काठमाडौं– हेल्थ असिस्टेन्ट संघ नेपाल (हान) ले अध्यक्ष दाताराम अधिकारीलाई पदबाट बर्खास्त गरेको छ। संघको आज बसेको बैठकले संघलाई सहयोग नगरेको भन्दै अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो।
पद, जेष्ठता, शैक्षिक योग्यता र खाइपाई आएको सेवा–सुविधा गुम्नेगरी कर्मचारी समायोजनको सूची प्रकाशित हुँदा पनि निर्णायक भूमिका निर्वाह नगरी संस्थालाई आफ्नो व्याक्तिगत स्वार्थमा उपयोग गर्ने थलो बनाएको आरोप संघले अध्यक्ष अधिकारीमाथि लगाएको छ।
यस्तै उच्च शिक्षा अध्ययनको बाटो बन्द भई सेवा प्रवेश गर्न रोकिने अवस्था हुँदा समेत मौन बसेको आरोप पनि अधिकारीलाई संघले लगाएको छ।
बर्खास्त गर्नुका कारण
– संस्थालाई गैरराजनीतिक भने तापनि चरम राजनीति गरेको।
– पटकपटक किर्ते साधारणसभा गरी फर्जी विल भरपाई पेस गरी आर्थिक हिनामिना गरको।
– स्थानीय तहरुमा संयोजक तोक्दा आफू विदेश (एमपिएच) पढ्न जाने सर्तमा ट्रेड युनियनसँग बार्गेनिङ गरी गोप्य सम्झौता गरेको।
– हान केन्द्रीय समितिको अगुवाइमा २०७५ पुस २४ गतेदेखि २०७५ माघ ४ गतेसम्म भएको आन्दोलनलाई आफ्नो स्वार्थमा हुनेगरी केन्द्रीय कमिटीको निर्णयविना नै सम्पूर्ण हेअहरुको विरुद्धमा सम्झौता गरेको।
– कर्मचारी समायोजनमा नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा उल्टै विरोधीहरुसँग घुसपैठ गरी आम कर्मचारी साथीहरुको पेसागत मर्यादामा आँच पु¥याएको।
– आम सदस्यहरुबाट संकलन गरिएको रकम मुद्दाको नाममा निर्णय र छलफलविना लाखौं हिनामिना गरेको।
– संस्थाको नाम व्याक्तिगत सरुवा बढुवा तथा उच्च शिक्षामा प्रयोग गरेको।
– संस्थाको विधानसम्वत् प्रत्येक दुईदुई वर्षमा गर्नुपर्ने साधारणसभा तथा सम्मेलन पाँच वर्ष पुगिसक्दा समेत अझै गर्ने पक्षमा नरहेको।
– केन्द्रीय समिति बैठकका निर्णयहरु आफू अनुकूल मात्र सार्वजनिक गरेको।
