धनगढी- लामो समयको प्रतिक्षा पछि सञ्चालनका क्रममा रहेको कैलालीको गेटास्थित सहिद दररथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवस्था फेरि अनिश्चित बनेको छ। सरकारले अध्यादेशमार्फत विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी पदमुक्त गरेपछि गेटा सञ्चालनको प्रक्रिया पूरा नहुँदै अन्यो सृजना भएको हो।
अध्यादेशका कारण गेटा सञ्चालनको प्रक्रियालाई अन्तिम रुप दिइरहेका उपकुलपति प्राडा सुनिलकुमार जोशीसहित रजिस्ट्रार डा खेमराज जोशी पनि पदमुक्त भएका छन्। पदमुक्त भएपछि प्राडा जोशी भन्छन्- 'शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई भगवानले रक्षा गरून्।'
उनीहरुसँगै गेटा सभा सदस्यहरू प्राडा हेमराज पन्त, प्राडा जयराज अवस्थी, प्राडा अम्मरराज जोशी, डा.लवदेव अवस्थी, सहप्राध्यापक अनुराधा रोकाया, डा.डम्मरबहादुर पाल र प्राडा संगीता राजभण्डारीक पनि पदमुक्त भएका हुन्।
सरकारले आगामी शैक्षिक सत्रदेखि गेटालाई सञ्चालनमा ल्याउने बताएको थियो। प्रधानमन्त्री वालेन्द्र शाहले गेटाका लागि २ अर्ब ५८ करोड रुपैयाँ बजेट समेत सुनिश्चित गरेको जनाएका थिए।
गेटामा एमबीबीएस अध्ययन/अध्यापनका लागि आवश्यक प्रशासनिक प्रक्रिया पूरा गर्न उपुकलपति प्राडा जोशी सक्रिय थिए। पदमुक्तिसँगै उक्त प्रक्रिया समेत अवरुद्ध भएको छ।
प्राडा जोशीले पदमुक्त गरिने अध्यादेश जारी हुने भएपछि सुदूरपश्चिममा चिकित्सा शिक्षा सुरु गर्ने र त्यहाँका सम्पूर्ण जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउने हाम्रो योजना छिट्टै कार्यान्वयन हुन नसक्ने देखिँदा दुखी भएको बताएका थिए।
उनले भनेका थिए, 'हामी, शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका र रजिस्ट्रार, अब यस विश्वविद्यालयका पदाधिकारी रहेनौं। छोटो अवधिका लागि भए पनि आफ्नो जिम्मेवारीमा रहेर प्रभावकारी रूपमा काम गर्ने अवसर पाएकोमा हामी कृतज्ञ छौं। यस अवधिमा हामीलाई सहयोग र समर्थन गर्नुहुने सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौं। सुदूरपश्चिममा चिकित्सा शिक्षा सुरु गर्ने र त्यहाँका सम्पूर्ण जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउने हाम्रो योजना छिट्टै कार्यान्वयन हुन नसक्ने देखिँदा हामी अत्यन्त दुःखी छौं।'
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा गत पुष २२ गते बसेको विश्वविद्यालयको दोस्रो सिनेट बैठकले उपकुलपतिमा प्राडा जोशी र रजिस्ट्रारमा डा खेमराज जोशीलाई नियुक्त गरेको थियो। तत्कालीन शिक्षामन्त्री महावीर पुनको अध्यक्षतामा बसेको बैठकले सिफारिस भएको नाम स्वीकृत गरेसँगै चार वर्षदेखि अलपत्र रहेको गेटाले शैक्षिक एवं प्रशासनिक नेतृत्व पाएको थियो।
२०८२ असार ४ मा राष्ट्रपति रामचन्द्र पौडेलले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन प्रमाणीकरण गरेका थिए। ऐनअनुसार गत असोज अन्तिममा उपकुलपति, रजिस्ट्रार सिफारिस समिति गठन भएको थियो।
तीनपटक आवेदन खोलेपछि मात्रै उपकुलपतिमा प्राडा जोशीको आवेदन परेको थियो। पहिलोपटक गत कार्तिक १५ गते उपकुलपति छनोटका लागि पहिलो सूचना निकालियो तर कसैको आवेदन परेन।
तत्कालीन शिक्षा मन्त्री महावीर पुनले सामाजिक सञ्जालबाट उपकुलपति बन्न चाहने व्यक्ति सम्पर्कमा आउन आह्वान गरेका थिए। तेस्रो पटक आवेदन माग गर्दा दुई जनाको मात्र दरखास्त परेको थियो। ती मध्ये प्राडा जोशी छनोट भएका थिए।
लामो समय लगाएर २०७८ सालमा भौतिक संरचना निर्माण पूरा भएको थियो। २०८२ पुसमा प्राडा जोशी उपकुलपति नियुक्त भएपछि गेटामा आगामी शैक्षिकसत्रका लागि एमबीबीएस, बीएस्सी एमएलटी, बी–अप्टोमेट्री र नर्सिङ पढाउने तयारी थालिएको थियो। जम्मा १ सय ३० सिटमा विद्यार्थी भर्ना लिने गरी तयारी अघि बढेको थियो।