सामान्यतः स्वस्थ रहनुलाई नै आरोग्य भनेर बुझिन्छ। तर आरोग्य भनेको केवल रोग नहुनु (निरोगी हुनु) मात्र नभई शरीर, मन, भावना, आत्मा र वातावरणसँग सन्तुलित हुँदै सुखी र सशक्त जीवन बाँच्ने समग्र अवस्था हो। यो शरीरका साथै मानसिक स्पष्टता, भावनात्मक सन्तुलन र आध्यात्मिक शान्तिको संयोजन हो। प्राकृतिक जीवनशैली अपनाएर शारीरिक, मानसिक र आत्मिक रूपमा स्वस्थ रहनु नै वास्तविक आरोग्य हो। शारीरिक, मानसिक, भावनात्मक र आध्यात्मिक स्वास्थ्यमा सन्तुलन कायम राख्न सकियो भने मात्र आरोग्यता हासिल गर्न सकिन्छ।
आरोग्यका प्रमुख आयामहरू निम्नानुसार रहेका छन्:
१. शारीरिक आरोग्यता:
नियमित योग, व्यायाम, सन्तुलित आहार र पर्याप्त निद्राले शरीर रोगमुक्त र ऊर्जावान् हुन्छ। नियमित व्यायाम र योगध्यानको माध्यमबाट शरीरको तौल ठिक राख्ने, मुटुरोग लगायत अन्य नसर्ने रोगको जोखिम कम गर्ने, हृदयघात घटाउने, पाचन प्रणालीलाई सन्तुलित गर्ने तथा अनिद्रा, तनाव, डिप्रेसन र चिन्ता जस्ता समस्या हटाउँदै रोग प्रतिरोधक क्षमताको विकास गर्दछ। व्यायामले शरीरमा लचिलोपन विकास गर्नुका साथै शरीरलाई स्वस्थ, फुर्तिलो र बलियो बनाउन सहयोग गर्दछ। नियमित योगध्यानले शारीरिक, मानसिकसँगै भावनात्मक र आध्यात्मिक लाभ पनि प्रदान गर्दछ। व्यायाम, प्राणायाम, आसन र ध्यानको माध्यमबाट शारीरिक स्वास्थ्य, मानसिक शान्ति र आत्मिक सुख प्राप्त गर्न सकिन्छ। हामीले नियमित व्यायाम गरेनौं वा शरीरलाई चलाएनौं भने एक दिन शरीर थन्काउनुपर्ने अवस्था आउन सक्छ। त्यसैले हामीले शारीरिक व्यायामलाई आफ्नो जीवनशैलीको एक महत्त्वपूर्ण हिस्सा बनाउनुपर्दछ।
शारीरिक आरोग्यको अर्को महत्त्वपूर्ण पक्ष आहार हो। सामान्यतया भोजनलाई आहार भनिन्छ, तर आयुर्वेदिक दृष्टिकोणले मुख र जिब्रोको सहयोगले गरिने भोजन मात्र आहार नभई शरीरका इन्द्रियहरू जस्तै— आँखाले हेर्ने दृश्य, कानले सुन्ने आवाज, छालाले लिने स्पर्श, जिब्रोले लिने स्वाद र नाकले लिने सुगन्ध नै आहार हुन्। हामीले यी ५ वटा इन्द्रियको अधिकतम प्रयोग गरेर सन्तुलित भोजन गर्यौं भने यसले शारीरिक आरोग्यतामा वृद्धि गर्दछ। यसका साथै शारीरिक आरोग्यताका लागि पर्याप्त निद्रा पनि आवश्यक हुन्छ। सधैँ एउटै र ठिक समयमा सुत्ने, पर्याप्त सुत्ने र ठिक समयमा उठ्ने बानीको विकास गर्न जरुरी छ।
२. मानसिक आरोग्यता:
