बुटवल– बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)मा कार्यरत स्वास्थ्यकर्मीले आकस्मिक बाहेकका सेवा बन्द गरिदिएका छन्।
अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि अस्पताल प्रशासनले आफन्तसँग गरेको सहमतिमा असन्तुष्टि व्यक्त गर्दै त्यहाँ काम गर्ने स्वास्थ्यकर्मीहरूले बुधबार दिउँसो १ बजेदेखि आम्दा अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरिदिएका हुन्।
बुटवल सुख्खानगरका नारायण दर्लामीले १० महिने बालक (ओम दर्लामी)को उपचारका लागि सोमबार साँझ सवा ७ बजे आम्दामा भर्ना गराएका थिए। उपचारका क्रममा एक घण्टापछि ८ बजे बालकको मृत्यु भएको थियो।
स्वास्थ्यकर्मीको लापरबाहीका कारण आफ्नो बच्चाको ज्यान गएको भन्दै आफन्तले अस्पतालमा आन्दोलन गरेका थिए।
उनीहरूको आन्दोलनपछि अस्पताल प्रशासन र आफन्तबीचको वार्ताबाट दर्लामीका दुई छोरीलाई १० कक्षासम्म अस्पतालले निःशुल्क पढाइदिने, बुवा, आमा र दुई छोरीको उपचार अस्पतालले निशुल्क गर्ने, छोरीहरूको योग्यता पुगेपछि अस्पतालले रोजगारीका लागि प्राथमिकता दिने सहमति भएको थियो।
सोही सहमतिमा असन्तुष्टि व्यक्त गर्दै अस्पतालमा कार्यरत नर्स लगायतका स्वास्थ्यकर्मीहरूले आन्दोलन सुरु गरेका हुन्। ‘स्वास्थ्यकर्मीको लापरबाही देखाएर गरिएको सहमतिमा अस्पताल प्रशासनप्रति हाम्रो आपत्ति छ’, अस्पतालमा कार्यरत नर्स ज्ञानु केसीले भनिन्, ‘यत्रो सहमति हुँदा एकपटक हामीलाई सोध्नुपर्छ कि पर्दैन?’
बिरामीको मृत्युपछि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी नर्सलाई मृतककी आमाले हातपात गरेको उनीहरूको आरोप छ।
बिरामी बचाउनका लागि उपचार गर्ने भएकाले आफूहरूको प्रयास सधैं बचाउनका लागि हुने भन्दै अस्पतालकी मेट्रोन सुशीला विश्वकर्माले बिरामीका आफन्तले स्वास्थ्यकर्मीमाथि लगाएका सबै आरोप निराधार भएको दाबी गरिन्।
उनीहरूले सिकिस्त बिरामी आउँदा अब छुने अवस्था नरहेकाले काम गर्ने वातावरण बनाउन तथा स्वास्थ्यकर्मीमाथि आरोपित गरेर गरिएको सहमति आफूहरूलाई स्वीकार्य नभएकाले उक्त सहमति खारेज गर्नुपर्ने माग माग राखेका छन्।
आफूहरूले उठान गरेका माग पूरा नहुँदासम्म काममा नफर्किने उनीहरूको अडान छ।