काठमाडौं— सरकारले स्वास्थ्य संस्था नै नभएका देशभरका १ हजार २ सय वडामा नयाँ आधारभूत स्वास्थ्य संस्था निर्माण गर्ने भएको छ। यसका लागि सरकारले वडाको पहिचान गरेर नाम निकालिसकेको छ।
सरकारले स्थानीय तहसँगको लागत सहभागितामा २ वर्षभित्र संस्था निमार्ण गर्ने लक्ष्य लिएको छ।
स्वास्थ्य संस्था नभएका वडामध्ये पहिलो चरणमा १२ सय वडामा र दोस्रो चरणअन्तर्गत १३ सय १० वटा संस्था निर्माण हुने भएको हो।
नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा विकास देवकोटाले पहिलो वर्षका लागि चार अर्ब बजेट विनियोजन गरेको जानकारी दिए।
उनले जनतालाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सरकारले प्रत्येक वडामा स्वास्थ्य संस्थामार्फत सेवा उपलब्ध गराउने लक्ष्य राखेको बताए।
पहिलो चरणमा स्थानीय तहको माग, जनसंख्या तथा मानव विकास सूचकांकका आधारमा भवन निर्माणका लागि स्थान छनोट गरिएको छ। मन्त्रालयले जनसंख्याका आधारमा टाइप १ र टाइप २ गरी दुई थरीका भवन निर्माण गर्ने कार्ययोजना बनाएको छ।
छनोट भएका सम्बन्धित वडाको जनसंख्या ७ हजार वा सोभन्दा बढी र न्यूनतम १६ आना जग्गा उपलब्ध भएमा ६३ लाख ४६ हजार ३ सय ६० रुपैयाँसम्मको प्रसूति सेवासहितको एक तले आधारभूत स्वास्थ्य केन्द्र निर्माण हुनेछ। जसलाई मन्त्रालयले टाइप १ अन्र्तगत राखेको छ।
त्यसैगरी, ७ हजारभन्दा कम जनसंख्या भएको र न्यूनतम ९ आना जग्गा उपलब्ध हुने वडा वडामा अनुमानित ३८ लाख ८६ हजार ९ सय २० रुपैयाँ लागतमा एक तले आधारभूत स्वास्थ्य केन्द्र निर्माण हुनेछ। जसलाई टाइप २ मा राखिएको छ। टाइप १ मा प्रसूति सेवा पनि हुनेछ भने टाइप २ भवनमा प्रसूति सेवा समावेश गरिएको छैन।
नेपालमा हाल ६ हजार ७ सय ४३ वडाहरु छन्। तीमध्ये अहिले पनि कतिपय वडामा स्वास्थ्य संस्था नभएका वडाहरुमा निर्माण गर्ने भनिएको भवन तोकिएकै समयमा निर्माण गर्न भने चुनौती हुने देखिन्छ।
आधारभूत स्वास्थ्य संस्था बनाइने वडाको नामावली पिडिएफमा हेरौं