शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय (जसलाई गेटा मेडिकल कलेज भनेर पनि चिनिन्छ) सुदूरपश्चिम प्रदेशमा स्थापना गर्ने बहस करिब तीन दशकदेखि चल्दै आएको छ। विभिन्न राजनीतिक, प्रशासनिक तथा आर्थिक अवरोधहरू पार गर्दै अब यो विश्वविद्यालय एमबीबीएसमा ५० सिट, बीडीएसमा ३० सिट, नर्सिङमा ३० सिट, बीएससी एमएलटीमा २० सिट र बी-अप्टोमेट्रीमा २० सिटसहित पूर्ण रूपमा सञ्चालन हुने चरणमा पुगेको छ।
यो सुदूरपश्चिम प्रदेशका लागि मात्र ऐतिहासिक उपलब्धि होइन, बरु समग्र नेपालमा एकीकृत स्वास्थ्य शिक्षाको नयाँ मोडेल विकास गर्ने सुनौलो अवसर पनि हो। मेडिकल कलेजलाई केवल डाक्टर उत्पादन गर्ने कारखाना मात्र नभई राष्ट्रिय स्वास्थ्य नीतिको नेतृत्व गर्ने बौद्धिक केन्द्रको रूपमा विकास गरिनुपर्छ।
आजको मुख्य स्वास्थ्य चुनौती: नसर्ने रोगको महामारी
नेपालसहित विश्वभर नसर्ने रोगहरू महामारीका रूपमा फैलिँदै छन्। हृदयरोग, मधुमेह, उच्च रक्तचाप, विभिन्न प्रकारका क्यान्सर, मिर्गौला रोग, मोटोपना तथा मानसिक स्वास्थ्य समस्याहरू तीव्र गतिमा बढिरहेका छन्।
स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/७९ मा नेपालमा कुल मृत्युको ७१ प्रतिशत हिस्सा नसर्ने रोगका कारण भएको थियो। विश्व स्वास्थ्य सङ्गठनका अनुसार नसर्ने रोगले विश्वमा हरेक वर्ष करिब ४१ मिलियन मानिसको मृत्यु गराउँछन्, जसमध्ये ७७ प्रतिशत मृत्यु विकासशील देशहरूमा हुने गर्दछ।
आधुनिक चिकित्सा प्रणालीले पछिल्ला २०० वर्षमा उल्लेखनीय प्रगति गरेको छ, तर नसर्ने रोगको रोकथाम र दीर्घकालीन व्यवस्थापनमा पर्याप्त सफलता पाउन सकेको छैन। यो यथार्थले एउटा आधारभूत प्रश्न खडा गर्छ- के एउटै चिकित्सा प्रणालीले मात्र सबै स्वास्थ्य चुनौती समाधान गर्न सक्छ?
आयुर्वेदको वैज्ञानिक आधार र नेपालको सम्भावना
आयुर्वेद शास्त्रीय प्रमाणमा आधारित वैज्ञानिक चिकित्सा प्रणाली हो। नेपालमा दुई हजारभन्दा बढी औषधीय गुणयुक्त जडीबुटी पाइन्छन्। सुदूरपश्चिम प्रदेश यस्ता बहुमूल्य जडीबुटीहरूको उर्वर भूमि हो। यिनलाई स्वदेशमै सदुपयोग गर्न सके ठूलो स्वास्थ्य तथा आर्थिक लाभ हुन सक्छ।
सफल अन्तर्राष्ट्रिय मोडेलबाट सिकाइ:
भारतले आयुष मन्त्रालयमार्फत आधुनिक चिकित्सा र आयुर्वेद लगायतका अन्य चिकित्सा पद्धतिलाई एकीकृत रूपमा सफलतापूर्वक सञ्चालन गर्दै आएको छ। अखिल भारतीय आयुर्विज्ञान संस्थानले दुवै प्रणालीको समन्वयबाट उत्कृष्ट नतिजा हासिल गरेको छ। चीनले पनि परम्परागत चिनियाँ औषधिलाई आधुनिक स्वास्थ्य प्रणालीमा एकीकृत गरेर विश्वमै उदाहरण प्रस्तुत गरेको छ। नेपालले गेटा मेडिकल कलेजलाई यस्तै नमुना बनाउन सक्छ।
