भारतको फोर्टिस मेमोरियल रिसर्च इन्स्टिच्युटका क्रिटिकल केयर मेडिसिनका प्रमुख हुन् डा सन्दीप देवान। बल्खुस्थित वयोधा अस्पतालमा क्रिटिकल केयर युनिटका सल्लाहकार समेत रहेका देवान हालै नेपाल आएका थिए। डा देवानसँग क्रिटिकल केयरका विषयमा स्वास्थ्यखबरका लागि बुनु थारुले गरेको कुराकानीः
के कामले नेपाल आउनुभएको हो?
म वर्षको तीन–चार पटक नेपाल आउँछु। नेपाल त मेरो दोस्रो घरजस्तै भइसक्यो। म वयोधा हस्पिटलसँग निर्माणाधीन अवस्थादेखि नै आबद्ध छु। क्रिटिकल केयर युनिटलाई नजिकबाट नियाल्न यहाँ आइपुग्छु। यस अस्पतालमा म सल्लाहकारको रुपमा छु। यहाँ भएको क्रिटिकल केयर सिस्टमलाई नियाल्ने काम गर्छु।
विश्वमा क्रिटिकल केयरको अवस्था कस्तो देख्नुहुन्छ?
विश्वको सन्दर्भमा हेर्ने हो भने एकदम छिटो रुपमा क्रिटिकल केयरको विकास भइरहेको छ। नयाँनयाँ टेक्नोलोजी तथा सफ्टवेयर आइसकेका छन्। बिरामीलाई केही भइहाल्यो भने डाक्टरभन्दा पहिले सफ्टवेयरले थाहा पाउँछ र अलार्म बजाएर अलर्ट पारिदिन्छ। अलार्म बजेपछि बिरामीलाई कसरी सहज बनाउने भनेर छिटो निर्धारण गर्न सक्छौँ र उसको जीवन लम्ब्याउन सक्छौं। यदि एउटा क्रिटिकल केयर युनिटमा १० जना बिरामी छन् भने डाक्टरलाई कुन बिरामी एकदमै सिरियस भनेर थाहा नहुन सक्छ, तर सफ्टवेयरले थाहा पाइसकेको हुन्छ। त्यसैगरी जनशक्ति पनि कम छ यस क्षेत्रमा। तालिमहरु पुग्न सकेको छैन। उपकरण छन् तर मान्छे छैनन्।
भारतमा कस्तो छ क्रिटिकल केयरको अवस्था?
भारतमा यसको अवस्था नेपालमा भन्दा राम्रो छ। भरतमा कति आइसियू बेड छन् भनेर ठ्याक्कै तथ्यांक त छैन, तर मेरो विचारमा २ लाखभन्दा बढी संख्यामा आइसियू बेड हुनुपर्छ। भरतमा पनि क्रिटिकल केयरमा डाक्टरको अभाव रहेको छ। जो धेरै यसमा लागेका छन्, ठूला सहरमा मात्र सीमित छन्। उनीहरु साना सहरमा जान मान्दैनन्। धेरैजसो टेलिआइसियू प्रयोग गरिन्छ। भारतमा टेलिआइसियू प्रदान गर्ने सबैभन्दा ठूलो संस्था हाम्रो हो। हामी ६०० आइसियू बेड व्यवस्थापन गर्दछौं। इआइसियूबाट एउटा डाक्टरले १५० आइसियू बिरामी व्यवस्थापन गर्न सक्छ। सरकारको सहयोग यसमा राम्रो छ। सेवा राम्रो भनेपछि त्यहाँ पैसाको पनि कुरा आउँछ। हामीले जहिल्यै पनि सुलभ तथा गुणस्तरीय सेवा दिन खोजिरहेका छौँ।
नेपालमा यसको अवस्था कस्तो पाउनुभएको छ?
