नेपाल सरकारको आयुर्वेदिक औषधि उत्पादन गर्ने संस्था हो, सिंहदरबार वैद्यखाना। सयौँ वर्षको इतिहास बोकेको सिंहदरबार वैद्यखानाले समयसापेक्ष आफूलाई परिवर्तन गर्न वा परिमार्जन गर्न सकेको छैन।
चल्नकै लागि चल्नुबाहेक अहिले वैद्यखानाको प्रगति छैन। आयुर्वेदिक औषधिको उत्पादन र बिक्री–वितरण गर्ने, नयाँ औषधिको अध्ययन र उत्पादन गर्ने कार्य सुस्त गतिमा छ।
कहिले नेतृत्वको विवाद र कहिले अपुग बजेटको मारमा पर्दै आएको छ वैद्यखाना। कुनै समय वैद्यखानाले उत्पादन गर्ने औषधिको विश्वसनीय र गुणस्तरबारे सर्वत्र चर्चा हुन्थ्यो। तर अहिले वैद्यखानालाई नयाँ कम्पनीहरुले विस्थापित गर्न थालिसकेका छन्। आम नागरिकले वैद्यखानालाई बिर्सन लागेको अवस्था छ।
एक सय १२० थरीका औषधि उत्पादन गर्ने वैद्यखानाले औषधि उत्पादन क्षमता घटाउँदै लग्यो। समयअनुसार बढाउनुपर्ने उत्पादन घटाउनु र नयाँ प्रविधि र उपकरणसहित आफूलाई रुपान्तरण नगर्दा वैद्यखानाको साख घटेको बताइन्छ। विश्व स्वास्थ्य संगठनको मापदन्डअनुसार औषधि उत्पादन गर्ने वर्षौंदेखिको लक्ष्य वैद्यखानाले अझै भेटाउन सकेको छैन। कुशल उत्पादन प्रक्रिया अर्थात गुड म्यानुफ्याक्चरिङ प्राक्टिस (जिएमपी) मा जान लामो समयदेखि गरेको पहल छिट्टै पूरा हुने देखिँदैन।
सिंहदरबार वैद्यखाना विकास समितिका निमित्त कार्यालय प्रमुख डा हरिदेवप्रसाद यादव जिएमपीमा जानका लागि तयारी भइरहेको बताउँछन्। उनी भन्छन्, ‘सविधान लेख्न दुई वर्षको मात्र दिइएको समय थियो तर १० वर्ष लाग्यो नि, भित्र काम त भइरहेको थियो। त्यस्तै हो जिएमपी पनि। हामीले काम गरिरहेका छौँ, भवन बन्ने र नयाँ उपकरण राख्ने काम भइरहेको छ, छिट्टै यो उद्देश्य पूरा हुन्छ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्र्तगतको वैद्यखानालाई सुधार गर्न मन्त्रालयबाटै पनि चासो राखेको पाइँदैन। मन्त्रालयले हरेक वर्ष वैद्यखानाका लागि करिब दुईदेखि तीन करोडसम्म बजेट विनियोजन गर्छ भने बाँकी बजेट विकास समितिअन्र्तगत छ। चालू आर्थिक वर्षमा सात करोड रुपैयाँ बजेट विकास समितिले छुट्याएको छ।
जिएमपीमा जानका लागि एक करोड रुपैयाँ मन्त्रालयले दिएको छ। वर्षमा १ सय २० भन्दा बढी थरीका औषधि उत्पादन गर्ने वैद्यखानाले अहिले करिब सय थरीभन्दा कम मात्र औषधि उत्पादन गर्दै आएको छ।
वैद्यखानाका निमित्त कार्यालय प्रमुख यादव भने वैद्यखानालाई लक्ष्यअनुसार नै अघि बढाइएको दावी गर्छन्। उनी भन्छन्, ‘हामीले औषधि उत्पादन गरिरहेका छौँ, हाम्रा सबै औषधि बजारमा खपत पनि भइरहेका छन्, कुनै समस्या छैन।’
सिंहदरबार वैद्यखानाले के–के औषधि उत्पादन गर्छ भन्ने जानकारी भने जनतालाई गराइएको पाइँदैन। न त यसको बजार प्रवद्र्धन नै छ। सधैं झारा टार्ने शैलीमा अघि बढेको वैद्यखानासँग आगामी दिनका लागि गतिलो योजनासमेत छैन। पुरानो जानकारीका आधारमा जनताले औषधि खोज्ने गरेका छन्।
‘हामीले सातै प्रदेशमा वैद्यखानाका शाखा खोल्ने तयारी गरेका छौँ, सबै प्रदेशमा शाखा भएपछि त्यहींको वातावरणनुकूलका औषधि उत्पादन गर्न सकिन्छ,’ यादव भन्छन्। तर, यसका लागि के–के तयारी छ, मन्त्रालयमा कस्तो खाले प्रस्ताव गरिएको छ भन्ने प्रश्नको उनीसँग जवाफ छैन। किनभने त्यसबारे अहिलेसम्म लिखित प्रस्ताव नै तयार भएको छैन। कुन प्रदेशमा कस्तो खालका वनस्पती, जडिबुटी पाइन्छ, कस्ता औषधि उत्पादन गर्न सकिन्छ भन्ने कुनै अध्ययन पनि भएको छैन।
हरेक प्रदेशमा शाखा खोल्दा बजेट, जनशक्ति, औषधि उत्पादनका लागि भौतिक संरचना बारेमा कुनै तयारी वैद्यखानासँग छैन। निमित्त प्रमुख यादव यसका लागि बजेट, जनशक्ति र उपकरण व्यवस्था गर्ने काम सरकारको भएको बताउँछन्।
सिंहदरबार वैद्यखानाले गत आर्थिक वर्षमा करिब ५ करोड रुपैयाँ बराबरको औषधि बिक्री गरेको उनको भनाइ छ। त्यसमध्ये ३ करोड रुपैयाँको औषधि आयुर्वेद विभागले खरिद गरेको र बाँकी वैद्यखानाले बिक्री गरेको यादवले बताए। ‘विभागले माग गर्ने हो, आवश्यकता र मागअनुसारको औषधि उत्पादन गर्ने क्षमता वैद्यखानासँग छ,’ उनी दावी गर्छन्।
सरकारले जडिबुटी प्रशोधन केन्द्र खोलिदिने र आवश्यक जडिबुटीका लागि डेन्डर गर्न नपर्ने हो भने समयमै आवश्यक सबैखाले औषधि बन्नसक्ने वैद्यखानाको भनाइ छ। इतिहासकै बलमा टिकिरहेको वैद्यखानालाई नयाँ स्वरुप दिन राजनीतिक हस्तक्षेप र हिनामिना रोक्नुपर्ने देखिन्छ।