काठमाडौं- प्रतिनिधिसभाको बैठकमा सम्माननीय प्रधानमन्त्री वालन्द्र शाह समक्ष सांसद समिक्षा बास्कोटाले स्वास्थ्य क्षेत्रका दुई प्रमुख विषयमा गम्भीर ध्यानाकर्षण गरेकी छिन् । उनले स्वास्थ्य सेवाको गुणस्तर उकास्न जनशक्ति थप गर्नुपर्ने र देशभरका स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई व्यवस्थित गर्न एकीकृत छाता ऐन बनाउनुपर्ने बताएकी हुन् ।
हिजो प्रधानमन्त्री समक्ष उठाएको विषयमा सांसद बास्कोटाले स्वास्थ्य क्षेत्रको मानव संसाधन (जनशक्ति) बारे उल्लेख गर्दै भनिन्, 'बि.सं. २०४८ सालमा करिब १४ सयको संख्या रहेको स्वास्थ्यकर्मीको दरबन्दी आज ३४ वर्षपछि पनि उल्लेखनीय रूपमा बढ्न सकेको छैन । सीमित स्वास्थ्य जनशक्तिबाट सेवा प्रवाह गर्दा ‘गुणस्तरीय स्वास्थ्य सेवा’ केवल नारामा सीमित हुने जोखिम बढ्दै गएको छ । त्यसैले, आवश्यकताका आधारमा समयोचित जनशक्ति थप गर्न जरुरी रहेको छ।'
यसैगरी, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धमा उनले भनेकी छिन्, 'देशभर सञ्चालनमा रहेका स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुशासन, समन्वय र गुणस्तरमा चुनौती देखिएको छ । त्यसैले यी संस्थालाई एकीकृत छाता ऐनमार्फत व्यवस्थित गर्दै एकीकृत ढङ्गले अघि बढाउन आवश्यक रहेको छ।'
सांसद बास्कोटाको यो भनाइले स्वास्थ्य क्षेत्रमा जनशक्ति अभाव र संस्थागत व्यवस्थापनको कमीले गुणस्तरीय सेवा प्रभावित भइरहेको तथ्यलाई उजागर गरेको छ । विशेष गरी ३४ वर्षमा स्वास्थ्यकर्मीको दरबन्दीमा न्यून वृद्धिले ग्रामीण तथा दुर्गम क्षेत्रमा सेवा प्रवाहमा चुनौती थपिरहेको उनले उल्लेख गरिन्।
स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा सुशासन र समन्वयको अभावले दोहोरो खर्च, गुणस्तरमा ह्रास र नीतिगत असंगति बढेको गुनासो लामो समयदेखि उठ्दै आएको छ । सांसद बास्कोटाले प्रधानमन्त्री समक्ष यी विषय उठाएर सरकारलाई तत्काल कदम चाल्न आग्रह गरेकी छन् ।