काठमाडौं — नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचनमा ३,५८९ मतगणना सम्पन्न हुँदा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। शीर्ष दुई उम्मेदवारबीच करिब १०० मतको अन्तर रहँदा नतिजा अझै रोचक बनेको छ।
अध्यक्ष पदतर्फ डा. मङ्गल रावल १,६१४ मत (४५.४९ प्रतिशत) सहित अग्रस्थानमा छन्। उनलाई डा. बद्री रिजालले १,५१६ मत (४२.७३ प्रतिशत) सहित पछ्याइरहेका छन्। यी दुईबीच ९८ मतको अन्तर रहेको छ। डा. नारायणप्रसाद भुसाल ४१८ मत (११.७८ प्रतिशत) सहित तेस्रो स्थानमा छन्। यस पदमा कुल ३,५४८ वैध मत गणना भएको छ।
वरिष्ठ उपाध्यक्ष पदमा पनि प्रतिस्पर्धा झिनो देखिएको छ। डा. सञ्जीव तिवारी १,३५५ मत (३९.५४ प्रतिशत) सहित अग्रस्थानमा रहँदा डा. किर्तिपाल सुबेदी १,२४५ मत (३६.३३ प्रतिशत) सहित नजिकै छन्। दुवैबीच ११० मतको अन्तर छ। डा. अजय कुमार मिश्र ८२७ मत (२४.१३ प्रतिशत) सहित तेस्रो स्थानमा छन्। यस पदमा ३,४२७ वैध मत गणना गरिएको छ।
महासचिव पदमा पनि उस्तै प्रतिस्पर्धा देखिएको छ। डा. कालु सिंह खत्री १,३५२ मत (३९.५१ प्रतिशत) सहित अगाडि छन् भने डा. विश्वराज दवाडी १,२४२ मत (३६.२९ प्रतिशत) सहित पछ्याइरहेका छन्। यहाँ पनि ११० मतको अन्तर रहेको छ। डा. अमृत भुसाल ८२८ मत (२४.२० प्रतिशत) सहित तेस्रो स्थानमा छन्। यस पदमा ३,४२२ वैध मत गणना भएको छ।