नेपालले पनि क्रिटिकेयरमा राम्रो प्रयास गरिरहेको छ। नेपालमा क्रिटिकल सेवामा राम्रो सेवा दिन डाक्टरहरु लागि परिराखेका छन्। नेपालमा पनि राम्रा गुणस्तर भएका उपकरणहरु छन्। राम्रो टिम पनि छ। तालिम प्राप्त पनि रहेका छन्। मैले सहकार्य गरिरहेको वयोधाले यस क्षेत्रमा राम्रो सेवा दिइराखेको छ। वयोधाको कुरा गर्दा यहाँबाट डाक्टरहरु हाम्रो इन्स्टिच्युटमा तालिमको लागि जाने गरेका छन्। हामी जे भारतमा अभ्यास गर्छौँ त्यहीँ नै उनीहरुलाई पनि सिकाउने गरेका छौँ।
अहिले इआइसियू (इलेक्ट्रोनिक इन्टेनसिभ केयर)को अवधारणा आइसकेको छ, जसलाई टेलिआइसियू पनि भनिन्छ। यो आइसियूमा विकास भएको उच्च प्रविधि हो, जसले अहिले यो सेवालाई निकै सहज बनाइदिएको छ। हामीले वयोधा अस्पतालसँग सहकार्य गरेका छौँ। हामीले टेलिआइसियू मार्फत यहाँको बिरामी पनि हेर्छौँ र डाक्टरलाई पनि सल्लाह–सुझाव दिन्छौं। रातिमा पनि हामीले जुनियर डाक्टर र नर्सहरुलाई त्यहाँबाट कमान्ड गर्न सक्छौँ।
टेली आइसियूको किन महत्व छ? नेपालमा यो किन जरुरी छ?
नेपालमा टेली आइसियूको निकै राम्रो सम्भावना रहेको छ। दूरदराजका बिरामीलाई राजधानीबाटै टेलिमेडिसिनबाट उपचार सेवा दिन सकिन्छ। नेपालमा धेरै विकट क्षेत्रहरु छन्, जहाँ राम्रो अस्पताल आउन उनीहरुलाई निकै समय लाग्छ र खर्च पनि। न त बिरामी राजधानी आउन सक्छन् न त डाक्टरहरु त्यहाँ पुग्न नै। त्यसैले यो आइसियू भयो भने त्यहाँ रहेका सिरियस बिरामीलाई यहीँका विशेषज्ञ डाक्टरले मोनिटर गर्न सक्छन्।
क्रिटिकल केयरमा सम्भावित दुर्घटनाबारे पहिल्याउन एकदम चनाखो र छिटो हुनुपर्छ। जीवन र मृत्युबीचको त्यो समय एकदमै कम हुन्छ। यहाँ वयोधामा आउने बिरामीलाई टेलिआइसियूमार्फत भारतबाट हामी प्रत्यक्ष निगरानी र केयरमा राखिरहेका हुन्छौँ। हामीले रातको समयमा पनि रेजिडेन्ट डाक्टरहरुलाई सहयोग गर्छौँ। यदि केस सिरियस छ भने हामीले कन्सल्टेन्टलाई पनि अलर्ट राख्छौं। बिरामीको हेरचाह र अवस्था हेर्ने हामी अर्को आँखा बनेका छौं।
इआसियूले आइसियूमा हुने गल्ती कम गर्छ। बिरामीको मृत्युदर पनि घट्छ। बिरामीलाई छिटो तथा कम खर्चमा घर पठाउन सकिन्छ। किनभने तपाईंले बिरामीलाई दिउँसोकै जसरी राति पनि हेरचाह गर्नुभयो भने पक्कै पनि छिटो निको हुन्छ, छिट्टै सुधार आउँछ। आइसियूमा बस्नुपर्ने दिनहरु पनि कम हुन्छन्। गुणस्तर र खर्च दुवैमा यो धेरै राम्रो रहेको छ। यो आइसियूमा निकै राम्रो मोडेल हो। बाहिर पनि सफल भएका छन्। अमेरिकामा ४० प्रतिशत टेलिआइसियूबाट मोनिटर गरिन्छ भने भारतमा १२ प्रतिशत टेली आइसियूबाट आइसियू अपरेट हुन्छन्। हामीले यसको अभ्यास विगत ८ वर्षदेखि गरिरहेका छौँ।
नेपालको क्रिटिकल केयरमा के समस्या देख्नुहुन्छ?
क्रिटिकल केयर नयाँ विषय हो। यो गाह्रो काम हो। हरेक डाक्टरले क्रिटिकल केयर अभ्यास गर्न सक्छन्। यसमा उच्चस्तरको विज्ञता हासिल गरेको हुनुपर्छ। धेरै कम मात्रले यसमा तालिम लिएका छन्। त्यसैले धेरै सिनियर डाक्टरहरु पनि छैनन् जसले जुनियरलाई गाइड गर्न सकून्। मेडिकल अभ्यास कसरी सुरु भयो त? सिनियर व्यक्तिले जुनियर व्यक्तिलाई आफूले जानेका, बुझेका कुराहरु सिकाएर भएको हो। नेपालमा अझै पनि सुरुवाती चरणमा छ, क्रिटिकल केयरमा। जुनियरलाई गाइड गर्ने धेरै व्यक्ति नै छैनन्। त्यसैले हामीजस्ता विज्ञहरु भारतबाट यहाँ आएर प्रशिक्षण दिने गरेका छौँ।
मैले नेपालमा उपकरण होइन, जनशक्तिको चुनौती देखेको छु। यहाँ तालिमको कमी रहेको छ। कुन एन्टिबायोटिक चलाउने, कस्तो बिरामीलाई कसरी व्यवस्थापन गर्ने जस्ता कुरामा ध्यान दिइएको छैन। तर यो अवस्थामा सुधार नआउने भन्ने छैन। राम्रा अस्पतालहरु खुलिरहेका छन्, भविष्य छ।
क्रिटिकल केयर किन महत्वपूर्ण छ? यसमा के सुधार ल्याउन जरुरी छ?
