विश्व स्वास्थ्य संगठन भन्छ– विश्वमै अंग प्रत्यारोपणका लागि मागअनुसार अंगको अभाव छ। मिर्गौला सबैभन्दा धेरै प्रत्यारोपण गरिने अंग हो। फोक्सो, कलेजो, मुटु, आन्द्रा आदि अंग पनि प्रत्यारोपण गरिन्छ। अंग प्रत्यारोपण ब्रेन डेथ भएका वा मृत व्यक्तिबाट गरिन्छ। अहिले लाइभ डोनर प्रत्यारोपण पनि हुन्छ।
अंगको अभावमा जर्मनीमै प्रत्यारोपणको लागि ६ वर्षसम्म कुर्नुपर्ने अवस्था रहेको विभिन्न अध्ययनले देखाएका छन्। अमेरिकी संस्था अर्गनडोनर डट गभका अनुसार हरेक १० मिनेटमा एक जना मानिस प्रत्यारोपणको वेटिङ लिस्टमा थपिन्छन्। त्यसैगरी एक जनामा तीन जनामात्र अंग दान दिन इच्छुक हुन्छन्। यसरी दाताका लागि कुर्दाकुर्दै धेरैले ज्यान गुमाउने गरेका छन्।
हालै यस्तै घटना एउटा घटना बाहिर आएको छ। विगत ८ वर्षदेखि फोक्सोसम्बन्धी दुर्लभ रोगबाट पीडित प्रेमब्रिकसरकी १० वर्षीया बालिका बेल कारनले दाता कुर्दाकुर्दै ज्यान गुमाएकी छन्। उनको अप्रिल ५ गते मृत्यु भएको हो। उनी इन्टरटिसियल लङ डिजिज (आइएलडी) रोगबाट पीडित थिइन्। उनलाई छिनछिनमा अक्सिजन सप्लाई गर्नुपथ्र्यो भने ह्विलचेयरको आवश्यकता पथ्र्यो।
बेललाई धेरै मात्रामा क्यालोरी चाहिन्थ्यो तर औषधोपचारका कारण उनको भोक घटाउँथ्यो, जसले गर्दा उनको तौल पनि कम हुन पुगेको थियो।
बेललाई दुई वर्षकै उमेरमा यो रोग देखापरेको थियो। उनी विगत १८ महिनादेखि ग्रेट अरमन्ड स्ट्रिट हस्पिटलमा ट्रान्सप्लान्ट वेटिङ लिस्टमा थिइन्। सामान्यतया फोक्सो नरम हुन्छ। उनलाई श्वास फेर्न समस्या हुन्थ्यो। उनको उमेरका अरु बच्चाभन्दा बेललाई तीन गुणा छिटोछिटो श्वास फेर्नुपर्थ्यो। दुखाइ भई फोक्सो नरम हुनुको साटो कडा अवस्थामा पुग्यो, जसले गर्दा उनको मृत्यु हुन पुग्यो।
बेलले अनवरत रुपमा आठ वर्ष रोगसँग लडिन् र अन्ततः हारिन्। उनी दुवैतिर फोक्सो प्रत्यारोपणका लागि वेटिङ लिस्टमा थिइन् तर दुर्भाग्यवश दाता पाउनुभन्दा पहिले मृत्युको सिकार हुन पुगिन्।

उनकी आमा स्टेलाका अनुसार बेलको अवस्था जति नै नाजुक र जटिल भए पनि अनले आफ्नो स्वास्थ्यको बारेमा कहिल्यै पनि गुनासो गरिनन् र सधैं सकारात्मक रहिन्।
बेललाई इन्फेक्सन भएपछि अक्टुबर र अप्रिलको बीचमा स्कुल पठाइएन। उनी घरमै लेखपढ गर्थिन्। स्कुल जान चाहन्थिन् र केही सिक्न चाहन्थिन्। साथीहरुले पनि बेललाई धेरै सहयोग गर्थे। उनको समस्या बुझ्थे। उनको अक्सिजन लेभल चेक गर्दिन्थे र बाहिर जानको लागि ढोका खोल्न सहयोग गर्थे। कसैले उनको खिसी गर्देनथे। बेलकी आमा भन्छिन्, ‘आमाको नाताले उनीहरुले देखाएको व्यवहारप्रति म आभारी छु।