एकीकृत मोडेलको प्रस्ताव: गेटा मेडिकल कलेजको अनुपम अवसर
यदि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले आधुनिक चिकित्सा र आयुर्वेद दुवै सङ्कायलाई समन्वित रूपमा सञ्चालन गर्छ भने यसले स्वास्थ्य क्षेत्रमा ठोस परिवर्तन ल्याउन सक्छ।
व्यावहारिक कार्यान्वयनका लागि सुझावहरू:
एकीकृत स्वास्थ्य शिक्षालाई प्रभावकारी बनाउन निम्नानुसारका व्यावहारिक कदम चाल्न सकिन्छ:
पहिलो चरणमा बीएएमएस र एमबीबीएस दुवै कार्यक्रम एकैसाथ सञ्चालन गर्ने।
अन्तर-अनुशासनिक समिति गठन गरी साझा पाठ्यक्रम तयार पार्ने।
एमबीबीएस पाठ्यक्रममा अनिवार्य रूपमा आयुर्वेद तथा वैकल्पिक चिकित्साको विशेषता, महत्त्व, आधारभूत सिद्धान्त र प्रेषण प्रक्रिया समावेश गर्ने।
प्रेषण प्रणालीविकास गर्ने - जसमा आधुनिक चिकित्सकले आवश्यक पर्दा आयुर्वेदिक उपचारमा र आयुर्वेदिक चिकित्सकले आधुनिक उपचारमा बिरामीलाई पठाउन सकून्।
एकीकृत अस्पताल स्थापना गर्ने।
जडीबुटी अनुसन्धान तथा विकास केन्द्र स्थापना गर्ने।
विद्यार्थी तथा प्राध्यापक आदानप्रदान कार्यक्रम सञ्चालन गर्ने।
संयुक्त अनुसन्धान परियोजना र 'केस स्टडी'लाई प्रोत्साहन दिने।
एकीकृत मोडेलले दिने ठोस फाइदाहरू:
१. रोग रोकथाममा जोड: विद्यार्थीहरूले आहार, दिनचर्या, जीवनशैली र समग्र स्वास्थ्यबारे गहिरो ज्ञान प्राप्त गर्नेछन्।
२. संयुक्त अनुसन्धान: एकीकृत अनुसन्धानमार्फत नेपालले विश्वमै नयाँ उदाहरण प्रस्तुत गर्न सक्छ।
३. बिरामी केन्द्रित उपचार: बिरामीलाई सुरक्षित, सस्तो र दीर्घकालीन उपचारका विकल्पहरू उपलब्ध हुन्छन्।
४. आर्थिक लाभ: स्थानीय जडीबुटीमा आधारित उत्पादन र अनुसन्धानले सुदूरपश्चिमको अर्थतन्त्र बलियो बनाउँछ।
आयुर्वेदको मूल सिद्धान्त "स्वस्थस्य स्वास्थ्य रक्षणम्, आतुरस्य विकार प्रशमनम् च" (स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा गर्नु र रोगीको रोग निको पार्नु) आजको समयमा अत्यन्त सान्दर्भिक छ।
नेपालका लागि अवसर:
सरकारले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई नेपालको पहिलो एकीकृत स्वास्थ्य विज्ञान विश्वविद्यालय घोषणा गर्नुपर्छ।
यो मोडेल सफल भएमा देशभर विस्तार गर्न सकिन्छ। यो केवल एउटा कलेजको मुद्दा होइन- यो नेपालको स्वास्थ्य स्वतन्त्रता, आत्मनिर्भरता र उज्ज्वल स्वास्थ्य भविष्यको मुद्दा हो। समय आएको छ — गेटा मेडिकल कलेजलाई एकीकृत स्वास्थ्य शिक्षाको राष्ट्रिय नमुना बनाउने। सरकार, विश्वविद्यालय सञ्चालक समिति र स्वास्थ्य विज्ञहरूले यो ऐतिहासिक अवसरलाई तत्काल सदुपयोग गर्नुपर्दछ।
(आयुर्वेद चिकित्सक डा. सुमन सत्याल जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, दार्चुलाका प्रमुख हुन्।)