काठमाडौं – स्वास्थ्य क्षेत्रमा क्रियाशील विभिन्न १४ वटा संयुक्त पेसागत संगठनहरूको कडा दबाबपछि सरकार स्वास्थ्यकर्मीहरूलाई पनि सातामा दुई दिन बिदा दिने विषयमा सकारात्मक देखिएको छ।
नेपाल चिकित्सक अध्यक्ष डा. अनिल विक्रम कार्कीको संयोजकत्वमा रहेको पेसागत संगठनहरूको दबाबपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज भएको छलफलमा सरकारले लचकता देखाएको हो।
स्वास्थ्य मन्त्री निशा मेहता, सचिव डा विकास देवकोटा र मन्त्रालयका उच्च अधिकारीहरूसहित १४ संगठनका तर्फबाट नेपाल चिकित्सक संघका महासचिव डा सञ्जिब तिवारी, १४ वटा संयुक्त पेसागत संगठनहरूको सदि्य सचिव माइकल देवकोटा लगाएतका प्रतिनिधिहरुको छलफल भएको थियो। छलफलमा अन्य सरकारी कार्यालयमा जस्तै अस्पताल तथा स्वास्थ्य संस्थामा पनि आकस्मिक र अन्तरंग विभाग बाहेक ओपिडी लगायतका क्षेत्रमा बिदा दिने सरकार सकारात्मक रहेको र यसको कार्यान्वयनका मोडालिटीबारे थप गृहकार्य गर्ने अनौपचारिक सहमति भएको बताइएको छ।
छलफलमा सहभागी चिकित्सक संघका महासचिव डा तिवारीले यस विषयमा सकारात्मक छलफल अगाडि बढेको मात्र प्रतिक्रिया दिए। 'मन्त्रालयमा आज छलफल भएको छ। छलफल सकारात्मक रुपमा अगाडि बढीरहेको छ,' उनले भने।
मन्त्रिपरिषद्ले २०८२ चैत २२ गते गरेको निर्णयअनुसार सरकारी कर्मचारीहरूलाई सातामा दुई दिन बिदा दिने व्यवस्था गरेको थियो। तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने मन्त्रिपरिषद्को उक्त निर्णयविपरीत स्वास्थ्य क्षेत्रमा दुई दिन बिदा लागू नगर्ने अडान लिएको थियो। मन्त्रालयले आइतबार पनि ओपीडीसेवा सञ्चालन गर्न निर्देशन दिएपछि देशभरका सरकारी अस्पताल र स्वास्थ्यकर्मीहरूमा दबाब सिर्जना भएको थियो।
स्वास्थ्य क्षेत्रका १४ वटा संगठनहरूले मन्त्रालयको उक्त निर्णय कानुनी रूपमा कार्यान्वयनयोग्य नभएको ठहर गर्दै एकजुट भएका छन्। डेन्टल हाइजेनिस्ट माइकल देवकोटा सदस्य सचिव रहेको यस समूहले संयुक्त विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को निर्णय सबै सरकारी कर्मचारीमा समान रूपले लागू हुनुपर्ने माग गरेको छ।
'लामो समयदेखि स्वास्थ्य क्षेत्रमा आवश्यक जनशक्तिको अभाव र संगठन संरचनाको कमजोरीका कारण स्वास्थ्यकर्मीहरू अत्यधिक कार्यबोझमा परिरहेका छन्। यसले मानसिक तनावसहित विभिन्न गम्भीर समस्या निम्त्याएको छ। मन्त्रिपरिषद्को निर्णयविपरीत स्वास्थ्यकर्मीलाई मात्र विभेद गरिनु न्यायसंगत छैन,' उनीहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
संगठनहरूले आफ्ना माग पूरा नभए संयुक्त रूपमा कडा आन्दोलनमा उत्रने चेतावनी दिएपछि मन्त्रालयले आज सरोकारवाला पक्षलाई छलफलका लागि बोलाएको थियो। छलफलका क्रममा स्वास्थ्यकर्मीहरूको कार्यबोझ र मानसिक स्वास्थ्यको गम्भीरतालाई ध्यानमा राख्दै सरकारले दुई दिन बिदाको व्यवस्थालाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेबारे अध्ययन गर्ने बताएको छ।