बेललाई ‘मास्टरसेफ’ नामक टिभी शो एकदमै मनपथ्र्यो। उनले लन्डनमा रहेको यस शोको स्टुडियोमा गएर प्रस्तोता ग्रेग वालेन्स र जोन टोरोडलाई भेट्ने मौका पाएकी थिइन्।
उनलाई साहसी बालिकाको रुपमा हेरिन्थ्यो। हाभरफोर्डवेस्टको वुल्फ क्यासलनेर बस्ने यी स्कुले बालिकाले थुप्रै साहसिक अवार्ड पाएकी थिइन्। उनलाई वेल्स टिभी च्यानल एसपोसीले ‘वेल्स ब्रेभेस्ट योंगस्टर’ बाट अभिनन्दित गरेको थियो। आफ्ना अप्ठ्यारा दिनमा पनि साहस देखाएबापत उनलाई सो च्यानलले पुरस्कृत गरेको थियो।
उनकी आमा स्टेला र बुवाले सामाजिक सञ्जालमार्फत ‘बेल्स स्टोरी’ नामको पेज बनाएका थिए, जसले जनचेतना जगाउनुका साथै अंगदान दिने दाताको खोजी गथ्र्यो। पेजमा मृत्युको पुष्टि गर्दै लेखिएको छ, ‘साहसी बेल दुखद रुपमा युद्ध हार्दै अप्रिल ५ मा शान्तिपूर्वक बिदा भइन्। तपाईंहरुले देखाउनुभएको माया र साथ सहयोगका लागि धन्यवाद व्यक्त गर्न चाहन्छौं।
पछिल्लो वर्ष उनको परिवारले ‘गो फन्ड मी’ नामक पेज खोले, जसले बेलको उपचारका साथै उनीजस्तै बिरामीको सेवाका लागि पैसा उठाउन तथा च्यारिटीको लागि सहयोग गथ्र्यो।
अप्रिल १ का दिन स्टेलाले फेसबुक पेजमार्फत बेलको स्वास्थ्य स्थिति सुधारोन्मुख भएको बताएकी थिइन् तर त्यसको चार दिनपछि बेलको मृत्यु भयो।

उनकी आमा भन्छिन्, ‘बेल हरेक दिन यो आसामा उठ्थिन् कि, अंगदान दिने दाता भेटियोस्। तर यो पनि उनलाई थाहा थियो कि, उनले फोक्सो पाइन् भने अर्को कुनै परिवारका सदस्यले आफ्नो बच्चा गुमाएको हुनेछन्।
यही समस्यासँग गुज्रिरहेका कुनैकुनै बालबालिका बाँच्न सक्छन् तर बेलको फोक्सो एकदम बिग्रिसकेको थियो।
स्टेलाका अनुसार बेलको फोक्सोको प्वाल निकै सानो थियो, जसले गर्दा उनले बच्चाको फोक्सोमात्र पाउन सक्थिन्। उनको त्यो सानो ठाउँमा ठूला मानिसको फोक्सो फिट हुने कुनै उपाय नै थिएन।
दृढ इच्छाशक्ति भएकी बालिका अन्ततः बाँचिनन्। बेलको कथाले प्रभावित भएका हजारौं अपरिचित या परिचित सबैले उनको त्यो पोस्टमा श्रद्धाञ्जली व्यक्त गरेका छन्।
एक जनाले भनेका छन्, ‘सुन्दर, बलियो, साहसी र प्रेरणादायी किशोरीले सबैको मन जितेकी थिइन्। कत्ति कष्टका साथ उनी आफ्नो रोगसँग लडिरहेकी थिइन्।’
अर्काले थपेका छन्, ‘यो सुन्दा एकदमै मन दुखेको छ। यो पूरै यात्रामा तिमी सधैं साहसी, निडर र प्रेरणादायी थियौ। बेल तिमी साहसी लडाकु थियौ, हामीमाझ सधैं जीवित रहिरहने छौ।'
एजेन्सीको सहयोगमा