नेपालको स्वास्थ्य क्षेत्रको मेरुदण्डका रूपमा चिनिने नेपाल चिकित्सक संघ यतिबेला आफ्नै सदस्यहरूको तीव्र आलोचना र अविश्वासको घेरामा छ। सामाजिक सञ्जालदेखि अस्पतालका ड्युटी रुमसम्म एउटै स्वर सुनिन्छ- 'हाम्रो संघले हाम्रा लागि के गर्यो?' विशेष गरी युवा चिकित्सकहरूमा देखिएको यो चरम निराशा र अविश्वासको पारो संस्थाका लागि मात्र होइन, समग्र चिकित्सा क्षेत्रकै व्यावसायिक सुरक्षाका लागि चिन्ताको विषय बनेको छ।
चिकित्सकहरूमा संस्थाप्रति अविश्वास हुनु कुनै पनि हिसाबले सुखद संकेत होइन। एउटा व्यावसायिक संगठनको सबैभन्दा ठूलो पुँजी नै उसका सदस्यहरूको ऐक्यबद्धता र भरोसा हो। जब सदस्यहरूले नै आफ्नो अभिभावक संस्थालाई शंकाको दृष्टिले हेर्न थाल्छन्, तब संस्थाको ‘बार्गेनिङ पावर’ (वार्ता शक्ति) कमजोर हुन्छ। कार्यस्थलमा हुने हिंसा, पारिश्रमिकको मुद्दा र वृत्तिविकासका सवालमा सरकार वा सरोकारवाला निकायसँग टेबलमा बस्दा संघको पछाडि हजारौँ चिकित्सकहरूको बलियो साथ हुनु अनिवार्य छ। अविश्वासले संघलाई मात्र होइन, चिकित्सकहरूको साझा मुद्दालाई नै रक्षात्मक र कमजोर बनाउँछ।
तर, के संघले अहिलेसम्म साँच्चै केही नगरेकै हो त? 'संघले केही गरेन' भनेर एकमुष्ट रूपमा दुखेसो पोख्नु वा संस्थालाई गाली गर्नु कत्तिको न्यायोचित छ? भावनाको आवेग एकातिर होला, तर तथ्य र इतिहासलाई हेर्दा संघको भूमिकालाई नजरअन्दाज गर्न मिल्दैन। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन (२०६६ र संशोधित २०७९) ल्याउन र 'जेल विथआउट बेल' अर्थात् 'नन-बेलेबल अफेन्स' व्यवस्थाको प्रावधानलाई कानुनी रूप दिन संघले सडकदेखि सदनसम्म खेलेको भूमिका ऐतिहासिक छ। चिकित्सकहरूको सेवा–सुविधा, शैक्षिक कोटा र अन्तर्राष्ट्रिय मञ्चमा नेपाली चिकित्सकको पहिचान स्थापित गर्न संघ निरन्तर क्रियाशील रहँदै आएको छ।
हो, संघको नेतृत्व कतिपय अवस्थामा राजनीतिक दलको छहारीमा अल्मलिएको जस्तो देखिनु, युवा चिकित्सकका तात्कालिक समस्या (जस्तै: न्यून पारिश्रमिक, कार्यबोझ र सुरक्षा) लाई तत्काल सम्बोधन गर्न नसक्नु र प्रशासनिक सुस्तता हुनु यसका कमजोरी हुन सक्छन्। कमजोरी पनि भन्ने त कुन आधारमा भन्ने। सरकारको अनुहार जति पटक फेरिए पनि चिकित्सकहरूको हकहितका लागि नेपाल चिकित्सक संघको आवाज कहिल्यै मलिन भएन। हरेक नयाँ नेतृत्वसँगै चिकित्सकका मागहरूलाई टेबुलमा राखेर समाधानका लागि दबाब दिइरहनु संघको कमजोरी होइन, बरु आफ्नो पेशागत मर्यादाप्रतिको अविचलित निष्ठा हो। नेपाल चिकित्सक संघले सत्ता समीकरणको जोडघटाउमा अल्झिएर बस्न जानेन। बरु, हरेक नयाँ सरकारलाई स्वास्थ्य क्षेत्रका समस्या र चिकित्सकका पीडा बुझाउन संघले निरन्तर खबरदारी र साहसी लबिङ गरिरह्यो। यो चिकित्सकहरूको