काठमाडौं- नेपाल मेडिकल काउन्सिलको अनुमति नलिइ आईभीएफ सम्बन्धी परामर्श सेवा काठमाडौंको होटल याक एण्ड यतीमा सञ्चालन हुने जानकारीपछि नेपाल मेडिकल काउन्सिलले स्थलगत अनुगमन र छानबिन गरेको छ।
अनुगमनका क्रममा कार्यक्रममा संलग्न भारतीय चिकित्सक डा. जयदीप मल्होत्रा र डा. नरेन्द्र मल्होत्रासँग प्रत्यक्ष छलफल गरिएको काउन्सिललका जनाएको छ। छलफलमा चिकित्सकहरूले कार्यक्रम सञ्चालनका लागि आवश्यक कानुनी प्रक्रिया र पूर्वस्वीकृतिबारे पर्याप्त जानकारी नभएको स्वीकार गरेका छन्। उनीहरूले उक्त कार्य अनविज्ञतावश भएको भन्दै लिखित रूपमा क्षमायाचना पेश गरेका छन् र आगामी दिनमा नेपालका प्रचलित कानुनी प्रावधानहरूको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका छन्।
यस घटनामा नेपाल मेडिकल काउन्सिलले जिल्ला प्रशासन कार्यालय, काठमाडौंसँग समन्वय गर्दै आवश्यक कदम चालिएको जनाएको छ। साथै, नेपाल प्रहरीको सहयोगले अनुगमन कार्य प्रभावकारी बनेको काउन्सिलको भनाइ छ।
प्रारम्भिक मूल्याङ्कनअनुसार कार्यक्रम सञ्चालनअघि नेपाल मेडिकल काउन्सिलबाट आवश्यक स्वीकृति लिइएको नदेखिएपछि काउन्सिलले एक्सन लिएको थियो। यद्यपि, सम्बन्धित पक्षले त्रुटि स्वीकार गरी सुधारको प्रतिबद्धता जनाएपछि काउन्सिलले यस विषयलाई नियमन र सचेतनामूलक दृष्टिकोणबाट अघि बढाएको जनाएको छ।
काउन्सिलले सबै चिकित्सक तथा स्वास्थ्य संस्थाहरूलाई प्रचलित ऐन, नियम र आचारसंहिताको पूर्ण पालना गर्न पुनः आग्रह गरेको छ। विशेषगरी विदेशी चिकित्सक संलग्न हुने कुनै पनि स्वास्थ्य सेवा वा परामर्श कार्यक्रम सञ्चालन गर्नुअघि अनिवार्य रूपमा काउन्सिलबाट पूर्व स्वीकृति लिनुपर्ने स्पष्ट गरिएको छ।
नेपाल मेडिकल काउन्सिलले यस्ता गतिविधिहरूको निरन्तर अनुगमन गरिरहेको उल्लेख गर्दै भविष्यमा यस्ता घटना दोहोरिएमा प्रचलित कानुनअनुसार कारबाही अघि बढाइने चेतावनी दिएको छ।