काठमाडौं– अर्थमन्त्री डा युवराज खतिवडाले सविधानले स्वास्थ्यलाई मौलिक हकका रुपमा सुनिश्चित गरेकोले त्यसको कार्यान्वयन गर्न स्वास्थ्यसम्बन्धी ऐन बनाइएको बताएका छन्।
नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको ४५औँ वार्षिकोत्सवका अवसरमा मंगलबार मन्त्री खतिवडाले सेवा दिनलाई स्वास्थ्य संस्था बलियो हुनुपर्नेमा जोड दिँदै अस्पतालले आफूलाई भौतिक संरचना र उपकरणले युक्त बनाउँदै लगेको भन्दै प्रशंसा गरे। नेपाल आँखा अस्पताल आँखा उपचारकाे जननी भएको समेत बताए।
उनले भने, ‘सरकारले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुर्याउन सामुदायिक, निजी, गैरसरकारी क्षेत्र पनि परिचालित हुनुपर्छ भनी प्राथमिकता दिएको छ।’
स्वास्थ्य सेवामा पहुँच बढाउन वित्तीय क्षमतामा अवरोध नहोस् भनेर स्वास्थ्य बिमा कार्यक्रम लागू गरिएको बताउँदै अर्थमन्त्री खतिवडाले भने, ‘बिमाले नसमेट्ने केही विषय पनि छन्, त्यस विषयमा छलफल गर्नुपर्छ, आगामी आर्थिक वर्षदेखि मुलुकभरि नै स्वास्थ्य बिमा लागू हुनेछ।’
नेपाल आँखा अस्पतालले ४५ जना मोतियाविन्दु भएका व्यक्तिको निःशुल्क शल्यक्रिया गरेको छ। अस्पतालको ४५औँं वार्षिकोत्सवको अवसरमा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिएको हो।
अर्थमन्त्री खतिवडाले वार्षिकोत्सवको औपचारिक उद्घाटन ४५ जना शल्यक्रिया गरिएका बिरामीको आँखाको पट्टी खोलि गरेका थिए।
नेपाल आँखा अस्पतालका संस्थापक वरिष्ठ नेत्ररोग विशेषज्ञ डा रामप्रसाद पोखरेलले पछिल्ला दिनहरुमा अन्धोपन हुने कारणमध्ये मधुमेह रोग पनि एक भएकोले यसतर्फ काम ध्यान दिनुपर्ने बताए।
उनले भने, ‘अहिले अन्धोपनको पहिलो कारण मोतियाविन्दु नै छ तर मधुमेहका कारणले आँखाको ज्योति गुम्ने क्रम बढ्दो अवस्था रहेकाले रेटिना सर्जनको उत्पादनमा अत्याधुनिक उपकरणको पनि व्यवस्था गर्नेतर्फ सोच्नुपर्छ।’
उनले बच्चालाई नियमित आँखा जाँच गराउने र काठमाडौं उपत्यकालाई अन्धोपनमुक्त बनाउन सबै साझा पहल हुनुपर्नेमा जोड दिए।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमनबहादुर घलेले भौतिक संरचनाको विकास, नयाँ प्रविधियुक्त आधुनिक उपकरणको व्यवस्थापन, मानन संसाधनको कारण आँखा उपचारको क्षेत्रमा उदाहरणीय अस्पताल बन्न सफल भएको बताए।
अस्पतालले वर्षभरि एक लाखभन्दा बढीलाई बहिरङ्ग सेवा र पाँच हजार बढी शल्यक्रिया गर्दै आएको छ।