अहिले पहिलेभन्दा मान्छेको आयु लम्बिएको छ। स्वास्थ्य क्षेत्र नयाँ प्रविधिको विकास भइरहेका कारण हाम्रो आयु लम्बिएको हो। आयु लम्बिँदै जाँदा आइसियुको खाँचो पनि धेरै रहेको छ। मानिस शिक्षित भइरहेका छन्। उनीहरु राम्रो स्वास्थ्य सेवा र राम्रो आइसियूको चाहना पनि राख्ने गर्छन्। चेतनशील मानिस राम्रो तथा नराम्रो सेवा–सुविधा छुट्याउन सक्छन्।
राम्रो आइसियूको निकै खाँचो छ। सरकारले प्राइभेट सेक्टरलाई पनि सहयोग गर्नुपर्छ, सहकार्य गर्नुपर्छ। नेपाल सरकारले स्वास्थ्य क्षेत्र कसरी विकास गर्ने भनेर सोच्नुपर्छ। काठमाडौंभन्दा बाहिर त झन् राम्रो आइसियू छैन होला। वयोधाले टेलिआइसियूमार्फत धेरै आइसियूलाई कनेक्ट गर्छ भन्ने विश्वास छ। टेक्नोलोजीको प्रयोग गरियो भने विकट ठाउँका पनि बिरामीलाई बचाउन सकिन्छ। टेलिआइसियूबाट व्यवस्थापन गरिनुपर्छ। हामी सरकारसँग काम गर्न इच्छुक छाँै। आइसियूलाई कनेक्ट गर्न उसले सहयोग गर्नसक्छ। साना अस्पतालमा पनि यसको खाँचो छ।
अचेल सबैले राम्रो स्वास्थ्य सेवा खोज्छन्। राम्रो कार्डियोलोजिस्ट, न्युरोलोजिस्ट को हो भनेर सजिलै थाहा पाउन सकिन्छ तर यहाँ सबैभन्दा राम्रो आइसियू कहाँ छ भनेर कतिलाई थाहा छ? जीवन र मृत्युको लेखाजोखा इनटेसिभ केयरमा हुन्छ। राति २ बजे तपाई कुन अस्पतालको आइसियुमा जानुहुन्छ ? त्यो हामीलाई थाहा छैन।
मुख्य कुरा हामीले के हेर्नुपर्छ भने हामी बिरामीलाई कसरी व्यवस्थापन गर्छौँ तिनीहरुको हेरचाह कसरी गर्छौँ त? आइसियू तथा सिसियू किन खोल्नुहुन्छ? पक्कै पनि धेरै जनाको जीवन बचाउनका लागि। क्रिटिकेल केयरमा समस्या भनेको यहाँ इन्टेसिस्टको सर्टेज रहेको छ। क्रिटिकल केयर फिजिसियन पनि कम उत्पादन हुने गरेका छन्। त्यसैले राति बिरामीलाई गाह्रो भयो भने कन्सल्ट गर्ने मान्छे हुँदैन, बिरामीलाई व्यवस्थापन गर्न गाह्रो हुन्छ।
कुनै पनि अस्पतालले आइसियू सेवा राखेको छ भने गुणस्तर मेन्टेन गर्नुपर्छ। कति बिरामी बचायांै, के छ इन्फन्केसन कन्ट्रोल रेट, बिरामीलाई कस्तो सेवा दिंदैछौँ, २४ घन्टे कन्सल्टेन्ट सेवा दिन सकेका छाँै या छैनौँ भनेर सबै विचार गर्नुपर्ने हुन्छ। नेपालमा पक्कै पनि क्रिटिकल केयर पछाडि छ तर इच्छाशक्ति र लगाव भयो भने राम्रो गर्न सकिन्छ।