काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार सार्वजनिक गरेको समायोजन सूचीमा त्रुटि नै त्रुटि देखिएको छ।
मन्त्रालयले मंगलबार ४, ५ ६, र ७औं तहको स्वास्थ्य सेवाका करिब २६ हजार कर्मचारीको समायोजन सूची सार्वजनिक गरेको थियो।
उक्त समायोजन सूचीमा पाँच प्रतिशतभन्दा बढीको समायोजन त्रुटिपूर्ण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रशासन प्रमुख जनार्दन गुरागाईंले बताए। उनले भने, ‘समायोजन सूचीमा केही त्रुटि भएको छ, सामान्य र स्वास्थ्य मन्त्रालयबीच बसेर सच्याउने विषयमा छलफल भइरहेको छ।’
प्रशासन प्रमुख गुरागाईंले सफ्टवेयरमा काम भइरहेकोले केही समस्या आएको र सच्याउने काम सुरु भएको बताए।
स्वास्थ्य मन्त्रालयले समायोजनका सम्बन्धमा उजुरी गर्नुपर्ने भएमा स्वास्थ्य मन्त्रालयमा जानकारी गराई सामान्य प्रशासन मन्त्रालयमा उजुरी गर्न भनेको छ। उजुरीका लागि सामान्य प्रशासन मन्त्रालयसँग एक हप्ता थप समय माग गर्न लागिएको पनि गुरागाईंले जानकारी दिए।
समायोजनमा भएको त्रुटि
समायोजन भएका कर्मचारीहरुको तहगत त्रुटि भएको छ। अर्थात् ४ तहको कर्मचारीलाई ५औं तह, ५औंलाई ७ तह भनी समायोजन भएर आएको छ।
कर्णाली प्रदेशका व्यक्ति प्रदेश १ मा समायोजन भएको छ। समायोजन गर्दा स्थायी ठेगानाका आधारमा सोही प्रदेशमा समायोजन हुने भनिएको थियो।
समायोजन फारम भर्दा नरोजेको स्थानमा कर्मचारीको सरुवा भएको छ।