मानसिक स्वास्थ्य वा आरोग्यता भन्नाले कुनै पनि व्यक्तिको त्यस्तो अवस्थालाई जनाउँछ, जसमा व्यक्तिले आफ्नो क्षमतालाई पहिचान गर्न, जीवनका सामान्य तनावको सामना गर्न साथै व्यवस्थापन गर्न, उत्पादनशील एवं प्रभावकारी तरिकाले काम गर्न र परिवार तथा समुदायमा योगदान दिन सक्षम हुन्छ। व्यक्तिको मनका भावना, विचार वा भोगाइहरूमा आउने विचलनले गर्दा व्यवहारमा जुन गडबडी देखिन्छ, त्यसलाई मानसिक स्वास्थ्य समस्या भनिन्छ। मानसिक स्वास्थ्य समस्याले व्यक्तिको मस्तिष्कमा प्रभाव पार्दछ, जसको कारण भावना, सोचाइ र व्यवहारमा परिवर्तन आउँछ। यस्तो समस्या जुनसुकै लिङ्ग तथा उमेर समूहलाई पनि हुन सक्छ।
नियमित व्यायाम, सन्तुलित आहार, पर्याप्त निद्रा, साथीभाइ, परिवार र समाजबीच नियमित अन्तर्क्रिया, नियमित कामबाट विश्राम, प्रकृतिसँगको सामिप्य, नियमित योगध्यान र तनाव व्यवस्थापनका विधि प्रयोग गर्दा मानसिक आरोग्यतामा सुधार गर्न सकिन्छ। नियमित योगध्यानले मनलाई स्थिर राख्न, एकाग्र र वर्तमानमा रहन मद्दत गर्दछ। यसले मनमा सकारात्मक सोचको विकास गर्न, सजगता बढाउन, ध्यान केन्द्रित गर्न सक्ने क्षमता वृद्धि गर्न, सङ्कल्पशक्ति र लक्ष्यमा केन्द्रित हुने क्षमता बढाउन, खुसीका हर्मोनहरू सक्रिय पार्न, समस्या समाधान र निर्णय लिने क्षमता बढाउन तथा इच्छाशक्ति, प्रसन्नता र आत्मबल बढाउन मद्दत गर्दछ।
३. भावनात्मक आरोग्यता:
हामी शरीर र मनसँगै भावनात्मक हिसाबले पनि स्वस्थ हुनुपर्दछ। आफ्ना भावना, विचार र व्यवहारलाई बुझ्ने, व्यवस्थापन गर्ने र स्वस्थ रूपमा व्यक्त गर्ने क्षमतालाई भावनात्मक आरोग्यता भनिन्छ। यसले जीवनका उतारचढाव, चुनौती र तनावसँग जुध्न, सबैसँग सकारात्मक सम्बन्धको विकास गर्न, भावनात्मक परिपक्वता हासिल गर्न र सम्मान तथा सहकार्यमा सुधार ल्याउन मद्दत गर्दछ।
प्राणायाम सहितको दैनिक योगध्यानको अभ्यास, सकारात्मक सोच र वातावरणको विकास, सन्तुलित जीवनशैली, लोभ, मोह, भय, रिस र चिन्तालाई न्यून गर्दै अहोभाव, धन्यवादभाव र कृतज्ञताभाव बढाएर भावनात्मक आरोग्यता कायम गर्न सकिन्छ।
४. आध्यात्मिक आरोग्यता:
आत्माको स्वभाव आनन्दमा स्थित हुनु वा भित्री आनन्द जागृत हुनु नै आध्यात्मिक वा वास्तविक आरोग्यता हो। योग, ध्यान र सात्विक जीवनशैलीले शारीरिक, मानसिकसँगै आध्यात्मिक स्वास्थ्यमा सुधार ल्याउँछ। यसले शरीर, मन, भावना, चेतना र आत्माको सन्तुलन कायम राख्दछ। आध्यात्मिक स्वास्थ्यले जीवन र जगत्प्रति फराकिलो दृष्टिकोण बनाउन सहयोग गर्दै व्यक्तिमा भएको अहङ्कारलाई नष्ट गरी परम चेतनाको अनुभूति दिलाउँछ।
५. सामाजिक आरोग्यता:
सामाजिक आरोग्यता भनेको व्यक्तिले समाजमा सन्तुलित, सन्तोषजनक र सकारात्मक सम्बन्ध कायम राख्दै स्वस्थ तवरले सामाजिक वातावरणमा बाँच्न सक्ने क्षमता हो। परिवार, साथीभाइ र समुदायका व्यक्तिसँग सुमधुर सम्बन्ध राखेर, अप्ठ्यारो अवस्थामा सहयोग गरेर, स्पष्ट र मर्यादित सञ्चार गरेर तथा सामाजिक गतिविधिमा सक्रिय भएर यसलाई कायम गर्न सकिन्छ। सामाजिक आरोग्यताले समृद्ध समाज निर्माण र मानसिक स्वास्थ्य सुधारमा मद्दत गर्दछ।
६. पेसागत आरोग्यता:
विभिन्न पेसामा संलग्न कर्मचारीको शारीरिक, मानसिक र सामाजिक स्वास्थ्यको अवस्थालाई पेसागत आरोग्यता भनिन्छ। कर्मचारीका पीडा र गुनासा सुनेर समयमै सम्बोधन गर्ने, उपचारमा सहयोग गर्ने र कार्यस्थलमा मानसिक स्वास्थ्यमैत्री वातावरण सिर्जना गर्दा समग्र उत्पादकत्वमा वृद्धि हुन्छ।
७. बौद्धिक आरोग्यता:
बौद्धिक आरोग्यता भन्नाले नयाँ कुराहरू सिक्न, पढ्न र जिज्ञासा राख्न निरन्तर सक्रिय रहनु र कला, लेखन वा नयाँ विचारहरू मार्फत सिर्जनशील रहनु हो। यसले नयाँ ज्ञान र सीपको खोजी गर्ने, मानसिक रूपमा सजग रहने र जीवनका चुनौतीहरूलाई रचनात्मक ढङ्गले समाधान गर्ने क्षमताको विकास गर्छ।
यी माथि उल्लेख गरिएका आयामहरू सन्तुलित भए मात्र व्यक्ति पूर्ण आरोग्य हुन सक्छ। आरोग्य अवधारणालाई संस्थागत गर्न नेपालको पहिलो एकल प्रस्तावमा संयुक्त राष्ट्र सङ्घको महासभाबाट स्वीकृत भए बमोजिम अप्रिल १५, २०२६ मा प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउन लागिएको छ। 'हिमालको चेतना, विश्वको आरोग्य' भन्ने मूल मर्मका साथ सुरु भएको यो अभियान नेपालका लागि मात्र नभई सारा विश्वका लागि उपलब्धि हो।
नेपाल योगभूमि, देवभूमि र तपोभूमि हो। ऋषिमुनि तथा बुद्धपुरुषहरूले ध्यान साधना गरी आत्मज्ञान प्राप्त गरेको यो पवित्र स्थल 'वेलनेस टुरिजम'का लागि विश्वकै उत्कृष्ट गन्तव्य बन्न सक्छ।
नयाँ वर्ष २०८३ को उपलक्ष्यमा प्रधानमन्त्री बालेन्द्र साह (बालेन) ले व्यक्त गर्नुभएको शुभकामना सन्देशमा उल्लेख भए जस्तै, सबै जनतामा आरोग्यता कायम गर्न व्यक्ति स्वयं सचेत हुनुपर्छ। स्वास्थ्य र आरोग्यका विषयलाई विद्यालयदेखि विश्वविद्यालयको पाठ्यक्रममा समावेश गर्ने, आरोग्य केन्द्रहरूको स्तरोन्नति गर्ने र 'एक नगरपालिका, एक मनोसामाजिक परामर्शकर्ता' एवं 'एक आरोग्य शिक्षक'को व्यवस्था गर्ने तर्फ आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमले जोड दिनु आवश्यक छ। यसो भएमा मात्र सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाउनेछ।