर्ने खाडीचौर क्षेत्रमा स्वास्थ्य उपचारको समस्या थियो। जिल्ला अस्पताल चौतारामा थियो। जुन त्यो क्षेत्रका धेरै गाविसका लागि अपायक भयो। गाउँका भद्रभलाद्मीले उनी समक्ष अस्पताल बनाउने प्रस्ताव राखे।
अस्पतालमा सञ्चालनमा उनको पहिलो पाइला खाडीचौरस्थित सिन्धुसदाबहार अस्पतालबाट सुरु भयो। उनले मेडिकल व्यवसायका साथै उक्त अस्पताल सञ्चालन गरे। त्यो क्षेत्रकाको स्वास्थ्य उपचारका लागि अस्पतालले अहिले पनि ठूलो योगदान गरिरहेको छ। ५५ बेडको उक्त अस्पतालका साथै त्यहाँ पीसीएल नर्सिङ पठनपाठन पनि सुरु गरिएको थियो। जिल्लाकै पहिलो नर्सिङ पढाउने कलेज भने १०० बेडको अस्पताल हुनुपर्ने नियमका कारण रोकिएको छ।
२०७३ सालमा ह्याम्स अस्पताल सम्हाल्दा अस्पताल आफैं बिरामी भएर थला परेको थियो। ह्याम्स अस्पताललाई बिरामीको भरोसा बनाएका भण्डारीले हालसालै भक्तपुरस्थित नागरिक अस्पतालको स्वामित्व लिएका छन्। त्यसको पनि कायाकल्प गर्ने क्रममा छन्।
कोभिडको समयमा सरकारी संरचना मात्रै पर्याप्त थिएन। निजी अस्पतालको सहयोग जरुरी थियो, ह्याम्सले त्यो समयमा धेरै बिरामीलाई निको पारेर घर फर्काएको थियो। संयोगले निजी अस्पतालमा कोभिड १९ को उपचार गर्ने पहिलो अस्पताल समेत ह्याम्स नै बन्यो।
हरेक परियोजनाबाट सिक्ने र अघि बढ्ने उनको स्वभाव हो भने आँट सफलताको सारथी हो। 'टिमवर्क'मा विश्वास गर्ने र जोखिम लिन सक्ने खुबीले उनको व्यवसायिक गति बढिरहेको छ।