काठमाडौं — विदेशमा रहेका नेपालीले आफ्नो परिवारको स्याहार प्रत्यक्ष रूपमा गर्न नसक्ने अवस्थालाई मध्यनजर गर्दै ‘मेरोमान्छे’ नामक डिजिटल प्लेटफर्म सार्वजनिक गरिएको छ। नेपाली डायस्पोरालाई लक्षित गर्दै डीएनवाई टेक्नोलोजीले विकास गरेको उक्त प्लेटफर्मको औपचारिक उद्घाटन हिजो सम्पन्न भएको हो।
संस्थाका अध्यक्ष दिपक नेपालले विदेशमा रहेका नेपालीका बाआमा, परिवार तथा आफन्तजनलाई घरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यो प्लेटफर्म तयार गरिएको जानकारी दिए। “विदेशबाट आफ्नो परिवारको स्याहार गर्न नसक्नुको पीडा हरेक नेपाली डायस्पोराले बोकेका हुन्छन्, मेरोमान्छे त्यही खाडललाई पुर्ने एउटा सेतु हो,” उनले भने।
उद्घाटन कार्यक्रममा संस्थामा आवद्ध चिकित्सकहरूलाई ब्याच वितरण गरिएको थियो। प्लेटफर्ममार्फत सामान्य उपचार, नर्सिङ केयर, फिजियोथेरापी तथा ल्याब सेवाहरू उपलब्ध गराइने जनाइएको छ। सो सुबिधा लिन मेरोमान्छे को सम्बन्धित वेबसाइटमा गएर टिकट लिनुपर्ने छ र निकट भबिष्यमा एप एन्ड्रोईड र एप्पल स्टोरमा पनि उपलब्ध हुनेछ ।
नर्सिङ सेवाका लागि केयर ब्रिजसँग सहकार्य गरिएको छ भने सम्पूर्ण ल्याब सेवाका लागि सम्यक डायग्नोस्टिक ले सहयोग गर्ने जनाएको छ। अध्यक्ष नेपाल आफैं एक सफ्टवेयर इन्जिनियर हुन् र हाल अमेरिकामा कार्यरत छन्। आफू विदेशमा रहँदा परिवारको हेरचाह गर्न नसकेको व्यक्तिगत अनुभवबाट यो अवधारणा आएको उनले बताए।
भविष्यमा यही प्लेटफर्ममार्फत विदेशमा रहेका नेपालीका विभिन्न समस्याहरू समाधान गर्ने लक्ष्य राखिएको पनि उनले जानकारी दिए।