काठमाडौं- कर्मचारी समायोजनका क्रममा सरकारले अन्याय गरेको भन्दै सरकारी डाक्टरले आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन्। सरकारी चिकित्सक संघ (गोदान) नेपालको अगुवाईमा शुक्रबारदेखि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारिएको हो।
समायोजनका क्रममा डाक्टरको वृत्तिविकास रोकेको, प्रदेश र स्थानीय तहमा गएका डाक्टरमाथि आउने बाटो छेकेको, निजामति र स्वास्थ्य सेवाको समायोजनमा विभेद गरिएको लगायतका विषयमा असहमति जनाउँदै गोदानले आन्दोलन सुरु गरेको हो। गोदानको आन्दोलनका कारण दैनिक हज्जारौं बिरामी अलपत्र परेका छन्।
सेवा बहिस्कारसँगै गोदानले अस्पताल अगाडि धर्नाका दिँदै आएको छ। गोदानको अगुवाइमा भएको आन्दोलनका कार्यक्रममा डाक्टरले ‘चिकित्सकलाई गाउँगाउँ पठाऔं तर बधुवा मजदुर नबनाऔं,’ ‘पेलेर-ठेलेर नपठाऊ, हाम्रो वृतिविकासलाई नदबाऊ’, ‘चिकित्सकको मनोबल नगिराऊ, समग्र स्वास्थ्य क्षेत्रलाई बचाऊ’, ‘चिकित्सकलाई गाउँ गाउँ पठाऊ तर केन्द्र सरकार मातहतमा चलाऊ’ लगायतका नारा लगाइरहेका छन्।
गोदानले समायोजनको विरोधमा सेवा ठप्प पारेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कारबाहीको चेतावनी दिएको छ।
मन्त्रालयले हालसम्म गोदानसँग वार्ताको कुनै पहल गरेको छैन।
सरकारले पेलेर जान लागेको भन्दै सरकारी डाक्टरले थप कडा आन्दोलनका कार्यक्रम अगाडि बढाउने चेतावनी दिएका छन्। डाक्टरले सामुहिक राजिनामा दिने भन्दै हस्ताक्षर संकलन गरिरहेका छन्।
सरकारी सेवामा हाल १४ सय डाक्टर कार्यरत छन्।