काठमाडौं – तिलगंगा आँखा प्रतिष्ठान र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपीकेआईएचएस) बीच आँखा स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानको क्षेत्रमा संस्थागत सहकार्य गर्ने सम्झौता भएको छ। दुवै संस्थाबीच शिक्षण गतिविधि, संयुक्त अनुसन्धान परियोजना, शैक्षिक कार्यक्रम र व्यावसायिक क्षमता अभिवृद्धिमा आदानप्रदान गर्ने उद्देश्यले सोमबार सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो।
सम्झौतापत्रमा तिलगंगा आँखा प्रतिष्ठानका तर्फबाट कार्यकारी निर्देशक प्रा. डा. सन्दुक रुइत र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तर्फबाट उपकुलपति प्रा. डा. विक्रम प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन्। यस सहकार्यले दुवै संस्थाबीचको शैक्षिक, अनुसन्धान तथा सेवा प्रवाहको क्षेत्रलाई थप सुदृढ र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
सम्झौता अनुसार तिलगंगा आँखा प्रतिष्ठानका प्राध्यापकहरूले बीपीकेआईएचएसमा नियमित रूपमा आँखाका विभिन्न उप-विशेषज्ञता सेवा अन्तर्गत ओपिडी तथा शल्यक्रिया सेवा प्रदान गर्नेछन्। यसका साथै बीपीका प्राध्यापक तथा रेसिडेन्ट चिकित्सकहरूका लागि शैक्षिक कक्षा सञ्चालन गरिनेछ भने आरओपी स्क्रिनिङ, उप-विशेषज्ञ शल्यक्रिया तथा लेजरसम्बन्धी उच्चस्तरीय तालिम समेत प्रदान गरिनेछ।
अनुसन्धानको क्षेत्रमा बीपीकेआईएचएसलाई सहकार्यात्मक अनुसन्धान केन्द्रका रूपमा समावेश गरी क्लिनिकल तथा सामुदायिक आँखा स्वास्थ्यका विभिन्न विधामा संयुक्त अनुसन्धान कार्यक्रमहरू सञ्चालन गरिने सम्झौतामा उल्लेख छ। यसैगरी, बीपीका रेसिडेन्टहरूलाई तिलगंगाका विभिन्न उप-विशेषज्ञ क्लिनिकहरूमा 'क्लिनिकल पोस्टिङ'को व्यवस्था मिलाइनेछ भने तिलगंगाका प्राध्यापकहरूले बीपीकेआईएचएस परिसरमा नियमित रूपमा चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन गर्नेछन्।
पूर्वी क्षेत्रका अन्य आँखा अस्पतालहरूलाई समेत सक्रिय सहभागी गराई सञ्चालन गरिने यस्ता कार्यक्रमले त्यस क्षेत्रको स्वास्थ्य सेवाको गुणस्तर बढाउने विश्वास गरिएको छ। यसबाहेक दुवै संस्थाको समन्वयमा देशका विभिन्न स्थानमा आँखा जाँच तथा शल्यक्रिया शिविरहरू समेत आयोजना गरिनेछ।