सुरक्षित कार्यस्थल र उचित सम्मानका लागि गरिएको एउटा अथक संघर्ष हो। देशको अस्थिर राजनीतिले स्वास्थ्य नीतिमा पार्ने असरलाई चिर्दै चिकित्सक संघको स्थिर संकल्पले सधैं चिकित्सकहरूको साझा समस्यालाई सरकारको प्राथमिकतामा पार्न सफल भएको छ। माग पूरा नभएसम्म र सरकारले चिकित्सकको आवाज नसुनेसम्म संघको यो दौडधुप र दबाब जारी रहनु नै यसको क्रियाशीलताको प्रमाण हो।
सत्ता परिवर्तन हुनु चिकित्सकहरूका लागि नयाँ अवसर र नयाँ चुनौती दुवै हो। त्यसैले, हरेक नयाँ मन्त्री र प्रधानमन्त्रीलाई चिकित्सकका मुद्दामा जिम्मेवार बनाउन संघले गरिरहेको बारम्बारको पहलकदमीले नै आज धेरै विषयहरू नीतिगत तहमा पुग्न सफल भएका छन्। तर, एउटा प्रजातान्त्रिक संस्थाभित्र देखिएका यी कमजोरीलाई सुधार्ने जिम्मा पनि सदस्यहरूकै हो। संस्था बाहिर बसेर ढुंगा हान्नुभन्दा संस्था भित्रै पसेर रचनात्मक हस्तक्षेप गर्नु बढी फलदायी हुन्छ।
जसरी चिकित्सकहरूले बिरामीको उपचार गर्दा धैर्यता राख्छन्, त्यसरी नै आफ्नो पेशागत संस्थाको सुधारका लागि पनि धैर्य र सक्रियता आवश्यक छ। संघका कमजोरीलाई औँल्याउनु सदस्यको अधिकार हो, तर संस्थाको अस्तित्व र गरिमालाई नै धुलिसात पार्ने गरी अविश्वास व्यक्त गर्नुले अन्ततः चिकित्सकहरूकै हितमा कुठाराघात गर्छ।
अहिलेको समय गुनासो मात्र गरेर बस्ने समय होइन। संघको नेतृत्वले पनि आफ्ना सदस्यहरूको मनोभावना बुझेर पारदर्शी र उत्तरदायी बन्नुपर्छ भने सदस्यहरूले पनि संस्थालाई बलियो बनाउन आफ्नो सहभागिता सुनिश्चित गर्नुपर्छ। नेपाल चिकित्सक संघ एउटा व्यक्ति वा एउटा कार्यसमिति मात्र होइन, यो त दशौँ हजार चिकित्सकहरूको साझा घर हो। यो घरलाई भत्काउन होइन, यसको जग बलियो बनाउन सबैले आ–आफ्नो तर्फबाट इँटा थप्नुपर्ने बेला आएको छ।
अविश्वास र निराशालाई ऊर्जामा बदलौँ। बलियो संघले मात्र सुरक्षित चिकित्सक र गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता गर्न सक्छ।
नेपालमा चिकित्सकहरूले भोग्नुपरेको न्यून पारिश्रमिक र असुरक्षाकै कारण ठूलो संख्यामा जनशक्ति विदेश पलायन भइरहेको सन्दर्भमा नेपाल चिकित्सक संघ अत्यन्तै गम्भीर, सचेत र चिन्तित छ। यद्यपि, यो निराशाको समय मात्र होइन, सुधारको अवसर पनि हो। चिकित्सकहरू केवल सेवाग्राहीका उपचारक मात्र नभई राज्यका आधारस्तम्भ हुन्। उनीहरूको मनोबल उच्च राख्न राज्य र समाज दुवैले सुरक्षा, सम्मान, नीतिगत स्थिरता र आर्थिक प्रोत्साहनको ग्यारेन्टी गर्नुपर्छ। नागरिकको साथ, सहयोग र सकारात्मक दृष्टिकोणले नै राष्ट्र, समाज र चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल उच्च रहन्छ।
संघको पहलमा हालसम्म प्राप्त गरेका केही मुख्य उपलब्धिहरू यस प्रकार छन्:
नेपाल चिकित्सक संघ (NMA) ले हालसम्म नेपाली चिकित्सकहरूको हकहित र स्वास्थ्य क्षेत्रको सुधारका लागि विभिन्न उपलब्धिहरू हासिल गरेको छ। संघका मुख्य उपलब्धिहरू यस प्रकार छन्:
१. तलब वृद्धि र न्यूनतम पारिश्रमिक:
नेपाल चिकित्सक संघले लामो समयदेखि चिकित्सकहरूको सेवा–सुविधा र लोक सेवा आयोगमार्फत स्थायी पदपूर्तिका लागि निरन्तर दबाब दिँदै आएको छ, जसअनुसार:
- स्वास्थ्य मन्त्रालयले गठन गरेको अध्ययन समितिले चिकित्सकहरूको मासिक तलब १ लाखदेखि २ लाख ५० हजारसम्म पुर्याउन सिफारिस गरेको छ।
- आवासीय चिकित्सकको तलब वृद्धि: कडा आन्दोलन र एनएमएको पहलपछि नेपाल सरकारले आवासीय चिकित्सकको भत्ता वृद्धि गरी ४८,७३७ रुपैयाँ कायम गरेको छ, जुन सरकारी आठौँ तहको अधिकृत सरह हो।
- लोक सेवाको विज्ञापन: स्वास्थ्य मन्त्रालयले ओएनएम सर्वे सम्पन्न गरी स्वास्थ्य सेवामा जनशक्तिको अभाव टार्न सरकारले एकैपटक ५०० चिकित्सक लोक सेवा आयोगमार्फत भर्ना गर्ने तयारी गरिरहेको छ। यसका लागि मन्त्रिपरिषद्बाट समेत स्वीकृति प्राप्त भइसकेको जनाइएको छ।
२. सदस्यता र संगठन:
संघले हालसम्म १४,००० भन्दा बढी चिकित्सकहरूलाई आफ्नो सदस्यता प्रदान गरिसकेको छ। यसले देशभरका चिकित्सकहरूलाई एउटै छातामुनि गोलबद्ध गर्न सफल भएको छ।
३. प्राज्ञिक योगदान:
संघको आधिकारिक जर्नल जेएनएमए मार्फत हालसम्म २०,००० भन्दा बढी अनुसन्धानमूलक लेखहरू प्रकाशित भइसकेका छन्। यसले नेपालको चिकित्सा अनुसन्धानलाई विश्वस्तरमा चिनाउन मद्दत पुर्याएको छ।
४. कोभिड–१९ महामारीमा भूमिका:
कोरोना महामारीको समयमा संघले ‘टेलिमेडिसिन सेन्टर’ र ‘कल सेन्टर’ सञ्चालन गरी बिरामीहरूलाई परामर्श दिएको थियो। साथै, स्वास्थ्यकर्मीहरूका लागि क्रिटिकल केयर तालिम र व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) वितरणमा पनि महत्वपूर्ण भूमिका खेलेको थियो।
५. चिकित्सकहरूको सुरक्षा र पैरवी:
‘जेल विदाउट बेल’ (बिना धरौटी जेल) जस्ता कानुनको कार्यान्वयनका लागि दबाब दिँदै चिकित्सकमाथि हुने हिंसा न्यूनीकरणका लागि पैरवी गर्दै आएको छ।
६. तालिम र छात्रवृत्ति:
चिकित्सा क्षेत्रका विद्यार्थी र प्रशिक्षार्थीहरूका लागि ५०० भन्दा बढी छात्रवृत्ति प्रदान गरेको छ र १५०० भन्दा बढी प्रशिक्षार्थीहरूलाई विशेष तालिम दिएको छ।
७. स्वास्थ्य सम्मेलनहरू:
संघले नियमित रूपमा एनएमए नेसनल हेल्थ समिट आयोजना गर्दै आएको छ, जसले स्वास्थ्य नीति निर्माणमा सरकारलाई सुझाव दिने गर्दछ।
८. अन्तर्राष्ट्रिय सम्बन्ध:
नेपालको स्वास्थ्य क्षेत्रका मुद्दाहरूलाई अन्तर्राष्ट्रिय मञ्चहरूमा पुर्याउन र वैदेशिक सहायता (जस्तै: अनुसन्धानमूलक कार्य, अन्तर्राष्ट्रिय तालिम, मेडिकल उपकरण सहयोग) जुटाउन समन्वयकारी भूमिका निर्वाह गरेको छ।