काठमाडौं– डाक्टरको अनुमति (प्रेस्किप्सन) बिना बेच्न नपाइने औषधि लागू औषधको रुपमा किनबेच गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा लागू औषध नियन्त्रण व्यूरो, शाखा कार्यालय पोखराबाट खटिएको टोलीले नियन्त्रित औषधिसहित दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा पोखरा–७ मा सुभेच्छा फार्मेसी पसल सञ्चालन गर्ने ४० वर्षीया सुशीला पराजुली र उक्त औषधि किन्ने पोखरा–६ शान्तिपाटन बस्ने २० वर्षीय राजकुमार परियार छन्।
किनबेच भएको नियन्त्रित औषधि ट्रमाडोल आइपी २ हजार ५ सय क्याम्सुल र एप्काडोल पी १ हजार ट्याब्लेट बरामद भएको छ। उनीहरु दुवैलाई कारबाहीका लागि औषधि व्यवस्था विभाग बिजुलीबजार पठाइएको प्रहरीले जनाएको छ।